१७ वर्षपछि पुरानै अवस्थामा बौद्ध सम्पदाः काँक्रेविहार

काँक्रेविहार कर्णालीको पहिचान हो । अझ भनौं कर्णालीमा प्रवेश गर्दा पर्यटकको पहिलो रोजाइमा पर्छ, काँक्रेविहार । कर्णालीमा आउने जो कोही एकपटक काँक्रेविहार अवलोकन गर्छन् । यसकारण पनि कर्णाली मुख्य पर्यटकीय स्थल बनेको हो । वर्षौँसम्म भग्नावशेषको रूपमा रहेको काँक्रेविहार पुनर्निर्माण थालिएको झण्डै १७ वर्षपछि अन्ततः पुरानै शिखर शैलीमा ठडिएको छ । पुनर्निर्माण भएसँगै काँक्रेविहार घुम्न आउने पर्यटकको संख्या उल्लेखिय बृृद्धि भएको छ ।

सुर्खेतको धुलाम्य सदरमुकाम वीरेन्द्रनगरबाट १० मिनेट दूरीमा एउटा घना जंगल छ– शान्त, धूलोधुवाँबाट अलग । जंगलै जंगलको बाटो हुँदै एउटा डाँडाको टुप्पोमा पुगिन्छ । पुग्नेवित्तिकै भान हुन्छ, हामी कुनै प्राचीन स्थलमा उभिएका छौं । वरिपरि छरिएका भग्नावशेष । फूल, बादल, अरू बुट्टा, र बौद्ध देव–देवताका मूर्तिहरू कुँदिएका ढुंगाहरू । र, बीचमा शिखर शैलीमा बनेको मन्दिर । काँक्रेविहारमै रहेको सूचनापाटीमा जुम्ली राजा अशोक चल्लले सन् १२६८ मा यो मन्दिर बनाएको उल्लेख छ । साढे २१ मिटर उचाइ रहेको काँक्रेविहार मन्दिर विभिन्न किसिमका फुलबुट्टा र देवी–देवताका मूर्तिहरू कुँदिएका ढुङ्गाहरू जोडेर जीर्णोद्धार गरिएको हो । तर, यो विहार कहिले र कसरी भत्कियो भन्ने बारेमा भने अहिलेसम्म वास्तविक तथ्य फेला परेको छैन । मन्दिर पुननिर्मार्णपछि काँक्रेविहार पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ ।

भग्नावशेषबाट उत्खनन् गरिएका ढुङ्गामा बुद्ध, सरस्वती, विष्णुका आकृति कुँदिएको भेटिएपछि काँक्रेविहारलाई हिन्दु र बौद्ध धर्मालम्बीहरूले आस्थाको केन्द्र मान्दै आएका छन् । पहिले दैनिक एक डेढ सय मानिसहरु घुम्न आउने गरेकोमा अहिले उक्त संख्या दोब्बर भन्दा बढी भएको छ ।

काँक्रेविहार वन क्षेत्र १ सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । काँक्रेविहार वन क्षेत्र नेपालकै पहिलो संरक्षित वन पनि हो । यसैलाई व्यवस्थित गरि मिनी चिडियाखाना बनाउने योजना वीरेन्द्रनगरले अघि सारेको छ ।

आधा शताब्दीअघि काँक्रेविहारका अवशेष भेटिंदा त्यो क्षेत्र घना जंगल नै थियो । तर, मध्ययुगमा यहाँ एउटा विकसित सभ्यता थियो भन्ने कुरा काँक्रेविहारको अस्तित्वले देखाउँछ । सभ्यता नै मासिएपछि त्यो बेलाको जस्तो भव्य प्रस्तर संरचना बनाउने सीप रहने कुरै भएन । पुरातत्व विभागले कंक्रिट प्रयोग गरेर निर्माण गरेसँगै मौलिकतामा भने प्रश्न उठेको छ ।

Share

Related posts

Leave a Comment