बसन्त महर्जन
बौद्ध धर्मदर्शनमा बज्रयान विस्तृत भूभागमा फैलिएर लामो समयदेखि जीवन्त रहेको भएपनि यसका संस्कार संस्कृति र परम्परा तथा अभ्यासहरु सबै ठाउँ र समाज समान रुपमा रहेको पाइँदैन । अर्को शब्दमा भन्नु पर्दा बज्रयान समाजभित्र पनि विविधता पाइन्छ । काठमाडौं उपत्यकाको बौद्ध नेवार समाजमा प्रचलित ‘पञ्जराँ’ पर्व यही कुराको एउटा ज्वलन्त उदाहरण हो ।
बौद्ध धर्ममा दानको महिमा मुक्तकण्ठले गाउने गरिन्छ । दानलाई पुण्य संचय गर्ने अवसरका रुपमा पनि लिइन्छ । तसर्थ, सर्वसाधारणदेखि धनीमानी तथा राजा महाराजा पनि दानकार्यमा सरिक भइरहेका हुन्छन् । बोधिसत्वहरुले पूरा गर्नुपर्ने पारमितामा एउटा दानपारमिता रहेको छ । दान कहिले र कतिखेर दिने भन्ने निश्चित सीमा हुँदैन । कसलाई र कसरी दिने भन्ने कुराको पनि सीमा हुँदैन । तर आफ्नै कमाई, अर्थात् अन्यको हक लाग्ने कुरा कसै गरी आफूले प्राप्त गरेको र सो कुरा दान दिन नहुने कुरामा जोड दिइन्छ । दान प्राप्त गर्ने व्यक्तिको हानि गर्नसक्ने वा हानि पु¥याउन पे्ररित गर्ने कुराहरु पनि दानमा दिन नहुने कुरा उल्लेख पाइन्छ । जस्तो, चोरी वा ठगी गरी प्राप्त गरेको धनसम्पत्ति वा वस्तु दान दिनु हुँदैन । यस्तो दानले पुण्य संचय हुँदैन । जाँड–रक्सी, विष, हातहतियारजस्ता कुराहरु पनि दान दिनयोग्य वस्तु होइन । मनोरञ्जनका सामग्रीहरु पनि दान दिनका लागि योग्य वस्तु होइन किनभने यसले दान प्राप्त गर्नेको शील भंग गर्ने संभावना रहेको हुन्छ वा भिक्षुभिक्षुणीको सादगी जीवनमा भ्रष्टता ल्याइदिने संभावना हुन्छ ।

दान कार्य जति खेर नि गर्न सकिन्छ तर काठमाडौं उपत्यकाको बज्रयानी समाजमा दान गर्नकै लागि भनेर निश्चित उत्सवकै आयोजना गर्ने चलन छ । सम्यकदान भनेर बाह्रवर्षमा एकपल्ट (काठमाडौं) र इतिल्हने सम्यक भनेर पाँच वर्षमा एक पल्ट (पाटन) भव्य रुपमा गर्ने चलन छ । भक्तपुरमा सम्यकदान पर्व प्रत्येक माघ एक गतेका दिन प्रचलित छ । यसका लागि आवश्यक गुठी नै राखिएको पाइन्छ । व्यक्तिको इच्छाअनुसार आयोजना गर्नसक्ने अभ्यास पनि पाइन्छ । यसदेखि बाहेक ‘पञ्जराँ’ भनेर पनि विभिन्न ठाउँमा प्रत्येक वर्ष मनाउने चलन छ । पञ्जराँ’ को अर्थ के हो भन्ने सन्दर्भमा पाँच वटा विभिन्न खाद्यवस्तुसहित गरिने दानलाई पञ्चदान भनिएको र त्यही पञ्चदान अपभ्रंश भएर पञ्जराँ भएको भन्ने अधिकांशका मान्यता पाइन्छ । शब्दका सम्बन्धमा बेग्लाबेग्लै व्याख्या गरिएको नपाइने पनि होइन ।
पञ्जराँ पर्व काठमाडौं, भक्तपुर, थिमि, बनेपा, साँखुलगायतका बौद्ध नेवार समाजमा श्रावण कृष्ण त्रयोदशीका दिन मनाइन्छ भने पाटनमा श्रावण शुक्ल अष्टमिका दिन मनाउने गरिन्छ । पाटनमा मात्रै अलग्ग किन मनाइएको भन्ने सन्दर्भमा खास कारण खुल्दैन । तर यस पर्वका अवसरमा शाक्य–बज्राचार्यका कुलपुत्रहरु विभिन्न ठाउँमा गएर दान लिन जाने गर्दछन् । यसरी नै दान गर्न मन गरेको घर परिवारले आफ्नै घरमा वा कुनै ठाउँमा दानशाला बनाएर दान लिन आउनेलाई हर्ष चित्तले दान दिने गर्दछन् । कतिपय ठाउँमा दान गर्नकै लागि गुठीको थापना गरिराखेको पनि हुन्छ । चूडाकर्म सम्पन्न भइसकेका शाक्य–बज्राचार्यलाई मात्र दान दिने परम्परा रही आएकोमा आजभोलि चूडाकर्म नै नगरिएका वा महिला पनि दान ग्रहण गर्न जानथालेको पाइन्छ ।
