२३ कार्तिक,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक पाठ कार्यक्रम आयोजना हुने भएपछि तयारी तीव्र पारिएको छ । आगामी नोभेम्बर १४ देखि १६ गतेसम्म सञ्चालन हुने तीनदिने धार्मिक कार्यक्रममा सहभागी हुने भिक्षु, लामा, आनी तथा बौद्ध धर्मावलम्बीको स्वागतका लागि लुम्बिनी क्षेत्र सजाउन थालिएको छ । कार्यक्रम लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिनेछ ।
लुम्बिनी विकास कोषका अनुसार कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन मायादेवी मन्दिर परिसर तथा आसपासका क्षेत्रमा आवश्यक तयारी भइरहेको छ । कार्यक्रमका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाउने काम भइरहेको छ । कार्यक्रममा सहभागी हुने भिक्षुहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गर्नुका साथै दर्शन तथा धार्मिक गतिविधिमा सहभागी हुन आउने बौद्ध धर्मावलम्बीको आवागमन सहज बनाइने कोषले जनाएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घ, अमेरिकी बौद्ध सङ्घ, थाई बुद्ध विहार र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । कोषका सदस्यसचिव सरोज भट्टराईका अनुसार कार्यक्रममा नेपालसहित १८ देशका करिब ७०० भिक्षु, लामा, आनी तथा बौद्ध धर्मावलम्बी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रम सञ्चालनका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
त्रिपिटक बौद्ध धर्मको प्रमुख धार्मिक ग्रन्थसङ्ग्रह हो । यसमा भगवान् गौतम बुद्धका उपदेश, भिक्षु तथा भिक्षुणीका लागि निर्धारित अनुशासन र बौद्ध दर्शनसम्बन्धी महत्त्वपूर्ण शिक्षाहरू सङ्गृहीत छन् । त्रिपिटकलाई मुख्यतः विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक गरी तीन भागमा विभाजन गरिएको छ । यी ग्रन्थहरूले बुद्धका शिक्षालाई संरक्षण, अध्ययन र पुस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना हुने यस कार्यक्रमले अन्तर्राष्ट्रिय बौद्ध समुदायबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्नुका साथै बुद्धका शान्ति, करुणा, अहिंसा र मैत्रीका सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, विभिन्न देशका बौद्ध धर्मावलम्बीको सहभागिताले लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन् ।

