खादा बौद्घ धर्मलम्बीहरुले हरेक जन्मदेखि मृत्यु लगायका संस्कारमा उपयोग गर्ने पवित्र वस्त्र हो । खादा बौद्ध धर्मावलम्वीको जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगायत हरेक पूजाआजा, भेटघाटमा स्वागत, विदाई गर्दा नभई नहुने वस्त्र हो ।
पछिल्लो समय खादा बौद्ध समुदायमा मात्र सिमित छैन । आजभोली हिन्दु, क्रिश्चियन र मुसलमानले समेत खादाको प्रयोग गरेको देखिन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको सट्टामा प्रयोग भएको पाईन्छ ।
हिमाली क्षेत्रमा फूल नपाइने हुँदा फूलको रुपमा खादाको प्रयोग गर्न थालिएको अभिलेख पाइन्छ । फूल बाह्रै महिना र बाह्रैकाल सबैस्थानमा नपाइने भएकाले पनि फूलको विकल्पमा खादाको प्रयोग हुन थालेकोमा सन्देह छैन ।
कुनै समय हिमाल र बौद्ध समुदायमा मात्र सिमित खादा अहिले सबै समुदायमा विस्तारित भइसकेको छ । धार्मिक तथा अन्य विविध कार्यक्रमहरुमा पनि खादाको प्रयोग गरिन थालिएको छ ।
खादाको सुरुवात कसरी भयो ?
हिमाली क्षेत्रमा फूल नभएको र एकदिन साथीको निधन पछि आत्मालाई शान्ति मिलोस् भनि खादा चढाइएको र त्यही संस्कार विस्तारित भएर सबैतिर फैलिएको विश्वास गरिन्छ । सातौ शताव्दीदेखि सुरु भएको यो संस्कार पञ्चरंगी खादाको रुपमा सबैतिर फैलिएको हो ।
खादाको धार्मिक अर्थ
खादा वास्तबमा पुष्पको प्रतिक हो । सामान्यतया सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु लेखिएको हुन्छन् । जस्तो सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका हुन्छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो ।
त्यसैगरी खादामा अष्ट मंगलमको चित्र पनि छापिएको हुन्छ । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।
१. धुक यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा यसको अर्थ शुभ साहीत को प्रतीक हो
३. भुम्बा अर्थात कलश यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हो ।
४. कमल यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शंख यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको आवाज हो ।
६. स्वस्तिक चिन्ह अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. ध्वजा यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने हो
८. धर्मचक्र यसको अर्थ धर्म फैलाउने । भन्ने हो ।
त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्घ धर्म अनुसार निम्न हुन्छन् ।
१. निलो . आकाश
२. पहेँलो . जमीन र माटो
३. रातो . अग्नी
४. सेतो . बादल
५. हरियो . जङ्गल
माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्घ धर्मको झण्डा बनेको हुन्छ । जसको सांकेतिक अर्थ पृथ्वी र आकाश आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र सांकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै जाति र जगतको भलो होस्, सुख र समृद्घी होस् भनेर खादाको आविस्कार भएको हो ।
तर आज केही तत्वहरुवाट यस्को अर्थ नबुझी रोक लगाउने, प्रयोग नगर्ने र विवादमा ल्याउने कार्यहरु पनि भइरहेको छ ।
खेन्पो कमल भण्डारी ।
महासचिव नेपाल बौद्ध महासंघ

