नेपाल काग्यू सङ्घ र कर्मपा सेवा समाज नेपालको संयुक्त आयोजनामा भोटेकोशी नदीको बाढीबाट प्रभावित त्रिशूली बजार क्षेत्रका पीडित परिवारलाई राहत वितरण गरिएको छ।
१७औँ ग्याल्वाङ कर्मापाको करुणा, मैत्रीभाव र मानवीय सेवाको प्रेरणाबाट आयोजित कार्यक्रममा नेपालभरका विभिन्न काग्यू गोन्पाका प्रतिनिधित्व गर्दै वज्राचार्य, खेन्पो, लोपोन, आचार्य तथा धर्मानुयायीहरूको प्रतिनिधिमण्डल सहभागी भएको थियो।

कार्यक्रममा बाढीपीडित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्री वितरण गरिएको थियो। साथै, बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको चिरशान्ति र सद्गतिको कामना गर्दै धार्मिक पूजा–पाठ तथा सामूहिक प्रार्थना गरिएको आयोजकले जनाएको छ।
प्रार्थनाका क्रममा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको पुनःस्थापना, सुख, शान्ति र सुरक्षित जीवनका लागि त्रिरत्नसमक्ष कामना गरिएको थियो।

बौद्ध धर्मको करुणा, मैत्री र परोपकारको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले राहत तथा सेवाकार्य सञ्चालन गरिएको आयोजक पक्षले जनाएको छ। दुःख र विपत्तिमा परेका समुदायलाई सहयोग गर्नु धार्मिक आस्था र मानवीय दायित्वको अभिन्न अङ्ग भएको सन्देशसमेत कार्यक्रमले दिएको छ।
२०८३ साल असोज २२ र २३ गते सम्पन्न उक्त कार्यक्रममार्फत बाढीबाट प्रभावित परिवारलाई मानवीय सहयोग प्रदान गर्दै उनीहरूको दुःखमा साथ दिने प्रयास गरिएको थियो।



