३० कार्तिक,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आयोजना गरिएका तीन ठूला अन्तर्राष्ट्रिय बौद्ध धार्मिक कार्यक्रमले धार्मिक तथा आध्यात्मिक गतिविधि बढाएका छन् । आठौँ विश्वशान्ति मोन्लम प्रार्थना, तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव र दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध समुदायको साझा धार्मिक गन्तव्यका रूपमा पुनः चर्चामा ल्याएका छन् । यी कार्यक्रममा विभिन्न देशका भिक्षु, भिक्षुणी, धर्मगुरु तथा श्रद्धालुहरूको सहभागिता रहेको छ ।
नेपालका भिक्षुणीहरूले आयोजना गरेको आठौँ विश्वशान्ति मोन्लम प्रार्थना लुम्बिनीमा सम्पन्न भएको महत्त्वपूर्ण धार्मिक कार्यक्रममध्ये एक हो । कार्यक्रममा महायान बौद्ध परम्पराअनुसार विश्वशान्ति, मानव कल्याण र सबै प्राणीको सुखका लागि सामूहिक प्रार्थना गरिएको थियो । दैनिक लामो समयसम्म सञ्चालन भएको प्रार्थनामा भिक्षुणी, बौद्ध गुरु तथा विभिन्न स्थानबाट आएका श्रद्धालु सहभागी भएका थिए । यस कार्यक्रमले बौद्ध परम्परामा भिक्षुणीहरूको धार्मिक नेतृत्व र सक्रियतालाई समेत उजागर गरेको छ ।
त्यसैगरी, भारतको हिमाचल प्रदेशका बौद्ध समुदायको सहभागितामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा तक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव आयोजना गरिएको थियो । कार्यक्रममा करिब २५० भिक्षु तथा भिक्षुणीसहित विभिन्न देशबाट आएका बौद्ध प्रतिनिधिहरू सहभागी भएका थिए । अमेरिका, क्यानडा, मलेसिया, भियतनाम, चीन, हङकङ र थाइल्यान्डलगायत देशका करिब १०० विदेशी सहभागीको उपस्थिति रहेको थियो । महोत्सवमा सामूहिक प्रार्थना, धार्मिक अनुष्ठान तथा विश्वशान्तिको कामना गरिएको थियो ।
यसैबीच, लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम पनि आयोजना गरिएको थियो । नोभेम्बर १ देखि ७ सम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न देशका भिक्षु, भिक्षुणी तथा बौद्ध विद्वान्हरूले सहभागिता जनाएका थिए । कार्यक्रममा पालि, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अंग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन पाठ गरिएको थियो । विभिन्न बौद्ध परम्परा र भाषामा संरक्षित बुद्धका उपदेशलाई एउटै पवित्र स्थलमा सामूहिक रूपमा पाठ गर्नु कार्यक्रमको प्रमुख विशेषता थियो ।
तीनवटै कार्यक्रमले लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध समुदायको उपस्थिति र धार्मिक गतिविधिलाई थप सक्रिय बनाएका छन् । बुद्धको जन्मस्थलमा विभिन्न देशका बौद्ध परम्परा, संस्कृति र धार्मिक अभ्यासको सहभागिताले लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचानलाई थप उजागर गरेको छ । यस्ता कार्यक्रमको आयोजना र निरन्तरताले लुम्बिनीमा धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा बौद्ध सम्पदाको प्रवर्द्धनमा योगदान पुर्याउने आधार तयार गरेको छ ।

