राहत कोषमा डोल्पो समाजको २० लाख सहयोग, दिगो पर्यटन विकासको प्रस्ताव पेस

काठमाडौं । डोल्पो समाजले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावितहरूको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सोही अवसरमा समाजले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माथिल्लो डोल्पाको दिगो पर्यटन विकाससम्बन्धी प्रस्तावसमेत पेस गरेको छ ।

समाजका अनुसार संस्थापक तथा प्रमुख सल्लाहकार न्यिमा रिन्पोछे र अध्यक्ष दावा डाडुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलमार्फत उक्त सहयोग हस्तान्तरण गरेको हो । समाजले राहत सहयोगमा साथ दिनुहुने शाक्य रिन्पोछेलगायत सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ ।

माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे–फोक्सुन्डो र छार्का ताङसोङ गाउँपालिकाका समुदायहरूको प्रतिनिधित्व गर्दै पेस गरिएको प्रस्तावमा पर्यटन पूर्वाधार विकास, स्थानीय रोजगारी, सांस्कृतिक तथा वातावरणीय संरक्षण र पर्यटन आम्दानीको न्यायोचित बाँडफाँटलाई प्राथमिकता दिइएको छ ।

प्रस्तावमा डोल्पाको हिमाली भूगोल, प्राचीन बौद्ध सम्पदा, मौलिक परम्परा, ऐतिहासिक गाउँहरू र जैविक विविधतालाई पर्यटन विकासका महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरिएको छ । यद्यपि सडक, विद्युत्, सञ्चार, स्वास्थ्य, उद्धार तथा आवास सुविधाको अभाव, महँगो र कठिन यात्रा तथा पर्याप्त प्रचारप्रसार नहुँदा पर्यटनको सम्भावना सदुपयोग हुन नसकेको समाजको भनाइ छ ।

पर्यटकका लागि आवश्यक खाद्यान्न, पाल, उपकरण र कामदारसमेत प्रायः डोल्पाबाहिरबाट ल्याइने हुँदा स्थानीय समुदायले सीमित आर्थिक लाभ मात्र पाइरहेको प्रस्तावमा औँल्याइएको छ । पर्यटकीय क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनका लागि प्रभावकारी प्रणाली आवश्यक रहेको पनि उल्लेख छ ।

समाजले आधारभूत पूर्वाधार विस्तारसँगै सुरक्षित तथा व्यवस्थित पदमार्ग निर्माण, स्थानीय होमस्टे, लज, गाइड र पर्यटन व्यवसायको प्रवद्र्धन गर्न माग गरेको छ । डोल्पाका युवालाई पर्यटनसम्बन्धी शिक्षा, तालिम र रोजगारीका अवसर उपलब्ध गराउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गन्तव्यको प्रचारप्रसार बढाउनुपर्नेमा पनि जोड दिइएको छ ।

प्रस्तावको अर्को प्रमुख माग माथिल्लो डोल्पा भ्रमण गर्ने विदेशी पर्यटकबाट सङ्घीय सरकारले सङ्कलन गर्ने पर्यटन अनुमति शुल्कको उचित हिस्सा सम्बन्धित तीन गाउँपालिकालाई उपलब्ध गराउनु हो । त्यसका लागि पारदर्शी राजस्व बाँडफाँट प्रणाली स्थापना गरी उक्त रकम पर्यटन पूर्वाधार, वातावरण संरक्षण र सामुदायिक विकासमा पुनः लगानी गर्न समाजले आग्रह गरेको छ ।

अनियन्त्रित पर्यटन विस्तारभन्दा प्रकृति, संस्कृति र परम्पराको संरक्षण गर्दै स्थानीय जनताको जीवनस्तर सुधार गर्ने दिगो पर्यटन आफ्नो प्राथमिकता रहेको समाजले स्पष्ट पारेको छ । “पर्यटनले डोल्पोमा पर्यटकहरू मात्र ल्याउनु हुँदैन; यसले डोल्पाका जनताका लागि दिगो अवसरहरू पनि ल्याउनुपर्दछ,” प्रस्तावमा भनिएको छ ।

समाजले प्रस्तावमाथि सकारात्मक विचार गरी आवश्यक कार्य अघि बढाउन मन्त्रालयलाई अनुरोध गर्दै सरकार, स्थानीय तह, समुदाय र सम्बन्धित संस्थाहरूबीच सहकार्य बलियो हुने अपेक्षा व्यक्त गरेको छ ।

Share

Related posts

Leave a Comment