पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

२२ कात्तिक,भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकको आवागमन बढ्न थालेको छ । धार्मिक पर्यटन प्रवर्द्धन तथा धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले स्तुपा निर्माण गरिएपछि पाँचधारेको पर्यटकीय आकर्षण थप बढेको हो ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाँचधारेलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित स्थानीय सरकारले धार्मिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पाँचधारेलाई समग्र धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ‘पाँच धाम’ निर्माणको अवधारणा अघि सारेर काम भइरहेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिएका छन् ।

स्तुपा निर्माणसँगै पर्यटकको सहज आवागमनका लागि सिँढीसहितको पदमार्गसमेत निर्माण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु २७ लाख बजेटबाट स्तुपा निर्माण गरिएको हो । स्तुपा निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

काठमाडौंस्थित बौद्धनाथ स्तुपाको शैली र आकारलाई आधार मानेर निर्माण गरिएको उक्त स्तुपा २६ फिट लम्बाइ, २६ फिट चौडाइ र २१ फिट उचाइको रहेको छ । बौद्ध धर्मावलम्बीलाई लक्षित गरी निर्माण गरिएको स्तुपाले पाँचधारेको धार्मिक महत्व थप बढाएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।

“पाँचधारे प्राकृतिक, धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “पर्यटकीय क्षेत्रको विकाससँगै बौद्ध धर्मावलम्बीलाई लक्षित गरेर स्तुपा निर्माण गरेपछि यहाँको आकर्षण बढेको छ । यस क्षेत्रलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिएका छौँ ।”

भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पाँचधारेमा स्तुपा निर्माणसँगै घुम्न आउने पर्यटकको सङ्ख्या बढेको स्थानीयवासी विनोदकुमार राईले जानकारी दिएका छन् । पाँचधारे क्षेत्रमा प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका विभिन्न स्थल रहेकाले यसको विकासमा भइरहेको कामले स्थानीयवासीमा उत्साह थपेको उनको भनाइ छ ।

“पाँचधारे क्षेत्रमा धेरै सम्भावनायुक्त पर्यटकीयस्थल छन् । पर्यटकलाई लक्षित गरेर स्थानीय सरकारको पहलमा भइरहेको पूर्वाधार विकासका कामले हामीमा उत्साह थपिएको छ”, राईले भने। धार्मिक तथा पर्यटनको सम्भावना बोकेको पाँचधारेमा आवश्यक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्न सके यो क्षेत्र भोजपुरको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीयवासीको भनाइ छ ।

Share

Related posts

Leave a Comment