काठमाडौं। नेपालमा हालै आएको आकस्मिक बाढीबाट प्रभावित समुदाय तथा जोखिममा परेका पशुको उद्धार र राहतका लागि आलोक पिस फाउन्डेसन (Aloka Peace Foundation) नेपाल आउने भएको छ।
असोज २१ देखि २८ गतेसम्म (७–१४ अक्टोबर २०२६) सञ्चालन हुने राहत अभियानमा आलोक पिस फाउन्डेसनले हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसन (Hương Từ Loving Kindness Foundation) तथा नेपालमा पशु कल्याणका क्षेत्रमा कार्यरत स्नेहाज केयर (Sneha’s Care) सँग सहकार्य गर्ने जनाएको छ।
नेपाल आउने राहत प्रतिनिधिमण्डलको नेतृत्व वाक फर पिस (Walk for Peace) अभियानका नेतृत्वकर्ता तथा हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसनका संस्थापक भिक्षु पञ्ञाकार तुए न्हान (Bhikkhu Paññākāra Tuệ Nhân) ले गर्नुहुनेछ।
अभियानअन्तर्गत हुओङ तु लभिङ काइन्डनेस फाउन्डेसनले बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई प्रत्यक्ष राहत उपलब्ध गराउनेछ भने आलोक पिस फाउन्डेसन र स्नेहाज केयरले प्रभावित क्षेत्रमा जोखिममा परेका पशुको उद्धार, संरक्षण तथा आवश्यक हेरचाहमा विशेष रूपमा सहकार्य गर्नेछन्।
यसैबीच, वाक फर पिस यात्रामा भिक्षुहरूसँगै हिँडेर धेरैको ध्यान आकर्षित गरेको ‘आलोक’ नामक कुकुर स्वयं पनि यस राहत अभियानका क्रममा नेपाल ल्याइने हो कि होइन भन्ने विषय भने घोषणामा स्पष्ट गरिएको छैन। त्यसैले आलोक पनि प्रतिनिधिमण्डलसँग नेपाल आउने हो कि होइन भन्ने कुरा अहिले चासोको विषय बनेको छ।
आलोक पिस फाउन्डेसनले यो अभियानलाई वाक फर पिसबाट प्रवाहित शान्ति, मैत्री र करुणाको भावनालाई प्रत्यक्ष सेवामा विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ। फाउन्डेसनका अनुसार मानिस मात्र नभई विपद्बाट प्रभावित पशुको उद्धार, सुरक्षा र हेरचाहलाई समेत समान महत्त्व दिइनेछ।
फाउन्डेसनले विपद्बाट प्रभावित सबै मानिस तथा पशुले आवश्यक सहयोग, सुरक्षा र शान्ति प्राप्त गर्न सकून् भन्ने कामनासमेत व्यक्त गरेको छ।


