१९ कात्तिक,रूपन्देही: लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ ।
सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा र सदस्यसचिवमा इन्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरेसँगै कोषमा नयाँ जिम्मेवारी र अपेक्षा थपिएका छन् । नयाँ नेतृत्वसामु वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना अघि बढाउने र पुरातात्विक सम्पदाको संरक्षण गर्ने चुनौती छन् तर लुम्बिनीको विकासलाई भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नराखी बुद्धका उपदेश, दर्शन र शान्तिको सन्देशसँग जोड्नु अहिलेको आवश्यकता देखिएको छ ।
सन् १९७८ मा जापानी वास्तुविद् केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयन सुरु भएको झण्डै ४८ वर्ष बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । गुरुयोजनाअनुसार १७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विकास कार्य लामो समयदेखि अधुरै छ । यसबीच लुम्बिनीमा विभिन्न भौतिक संरचना निर्माण भए पनि गुरुयोजनाको मूल मर्मअनुसार लुम्बिनीलाई अध्यात्मिक, शान्तिपूर्ण र आनन्ददायी गन्तव्यका रूपमा विकास गर्ने कामले अपेक्षित गति लिन सकेको छैन ।
लुम्बिनीको विकास भन्नासाथ भवन, सडक, पार्क, सम्मेलन केन्द्र र अन्य भौतिक संरचना निर्माणलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको सरोकारवालाको धारणा छ । लुम्बिनीमा आउने पर्यटक केही समय घुम्ने, तस्बिर खिच्ने र दृश्यावलोकन गरेर फर्किने अवस्था अन्त्य गर्दै उनीहरूलाई केही दिन बस्न, बुद्ध दर्शन बुझ्न, ध्यान गर्न र आध्यात्मिक आनन्द अनुभूति गर्नसक्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रध्यापन गर्नुहुने सुरज घिमिरे लुम्बिनी संसारको ध्यान आकर्षित भएको महत्वपूर्ण आध्यात्मिक क्षेत्र भएकाले नयाँ नेतृत्वले यसको विशिष्टता बुझेर काम गर्नुपर्ने बताउछन् । उनका अनुसार लुम्बिनीलाई भौतिक संरचनाको विकासमा मात्रै सीमित राख्नु हुँदैन । बुद्धले दिएका उपदेश, शान्ति, करुणा, मैत्री र मानव कल्याणका सन्देशलाई विकासको आधार बनाउनुपर्छ ।
लुम्बिनी आध्यात्मिक रूपमा विश्वकै महत्वपूर्ण क्षेत्र भएकाले यसले संसारभरिका मानिसलाई शान्तिको सन्देशसहित आकर्षित गरिरहेको घिमिरेको भनाइ छ । लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको मात्रै तीर्थस्थल नभई संसारभरिका मानिसले शान्ति, ध्यान र आध्यात्मिक आनन्द प्राप्त गर्न सक्ने अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक उमेशचन्द्र रिजाल लुम्बिनीलाई अन्तरराष्ट्रियस्तरमा नेपालको महत्वपूर्ण पहिचान र ‘ब्रान्ड’का रूपमा विकास गर्नुपर्ने बताउछन्। उनका अनुसार लुम्बिनीलाई संसारभरिका मानिसले शान्ति र आध्यात्मिक अनुभूति प्राप्त गर्न सक्ने साझा स्थलका रूपमा विकास गर्नुपर्छ ।
लुम्बिनीको महत्त्व धार्मिक आस्थामा मात्रै सीमित नरहेको उल्लेख गर्दै रिजालले यसको विश्वव्यापी पहिचान, आध्यात्मिक महत्व र सांस्कृतिक सम्पदालाई एकीकृत रूपमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । लुम्बिनीको विकासमा सरकार, विकास कोष, स्थानीय समुदाय, विश्वविद्यालय, धार्मिक संस्था र अन्तरराष्ट्रिय समुदाय सबैको साझा दायित्व रहेको उनको भनाइ छ ।
लुम्बिनीको अर्को महत्वपूर्ण पक्ष पुरातात्विक सम्पदाको संरक्षण हो । पुरातात्विक विषयका विद्यार्थी शशी पन्थी लुम्बिनी धार्मिक तथा आध्यात्मिक क्षेत्रका रूपमा मात्र नभई विश्वकै महत्वपूर्ण पुरातात्विक क्षेत्रका रूपमा पनि परिचित रहेको बताए । त्यसैले यहाँको विकास गर्दा पुरातात्विक महत्व, ऐतिहासिक प्रमाण र मौलिक संरचनाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।
लुम्बिनीको विकास गुरुयोजनाको अधुरो काम पूरा गर्ने विषयमा मात्रै सीमित हुनुहुँदैन । समय, प्रविधि, पर्यटनको स्वरूप र विश्वव्यापी आवश्यकतामा आएको परिवर्तनलाई ध्यानमा राखेर गुरुयोजनाको पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । पुरानो गुरुयोजनाको मूल मर्म र ऐतिहासिक महत्वलाई सुरक्षित राख्दै अहिलेको समयानुकूल लुम्बिनीको समग्र विकासको नयाँ अवधारणा तयार गर्नुपर्ने सरोकारवालाको जोड छ ।
