बौद्ध सम्पदा र आधुनिक विकास जोड्दै गेलेफु, ‘प्रोजेक्ट १०८’ अन्तर्गत एकै दिन १०८ स्तूप सम्पन्न गर्ने तयारी

काठमाडौं, १४ असोज । बौद्ध आध्यात्मिक सम्पदा, प्रकृतिसँगको सामञ्जस्य र आर्थिक समृद्धिलाई जोड्ने उद्देश्यसहित भुटानले गेलेफु माइन्डफुलनेस सिटीको विकास अघि बढाइरहेको छ। यसै योजनाको आध्यात्मिक पहल ‘प्रोजेक्ट १०८’ अन्तर्गत आगामी १ नोभेम्बर २०२६ मा १०८ वटा बोधि स्तूप एकसाथ सम्पन्न गर्ने तयारी भइरहेको छ।

भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुकको परिकल्पनामा अघि बढाइएको गेलेफु माइन्डफुलनेस सिटी भारतको असम राज्यसँग सीमा जोडिएको दक्षिणी भुटानमा अवस्थित छ। आधिकारिक वेबसाइटअनुसार यसको क्षेत्रफल ४,०४६ वर्गकिलोमिटरभन्दा बढी छ, जुन भुटानको कुल भूभागको करिब १० प्रतिशत हो। फेब्रुअरी २०२४ मा राजकीय अधिकारपत्रमार्फत स्थापना गरिएको यस विशेष प्रशासनिक क्षेत्रलाई व्यापक स्वायत्तता, कार्यकारी तथा विधायिकी अधिकार र स्वतन्त्र न्यायिक संरचना प्रदान गरिएको छ।

‘एक देश, दुई प्रणाली’को अवधारणाअन्तर्गत विकसित भइरहेको यस क्षेत्रले भुटानको प्रशासनिक सुधार र आर्थिक प्रगतिमा योगदान पु¥याउने लक्ष्य राखेको छ। यसको मूल सोचमा आधुनिक प्रविधि, उद्यमशीलता र लगानीसँगै मानिसको आन्तरिक सुख, सांस्कृतिक पहिचान र वातावरणीय सन्तुलनलाई स्थान दिइएको छ। अनुकूल व्यावसायिक वातावरण निर्माण गर्दै जिम्मेवार तथा दिगो व्यवसायलाई आकर्षित गर्ने उद्देश्य पनि आयोजनाले लिएको छ।

प्रकृतिसँगको सहअस्तित्व सहरको डिजाइनको प्रमुख आधार हो। रोयल मानस राष्ट्रिय निकुञ्ज र फिब्सु वन्यजन्तु आरक्षबीच अवस्थित यस क्षेत्रलाई प्राकृतिक परिवेशसँग मिल्ने गरी विकास गर्ने योजना छ। ऊर्जा आपूर्तिमा जलविद्युत्, सौर्य तथा भू–तापीय ऊर्जाजस्ता नवीकरणीय स्रोतलाई प्राथमिकता दिइएको छ। जलविद्युत् विकासमार्फत सहरको आवश्यकता पूरा गर्नुका साथै छिमेकी भारतलाई समेत स्वच्छ ऊर्जा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

गेलेफुको विकासका लागि आठ प्राथमिक क्षेत्र निर्धारण गरिएका छन्—अध्यात्म; स्वास्थ्य तथा समग्र आरोग्य; शिक्षा तथा ज्ञान; कृषि प्रविधि तथा वन क्षेत्र; हरित ऊर्जा तथा प्रविधि; वित्त तथा डिजिटल सम्पत्ति; हवाई यातायात तथा मालसामान ढुवानी व्यवस्थापन; र पर्यटन। यी क्षेत्रमार्फत भुटानी परम्परागत मूल्यमान्यतालाई आधुनिक आर्थिक अवसरसँग जोड्ने योजना छ।

यही व्यापक अवधारणाभित्र प्रोजेक्ट १०८ ले सहरको आध्यात्मिक स्वरूपलाई मूर्त रूप दिनेछ। गेलेफुस्थित माओ छ्यु नदीकिनारमा निर्माण हुने प्रत्येक ‘जाङ्छुब छोर्तेन’ अर्थात् बोधि स्तूप १५ मिटर अग्लो हुनेछ। स्तूपहरूलाई केन्द्रदेखि केन्द्रसम्म १०८ मिटरको दूरीमा राखेर करिब ११.७ किलोमिटर लामो शृङ्खला बनाइनेछ। ती स्तूपभित्र पवित्र धातु, धार्मिक ग्रन्थ तथा मन्त्रलगायत सामग्री राखिनेछन्।

आयोजनामा करिब ४० हजार स्वयंसेवक सहभागी हुने अपेक्षा गरिएको छ। भुटानको ‘झाब्तो’ अर्थात् स्वेच्छिक सामुदायिक श्रमदानको परम्परामा आधारित यस प्रयासका लागि स्थल तयारी, जग निर्माण, सामग्री व्यवस्थापन र स्वयंसेवक प्रशिक्षण अग्रिम रूपमा भइरहेको छ। यी तयारीपछि १ नोभेम्बरमा सबै स्तूपको संरचना एकसाथ सम्पन्न गर्ने लक्ष्य छ।

कार्यक्रममा सहभागितासम्बन्धी सार्वजनिक सूचनामा ग्याल्वाङ कर्मापा ओग्येन ठिन्ले दोर्जे र सक्या गोङ्मा ठिचेन रिन्पोछे लगायत धेरै रिन्पोछे गुरूहरूको नाम उल्लेख छ।

गेलेफुलाई बौद्ध आध्यात्मिक यात्राको अन्तर्राष्ट्रिय केन्द्र बनाउने उद्देश्य पनि राखिएको छ। आधिकारिक अवधारणाअनुसार यहाँ धर्मोपदेश, साधना र सांस्कृतिक आदानप्रदानका अवसर विस्तार गर्दै क्षेत्रका अन्य बौद्ध तीर्थस्थलसँग सम्बन्ध जोडिनेछ। सहरको विकास चरणबद्ध रूपमा अघि बढ्नेछ, जसको प्रारम्भिक चरणमा आधारभूत पूर्वाधार र अत्यावश्यक सेवाको विस्तारलाई प्राथमिकता दिइनेछ।

प्रोजेक्ट १०८ मा व्यक्ति, परिवार, समुदाय तथा संस्थाले आर्थिक सहयोग वा स्वयंसेवामार्फत सहभागिता जनाउन सक्ने व्यवस्था छ। आयोजकले १ नोभेम्बरको कार्यक्रम विश्वभरबाट हेर्न मिल्ने गरी प्रत्यक्ष प्रसारण गर्ने योजना पनि सार्वजनिक गरेको छ।

Share

Related posts

Leave a Comment