पशुपति क्षेत्रको राजराजेश्वरीघाटमा बुद्धको उभिएको एउटा सुन्दर मूर्ति छ । सो क्षेत्रमा बुद्धका अन्य प्राचीन मूर्तिहरु पनि प्रसस्त मात्रामा पाइन्छन् । विभिन्न कालमा बनेका ती मूर्तिहरुले त्यति बेलाको इतिहास, संस्कृति, समाज र ज्ञानविज्ञानका कुराहरु व्यक्त गरिरहेका हुन्छन् । त्यहाँ प्राप्त प्रत्येक मूर्तिका आआफ्नै विशेषताहरु छन् र उल्लेखनीय नै मान्नु पर्दछ, शैव मूर्ति हुन् वा वैष्णव मूर्ति, शाक्त मूर्ति हुन् वा बौद्ध मूर्ति । बौद्ध मूर्तिहरुका सम्बन्धमै पनि लामो चर्चा सकिन्छ तर यहाँ उल्लेखित मूर्तिमा नै केन्द्रित हुनाका कारण बुद्धका अन्य मूर्तिहरुमध्येमा पनि यो विशेष उल्लेखनीय हुनु हो ।
मूर्तिको सुन्दर कालिगढी त छँदै छ त्यसमाथि यसको प्राचीनता पनि उल्लेख्य कुरा हो । राजराजेश्वरीघाटमा रहेको यो मूर्तिभन्दा पुरानो मानिएको अर्को चाबहिलको मूर्ति हो तर केही दशकअघि चोरी भैसकेकाले सर्वप्राचीन मूर्ति भनेर यसैलाई मान्नु पर्दछ ।
राजराजेश्वरीघाटमा बीच बाटोमै पूर्व फर्काएर राखिको यो बुद्ध मूर्ति केही वर्षअघिसम्म घुँडाभन्दा मुन्तिर जमिनमा गाडिएको अवस्थामा थियो । यसरी नै खुल्ला रुपमा राखिएको पाइन्थ्यो । त्यति बेला नै पनि यो मूर्ति पूर्ण कदमा रहेको देखिन्थ्यो । तर जमिनमा गाडिएका कारण घुँडाभन्दा मुन्तिर कस्तो देखिन्छ र पादपीठ वा अन्यत्र अभिलेख छ–छैन पनि थाहा थिएन । तसर्थ घुँडा मुन्तिरको कुरा जिज्ञासु वा अध्ययनकर्ताहरुका लागि कौतुहलकै कुरा भएको थियो । देखिने भाग पनि केही भग्न भैसकेको थियो । दाहिने हातको पाखुराभन्दा मुनिको अंग भाँचिएकोले यो कुन मुद्रामा थियो भन्ने कुरा देखिँदैन तर यस प्रकारका बुद्धका अन्य मूर्तिहरु वरद मुद्रामा हुने भएकोले यसको मुद्रा पनि वरद नै हुन्छ भनेर सबैलाई लागेको थियो । टाउको पछाडिको ज्वालावलीको दाहिने भाग पनि केही भग्न भैसकेको छ । हाल सो मूर्तिलाई जमीनबाट उठाएर पूर्ण अवस्थामा हेर्न सकिने गरी राखिएको छ साथै घामपानीबाट बचाउन एक प्रकारको गवाक्षको निर्माण पनि गरिएको छ ।
मूर्तिको अनुहार सौम्य र शान्त छ । बाटुलो अनुहार हिस्सी परेको छ । सुडौल र हृष्टपुष्ट शरीर भएको यो मूर्तिको अंग प्रत्यंग पनि सा¥है मिलेको छ । बायाँ हातले कुमबाट झरेको चीरवको फेर देखाएको छ । चीवरलाई पारदर्शीमा प्रदर्शन गर्न कलाकारले खुबै मेहनत गरेको बुझ्न सकिन्छ । पुष्ट छातीको पोटिला पोटिला दूधका मुन्टाहरुसमेत देखाइनुको एक मात्र कारण चीवन पारदर्शी भनेर देखाउनु हो । यसलाई कलाको उत्कृष्ट नमूना भन्न सकिन्छ ।
यो बुद्धको मूर्ति विक्रमको छैठौं–सातौं शताब्दीभन्दा अघि नै बनेको हुनु पर्ने मानिन्छ । प्रतापादित्य पालले आफ्नो ‘द आर्ट्स आफ नेपाल’ पुस्तकमा यस मूर्तिलाई ईस्वीको एघारौं शताब्दीको भन्ने कुरा उल्लेख गरेका छन् । तर डा. गोविन्द टण्डन पाल महोदयको उक्त कथनसँग सहमत छैनन् । जुन बेला पालले यो मूर्ति देखेका थिए त्यस बेला फोहर र झाडीको बीचमा रहेको थियो र मूर्तिभरि .झ्याउ उम्रिएकाले मूर्तिको राम्रा अध्ययन हुन पाएको थिएन । यही कारण पालले गरेको काल निर्धारणमा डा. टण्डनको विमति भएको हो । यस मूर्तिमा रहेका निहित विशेषताहरुलाई हेर्दा विक्रमको छैटौं–सातौं शताब्दीभन्दा पछि यस्तो भव्य र आकर्षक मूर्ति बन्यो होला भन्न गा¥हो भएको कुरा आफ्नो शोध ग्रन्थमा उल्लेख गर्छन् ।
