बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा नुवाकोटको ककनीमा थाङ्का लेखन तालिम सुरु भएको छ । ककनीमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आइतवारदेखि एक महिने थाङ्का तालिम आयोजना गरिएको समितिका कार्यकारी निर्देशक होम दोङले जानकारी दिए । धार्मिक पर्यटनको प्रवद्र्धनलाई जोड दिनका लागि ककनीमा तालिमको आयोजना गरिएको कार्यकारी निर्देशक दोङको भनाइ ।
तालिमका प्रशिक्षक मोहन दोङले तालिम अवधिभर थाङ्काको उत्पत्ति, लेखन विधि, शैली र मानव सभ्यताको बिकासक्रमसँग जोडिएको विषयवस्तुसँग केन्द्रित रहने बताए । थाङ्कासँग बौद्ध दर्शनको गहिरो इतिहास जोडिएको उल्लेख गर्दै यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन सके यसले आर्थिक उपार्जनमा पनि मद्दत पुग्ने प्रशिक्षक दोङले बताए । उनले थाङ्का लेखनबाट आर्जित रकम शिक्षामा लगानी गर्दा छोराछोरीको भविष्य उज्यालो बनाउन सहज भएको उदाहरण दिँदै यो सीपले जीविकोपार्जनमा सजिलो बनाउने जिकिर गरे ।
तालिम अवधिभर प्रशिक्षणमा मोहन दोङ, भुवनदास तामाङ, निपुण तामाङ रहने छन् । तालिममा ताप्लेजुङ, सोलुखुम्बु, धादिङ‚ नुवाकोट‚ रामेछाप लगायतका करिब डेढ दर्जनभन्दा बढीको सहभागिता रहेका छन् ।

