जापानको कोटोकु–इन मन्दिरमा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना

२२ कार्तिक, काठमाडौं: जापानको कामाकुरा सहरस्थित प्रसिद्ध विशाल बुद्ध प्रतिमा रहेको कोटोकु–इन मन्दिर परिसरमा आज नोभेम्बर ८ मा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान महोत्सव आयोजना हुँदैछ । बौद्ध सम्पदा, कला, संस्कृति र विभिन्न देशका परम्परालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । जापानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मन्दिर परिसरमा हुने यस कार्यक्रमले अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा विभिन्न देशका सांस्कृतिक प्रस्तुति, परम्परागत कला, भेषभूषा, संगीत तथा सांस्कृतिक पहिचान झल्काउने गतिविधि समावेश गरिएका छन् । सहभागी देशका प्रतिनिधिहरूले आ–आफ्नो मौलिक संस्कृति र परम्परा प्रस्तुत गर्दै एकअर्काको सामाजिक तथा सांस्कृतिक विशेषताबारे जानकारी आदानप्रदान गर्ने अवसर पाउनेछन् ।

कार्यक्रम स्थानीय समय अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कामाकुरा क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय आदानप्रदान तथा सहयोगसम्बन्धी संस्थाहरूको सहभागिता रहनेछ । विभिन्न देशका हस्तकलाका सामग्री, परम्परागत परिकार तथा मिठाइको प्रदर्शनी र बिक्रीका साथै सहभागी संस्थाहरूले आफ्ना गतिविधिबारे जानकारी दिने कार्यक्रमसमेत राखिएको छ । जापानी परम्परागत संगीत, नृत्य, विदेशी सांगीतिक प्रस्तुति तथा अन्य सांस्कृतिक कार्यक्रमले महोत्सवलाई आकर्षक बनाउनेछन् ।

कामाकुराको कोटोकु–इन मन्दिर जापानको प्रसिद्ध ऐतिहासिक बौद्ध सम्पदामध्ये एक हो । यहाँ रहेको विशाल कांस्य बुद्ध प्रतिमा कामाकुरा दाइबुत्सुका नामले विश्वभर परिचित छ । तेह्रौँ शताब्दीमा निर्माण गरिएको यस प्रतिमाले जापानको बौद्ध इतिहास, कला र वास्तुकलाको महत्वपूर्ण प्रतिनिधित्व गर्दछ । यस्तो ऐतिहासिक धार्मिक स्थलमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना हुनुले बौद्ध सम्पदालाई सांस्कृतिक पर्यटन, अन्तर्राष्ट्रिय सहकार्य र विश्व समुदायबीचको आपसी समझदारीसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ

महोत्सवले विभिन्न देशका नागरिक, पर्यटक तथा स्थानीय समुदायबीच आपसी परिचय, मित्रता र सांस्कृतिक सम्मान अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । साथै, धार्मिक तथा ऐतिहासिक सम्पदालाई केवल दर्शन र अवलोकनको विषयमा सीमित नराखी अन्तर्राष्ट्रिय संवाद, सहअस्तित्व र सांस्कृतिक एकताको माध्यमका रूपमा विकास गर्न सकिने सन्देशसमेत यस कार्यक्रमले दिने देखिन्छ ।

Share

Related posts

Leave a Comment