यस्तो भावभंगिमा चित्रित बुद्ध मूर्ति काठमाडौं उपत्यकामा मात्रै नभएर अन्यत्र पनि खुबै लोकप्रिय रहेको पाइन्छ । यस प्रकारका साना साना मूर्तिहरु पशुपति क्षेत्रमा मात्रै नभएर खास्ति महाचैत्य (बौद्ध) परिसरमा पनि देख्न पाइन्छ भने स्वयम्भू महाचैत्यको पश्चिम कुनामा रहेको अजंगको मूर्ति प्रसिद्ध छ । पहिला स्वयम्भू बहीको उत्तर लङ्को बाहिर पश्चिमाभिमुख राखिएको यो मूर्ति बहीको पुनर्निर्माणको क्रममा स्थानान्तरण गरेर अहिले बहीको पछाडि एक कुनामा पूर्वाभिमुख गरी ठड्याइएको छ । स्वयम्भूको यही मूर्तिको तस्वीरलाई ‘गौतम बुद्ध’ शीर्षकको जीवनी पुस्तकको कभरमा राख्दा एउटा समस्या आयो । यो बुद्धको मूर्ति भएपनि गौतम बुद्धको होइन भन्ने कुराले अनेक प्रश्न उठायो । कसैले दिपङ्कर बुद्ध भने त कसैले अन्य । हेमराज शाक्यले आफ्नो पुस्तक श्रीस्वयम्भू महाचैत्य’मा यस मूर्तिलाई देवावतार बोधिसत्व भनेका छन् तर भविष्यव्याकरण मुद्रामा रहेको बुद्ध पनि भनेका कारण द्विविधा भयो । देवावतार बोधिसत्व भनेका को हुन् भन्ने बेग्लै प्रश्न एकातिर छ भने बोधिसत्वको लागि यस प्रकारको मूर्ति नबनाइने कुरा प्रष्ट छ । उर्णा, उष्णीसलगायत हरेक कुराले मूर्तिविज्ञानअनुसार यो बुद्धकै मूर्ति हो भन्ने जनाउँछ । यस प्रकारका बुद्ध मूर्तिहरु काठमाडौं उपत्यकामा प्रसस्त मात्रामा पाइने र दिपङ्कर बुद्धलाई पनि उत्तिकै मान्ने भएका कारण दिपङ्कर बुद्धकै हुन् भनेको अनुमान गर्न सकिन्छ यद्यपि यस सम्बन्धमा निक्र्यौल गर्न सकिने कुनै शास्त्र उपत्यकाबाट पाइएको छैन । यस प्रकारका मूर्तिहरु नेपालबाहेक अन्यत्र पनि पाइन्छन् । अपवादबाहेक प्रायः ठाउँमा यी मूर्तिहरुलाई गौतम बुद्धकै रुपमा प्रस्तुत गरेको पाइन्छ । खोजीको क्रममा यसलाई महाप्रस्थान मुद्राको बुद्ध मूर्ति भन्न पनि सकिने ज्ञात भयो । तर पनि पुस्तकको दोस्रो संस्करणमा कभर फोटो परिवर्तन गरियो । यही परम्पराको एउटा बुद्ध मूर्ति हो, पशुपति राजराजेश्वरी घाटको यो मूर्ति पनि ।
यो मूर्ति लामो समयदेखि खुल्ला स्थानमा रहेको कारण हुनसक्छ, घामपानी र हावाहुरीले यसलाई प्रत्यक्ष रुपमा असर पारेको छ । ढुंगाका पाप्राहरु उप्किएका छन् । भाँचिएको छ । बीच बाटोमा नै यो रहेकोे र यस वरिपरि अन्य मूर्ति तथा अन्य कुराहरु नभएबाट यसप्रति मान्छेहरुको ध्यान पनि गएको पाइँदैन । अहिले सुरक्षित गर्न खोजिएपनि यो पर्याप्त होइन । थाहा भएअनुसार सो मूर्ति मौलिक रुपमा यही स्थानमा स्थापना गरेको नभएर वागमतिमा पाइएको हो । पछि त्यहाँबाट उठाएर किनारमा राखिएको र यहीँ रहेको बुझिन्छ । यदि यस्तो हो भने यसलाई अब पनि यही ठाउँमा राखिराख्नु पर्छ भन्ने छैन, संग्रहालयमा स्थानान्तरण गरेर सुरक्षा गर्नु पर्दछ ।