लुम्बिनीको विकासलाई बुद्धकालीन सभ्यतासँग जोड्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ । बुद्धकालीन रोहिणी सभ्यता, रोहिणी नदी, शाक्य–कोलीय सम्बन्ध, देवदह, तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा र रामग्राम स्तूपलगायत क्षेत्रलाई एकीकृत बौद्ध सांस्कृतिक तथा पुरातात्विक पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ । विशेषगरी रोहिणी नदीसँग जोडिएको बुद्धकालीन सभ्यताको ऐतिहासिक महत्वलाई उजागर गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ ।
बुद्धले आफ्नो जीवनकालमा दिएका शान्ति, सहअस्तित्व, करुणा र संवादका सन्देशलाई लुम्बिनीको पर्यटनसँग जोड्न सके यस क्षेत्रको महत्व अझ व्यापक बन्नसक्छ । ध्यान, विपश्यना, बौद्ध अध्ययन, सांस्कृतिक अन्तरक्रिया, शान्ति पदयात्रा र स्थानीय जीवनशैलीसँग पर्यटकलाई जोड्ने कार्यक्रमले लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सहयोग पुग्नसक्छ । यसबाट स्थानीय समुदायको आर्थिक तथा सामाजिक सहभागिता पनि बढाउन सकिन्छ ।
लुम्बिनी विकास कोषको जिम्मेवारी भौतिक संरचना निर्माणमा मात्रै सीमित छैन । बुद्धजन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, कुदान, निग्लिहवा, सगरहवा, गोटिहवा, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राम स्तूपलगायत बौद्ध सम्पदाको संरक्षण तथा विकास कोषको दायित्वभित्र पर्दछ । यी क्षेत्रलाई एउटै बौद्ध सांस्कृतिक सभ्यताको ऐतिहासिक सम्बन्धमा जोडेर विकास गर्नसके लुम्बिनी आउने पर्यटकलाई लामो समयसम्म यस क्षेत्रमा राख्न सकिने सम्भावना छ ।
गुरुयोजना कार्यान्वयनका क्रममा निर्माण भएका केही संरचनाको गुणस्तर र उपयोगितामाथि पनि प्रश्न उठ्दै आएका छन् । अन्तरराष्ट्रिय सम्मेलन केन्द्र तथा ध्यान केन्द्र निर्माणमा ठूलो रकम खर्च भए पनि हस्तान्तरण हुनुअघि नै चुहावटको समस्या देखिएको विषय सार्वजनिक भएको थियो । त्यस्तै, सम्पदा क्षेत्रको जग्गा उपयोग र संरक्षणसम्बन्धी विवादले पनि कोषको कार्यशैलीमाथि प्रश्न उठाएको छ ।
कोषको आर्थिक अवस्था पनि नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण छ । सार्वजनिक विवरणअनुसार कोषले वार्षिक करिब रु १७ देखि १८ करोड आम्दानी गर्ने गरेको छ तर कर्मचारीको तलबभत्तामै रु १२ देखि १३ करोड खर्च हुने र अन्य प्रशासनिक तथा सञ्चालन खर्चसमेत जोड्दा आम्दानीले नियमित खर्च धान्न कठिन हुने अवस्था सँधै देखिने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । यस्तो अवस्थामा ठूला विकास आयोजना सञ्चालन गर्न दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्नु आवश्यक छ ।
रुपन्देहीको तिलोत्तमा निवासी इन्जिनियर पाण्डेय संरचनागत इन्जिनियरिङ र सहरी पूर्वाधार विकासको अनुभवसहित कोषमा आएका छन् । उनले काठमाडौँ महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसकेका छन् ।
लुम्बिनी विकास कोषको नेतृत्वका लागि प्राविधिक अनुभवसँगै यसको धार्मिक, सांस्कृतिक, आध्यात्मिक र अन्तरराष्ट्रिय महत्वलाई समग्र रूपमा बुझेर काम गर्नु उत्तिकै आवश्यक रहेको विज्ञहरूको धारणा छ ।
अब नयाँ नेतृत्वले लुम्बिनीलाई कङ्क्रिटका संरचनाले भरिएको पर्यटकीयस्थल बनाउने कि बुद्धका उपदेश र शान्तिको अनुभूति गर्न सकिने विश्वव्यापी आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने भन्ने विषय महत्वपूर्ण बनेको छ । गुरुयोजनाका बाँकी काम पूरा गर्नु, पुरातात्विक सम्पदाको वैज्ञानिक संरक्षण गर्नु, रोहिणी सभ्यतासहित बुद्धकालीन क्षेत्रको प्रवर्धन गर्नु र स्थानीय समुदायलाई विकासको साझेदार बनाउनु नयाँ नेतृत्वका प्राथमिकता हुनुपर्ने देखिन्छ ।
लुम्बिनी बुद्धको जन्मस्थल भएकाले यसको महत्व कुनै एउटा धर्म वा समुदायमा मात्रै सीमित छैन । यो मानवता, शान्ति, करुणा र सहअस्तित्वको विश्वव्यापी सन्देश दिने भूमि हो । त्यसैले लुम्बिनीमा आउने प्रत्येक मानिसले यहाँबाट शान्ति, आनन्द र सकारात्मक ऊर्जा लिएर फर्किने वातावरण निर्माण गर्न सक्नुपर्छ । अधुरो गुरुयोजना पूरा गर्ने कामसँगै लुम्बिनीलाई विश्वकै शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने दीर्घकालीन सोच कार्यान्वयन गर्नसके मात्रै नयाँ नेतृत्वको जिम्मेवारी सार्थक बन्नेछ ।


