अन्तर्राष्ट्रिय बौद्ध समुदायको आकर्षण बन्दै लुम्बिनी, पर्यटकको चहलपहल बढ्दै

२८ कात्तिक, काठमाडौं: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो दुई सातादेखि सञ्चालन भएका अन्तर्राष्ट्रिय बौद्ध प्रार्थना, धार्मिक अनुष्ठान तथा धर्मशिक्षासम्बन्धी कार्यक्रमले धार्मिक पर्यटनमा नयाँ उत्साह थपेको छ । विभिन्न देशबाट आएका भिक्षु, भिक्षुणी, बौद्ध धर्मगुरु, अध्येता तथा श्रद्धालुहरूको उपस्थितिले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक वातावरण थप जीवन्त बनेको छ ।

लुम्बिनीमा पछिल्लो समय विश्वशान्ति मोन्लम प्रार्थना, तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठजस्ता महत्वपूर्ण कार्यक्रम आयोजना भएका छन् । यस्ता कार्यक्रमले बुद्धको शान्ति, करुणा, मैत्री र अहिंसाको सन्देशलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउनुका साथै लुम्बिनीलाई विश्व बौद्ध समुदायको साझा आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएका छन् ।

नोभेम्बर १ देखि ७ सम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठमा विभिन्न बौद्ध परम्परा र सम्प्रदायका सहभागीहरूले बुद्धका उपदेश वाचन गरेका थिए । कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी तथा अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन पाठ गरिएको थियो । बहुभाषिक पाठले बौद्ध दर्शनको विविधता, साझा आध्यात्मिक मान्यता र अन्तर्राष्ट्रिय बौद्ध समुदायबीचको एकतालाई उजागर गरेको थियो ।

त्यसैगरी, लुम्बिनीमा आयोजित विश्वशान्ति मोन्लम प्रार्थना तथा तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सवले पनि धार्मिक गतिविधिलाई थप सक्रिय बनाएका छन् । विशेषगरी विभिन्न देशका भिक्षु तथा भिक्षुणीहरूको सहभागितामा सम्पन्न यस्ता कार्यक्रमले विश्वशान्ति, मानव कल्याण र समस्त प्राणीको सुखको कामना गर्दै बुद्धका शिक्षालाई व्यवहारमा उतार्न प्रेरित गरेका छन् । यस्ता धार्मिक गतिविधिले बौद्ध धर्मको अध्ययन, ध्यान तथा साधनामा रुचि राख्ने अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनीसँग जोड्ने अवसरसमेत प्रदान गरेका छन् ।

लगातार भइरहेका अन्तर्राष्ट्रिय कार्यक्रमका कारण लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । होटल, रेस्टुरेन्ट, यातायात, स्थानीय व्यापार तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा समेत सकारात्मक प्रभाव परेको पर्यटन व्यवसायीहरूको भनाइ छ । धार्मिक कार्यक्रमलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्न सके लुम्बिनीको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यसका लागि धार्मिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र पर्यटकमैत्री सेवाको विस्तारमा समेत ध्यान दिन आवश्यक देखिन्छ ।

Share

Related posts

Leave a Comment