पञ्जराँको अघिल्लो दिन दानशालालाई व्यवस्थित गर्ने तथा त्यसमा दिपङ्कर बुद्ध, शाक्यमुनि बुद्ध तथा बोधिसत्व एवं तारालगायतको मूर्ति तथा थांकाहरु प्रदर्शन गर्ने गरिन्छ । र, पञ्जराँको दिन दानपति स्वयम्भू महाचैत्य वा अरु पायक पर्ने पवित्र बौद्ध स्थलमा गई पूजा गर्नुका साथै दान गरेर घर फर्कन्छन् । आफ्नो गुरुलाई आमन्त्रण गरेर वा गुरुकोमा गएर दान गरी आफ्नो दानशालाबाट दान दिन थाल्छन् ।
परम्परागत बौद्ध नेवार समाजमा दिपङ्कर बुद्धप्रति धेरै मात्रामा अनुरक्त रहेको पाइन्छ । अघि सुमेध ऋषिको रुपमा जन्म लिइरहेको बेला शाक्यमुनि बुद्धले बोधिप्रणिधि चित्तको ग्रहण दिपङ्क बुद्धसमक्ष गरेका कारण यो समाज यसरी दिपङ्कर बुद्धप्रति कृतज्ञ वा अनुरक्त भएको हो वा अन्य कारण भन्ने सन्दर्भमा ऐतिहासिक सन्दर्भहरु खुल्दैन । तर दिपङ्कर बुद्धसँग सम्बन्धित अनेक प्रसङ्गहरु पाइन्छन् । पञ्जराँ पनि प्रत्यक्ष रुपमा दिपङ्कर बुद्धसँग नै सम्बन्धित गराइएको देख्न पाइन्छ ।
कतिपय ठाउँमा दिपङ्कर बुद्धको ठूलो मूर्तिसहित शाक्य–बज्राचार्यहरु निश्चित मार्ग अपनाई पञ्जराँमा दान लिन जान्छन् भने कतिपय ठाउँमा अलि फरक रहेको देखिन्छ । काठमाडौंमा दिपङ्कर बुद्धको मूर्ति घुमाइँदैन, आआफ्नो ठाउँमा प्रदर्शनीमा राखिन्छ । काठमाडौं तथा पाटनमा दान लिन जानका लागि शाक्य–बज्राचार्यहरु ससानो समूह बनाएर वा एक्लाएक्लै पनि जाने गरेको पाइन्छ । तर समयको अन्तरालमा शाक्य–बज्राचार्यहरु नै पनि दान लिनजान हिच्किचाउने वा अन्य कामले गर्दा नभ्याउने गर्दा पञ्जराँ परम्परामा नै शिथिलता आएको थियो । तर आजभोलि नेपाल परम्परागत बौद्धधर्म संघको आह्वानमा सामूहिक रुपमा दान लिन जाने अभियान थालेको छ र प्राप्त दानलाई धर्मकार्यमा नै उपयोग गर्ने नीति लिँदा यस संस्कृतिमा पुनः नवजीवन संचार भएको पाइन्छ । दान लिन जाँदा दानको महिमा रहेको दानगाथा पढ्नै जाने चलन छ । दानगाथा पढ्न अभ्यस्त नभएका वा नसक्नेहरु पनि छन् तर उनीहरु दान लिनै पर्ने र सबैलाई दान दिनुपर्ने भावनाबाट प्रेरित छन्, जुन सुखद् पक्ष हो ।
दान लिने र दिने क्रम विहानैदेखि बेलुकासम्म चलि नै रहेको पाइन्छ । दानपतिहरुले दानका लागि खाद्यपदार्थको मात्रै व्यवस्था गरेका हुँदैनन्, क्षीर, अमिलो अचार, स्वारी, मालपुवा आदि खुवाउने बन्दोबस्त पनि गरेका हुन्छन् । यस दिन दान लिन आउने शाक्य–बज्राचार्यहरुका साथै इष्टमित्र तथा आफन्तहरुलाई आमन्त्रण गरी क्षीर तथा अन्य भोज्य पदार्थ खुवाएर पनि सामाजिक सद्भाव तथा भाइचारको भावनावृद्धि गरिरहेका हुन्छन् ।
दान लिन आउनेमध्ये सबैभन्दा पछि आउनेलाई ‘फूबरे’ भनिन्छ । तर यो काठमाडौंमा मात्रै प्रचलित छ । काठमाडौंको काष्ठमण्डपभन्दा दक्षिण अर्थात् क्वःने क्षेत्रमा लगनटोलको कुनै बज्राचार्य र थःने क्षेत्र –काष्ठमण्डपभन्दा उत्तर क्षेत्र) मा विधिवत् चुडाकर्म गरिएको एक ज्यापूलाई फूबरे बनाउने चलन छ । फूबरेको व्यवस्थाका सम्बन्धमा खासै अध्ययन भएको पाइँदैन । पञ्जराँको भोलिपल्ट दानशालामा राखिएका दिपङ्कर बुद्ध, शाक्यमुनि बुद्ध तथा अन्यहरुको मूर्ति तथा थांकाको गुरु वा घरमुलिले पूजा गरी विसर्जन गर्ने गरिन्छ ।
बौद्ध मात्रै होइन, बज्रयानी बौद्ध नै भएपनि पञ्जराँको यो संस्कृति काठमाडौं उपत्यकामा बौद्ध नेवारमा मात्रै पाइनु रोचक पक्ष हो । समग्रमा भन्नु पर्दा बौद्ध संस्कृतिका सम्बन्धमा यो विश्व बौद्ध संस्कृतिका लागि ठूलो देन पनि हो ।