पशुपतिमा बौद्ध सम्पदाको दुर्दशा, बौद्ध महासंघले देखायो चासो

पशुपति क्षेत्रमा रहेका प्राचिन बौद्ध सम्पदाहरु संरक्षणको अभावमा अलपत्र र वेवारिसे बनेपछि नेपाल बौद्ध महासंघले चासो देखाएको छ । शुक्रवार महासंघले पशुपति क्षेत्र पुगेर स्थलगत निरीक्षण पनि गरेको छ । महासंघको निमन्त्रणमा बौद्ध विद्वान, धर्मगुरु लगायत पशुपति क्षेत्र पुगेका थिए ।

पशुपति क्षेत्रमा बौद्ध सम्पदाहरु फ्यालिएका र अलपत्र अवस्थामा भेटिएको बौद्ध विद्वान विवेक शर्माले बताउनु भयो । देशकै महत्वपूण बौद्ध धर्म र यससँग जोडिएका सम्पदा संरक्षणमा वेवास्ता गरिनु चिन्ताजनक भएको शर्माको भनाई छ

यसैबीच पशुपती क्षेत्र विकास कोष, पुरातत्व विभाग लगायत सरोकारबाला निकायसँग त्यहाँ पुगेका बौद्ध संघ, संस्था, अभियन्ता र बुद्धिजिविबीच सौहार्दपुर्ण वातावरणमा विस्तृत छलफल समेत भएको छ । पशुपति क्षेत्र विकास कोष र पुरातत्त्व विभागले अलपत्र र जीर्ण अवस्थामा रहेका सम्पदाहरुमध्ये तीन वटा सम्पदाहरुको तत्काल संरक्षण, पुनर्निर्माण र व्यवस्थापन कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

त्यस्तै पशुपति क्षेत्रमा रहेका बौद्ध संपदाहरुको विस्तृत अनुसन्धान र त्यसको उचित संरक्षणको लागि आगामी दिनहरुमा पनि छलफल गर्ने र विज्ञहरुको एक टोली बनाउने विषयमा सहमति पनि भएको छ ।

Share

Related posts