नेपाल बौद्ध संघको आयोजनामा पुस १४ गते विश्व शान्ति पूजा हुँदैछ । काठमाडौँको स्वयम्भूस्थित बर्का समाज सेवा समिति गुम्बामा हुने पूजामा बौद्ध धर्मका महायान, बज्रयान र थेरबाद तीन वटै सम्प्रदायका धर्मगुरु सहभागि भई विश्व शान्तिको कामना गर्ने संघले बताएको छ । १३ औँ अवतारी छोग्याल रिन्पोछेको अध्यक्षतामा हुने पूजामा विभिन्न १३ जिल्लाबाट करिब ६ सय ५० धर्मगुरु सहभागि संघका कार्यालय प्रमुख सर्विन्द्र ठाकुरले बताए ।
नेपाल बौद्ध संघले वर्षेनी विश्व शान्ति पूजाको आयोजना गर्दै आइरहेको छ । अहिले हुन लागेको पूजा संघले आयोजना गरेको पाँचौ विश्व शान्ति पूजा हो । बौद्ध धर्मको प्रवद्र्धन र संरक्षणमा सक्रिय हुँदै आइरहेको संघले भूकम्पबाट क्षतिग्रस्त बनेका गुम्बाहरुको पुनःनिर्माणमा पनि सहयोग गर्ने गरेको छ । संघले अहिलेसम्म सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर र काभ्रे जिल्लाका ८ गुम्बा पुनःनिर्माणमा सहयोग पुर्याएको छ ।

