केही सय वर्षअगाडि मात्रै हो बौद्ध धर्मको बारेमा पश्चिमा विद्वानहरुले गम्भिर अध्ययन सुरु गरेको । पश्चिमेली विद्वानले बौद्ध धर्म र साहित्यको अध्ययन अनि त्यसको प्रकाशनले बौद्ध धर्मप्रति अन्तराष्ट्रिय रुची बढ्यो । ठीक यही बेला बौद्ध धर्म मान्ने एसियाली देशहरूमा पनि पुनःजागरण सुरु भयो, खासगरी श्रीलंकामा । बौद्ध धर्ममा श्रीलंकाको ठूलो देन छ । र, त्यहाँ चलेको धर्मको पुनःउत्थानले अरू देशलाई उत्तिकै प्रभाव पारेको इतिहास छ ।
यसरी बौद्ध धर्मको पुनःउत्थानकै क्रममा सिद्धार्थ गौतमको जन्म कहाँ भयो भनेर खोजि पनि भयो । सन् १८९६ डिसेम्बरमा, सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी हो भनेर पत्ता लाग्यो । त्यस अगाडि के भयो त ? इतिहासका लागि निकै महत्वपुर्ण हुन्छ यो विषय ।
सन् १८०० तिर युरोपमा बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । यसबाट युरोपेली विद्वान् यसतर्फ आकर्षित भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरु भयो ।
त्यतिबेला भारतमा बेलायतको उपनिवेश थियो । त्यसै क्रममा भारतीय पुरातात्विक सर्वेक्षण विभाग स्थापना भयो । अनि, रोयल एसियाटिक सोसाइटीजस्तो संस्था अस्तित्वमा आयो । ब्राह्मी लिपिबारे धेरै अनुसन्धान भयो र पढ्न सकिने भयो । बौद्ध साहित्यका रूपमा पालिको अपार भण्डार थियो नै । यस्तोमा लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे खोजी सुरु भएको थियो । यसमध्ये लुम्बिनीबारे धेरै पछि मात्र जानकारी आएको हो ।
पालि साहित्यसँगै फाहियान र युआन च्वाङको यात्रा–विवरणका आधारमा लुम्बिनीको खोजी भएको हो । सुरुमा लुम्बिनी अहिलेको भारतको उत्तरप्रदेशमा रहेको अनुमान थियो । त्यसका लागि पुष्टि गर्ने आधार भने थिएन । तैपनि, त्यतिबेला केहीले सिद्धार्थ गौतम भारतमा जन्मेका हुन् भनेर लेखे । नेपालमा राणा शासन चलिरहेको थियो । र, तराईको चारकोशे जंगल फँडानी पनि सुरु भइसकेको थियो । त्यहाँका बडाहाकिम थिए, खड्गशमशेर । काठमाडौँमा भने वीरशमशेरको शासन थियो ।
त्यसैबेला हो, कामदारले जंगलभित्र ढुंगाको स्तम्भ भेट्टाएको । पछि खड्गशमशेरले पनि यससम्बन्धी जानकारी पाए । सन् १८९६ डिसेम्बरमा जर्मन पुरातत्विद् फुहरर त्यहाँसम्म पुगे । प्राप्त अशोक स्तम्भको शिलालेखमा लेखिएको उतारिएपछि ब्राह्मी लिपि विशेषज्ञ हुल्जले लुम्बिनी नै गौतम बुद्धको जन्मस्थल रहेको पुष्टि गरे, जुन वास्तवमै ऐतिहासिक उपलब्धि थियो । फुहरर भारतीय पुरातत्व विभाग अन्तर्गतका पुरातत्वविद् हुन् । उनीपछि पीसी मुखर्जी आए र अनुसन्धान अगाडि बढाए ।
खस राजा रिपु मल्लले लुम्बिनी भ्रमण गरेयता यो क्षेत्र ओझेलमा पर्न सुरु भयो । आठ सय वर्ष लुम्बिनीको स्थिति अज्ञातजस्तै रह्यो । त्यसबीचमा के भयो भनेर अनुमान मात्र गर्न सकिन्छ । त्यस समयमा त्यहाँ ठूलो भोकमरी चलेको हुन सक्छ । बाढीपहिरो गएको हुन सक्छ अथवा भयानक आगलागी भएको हुन सक्छ । यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय जानकारीबाहिर रहेको हुनुपर्छ । जेहोस्, लुम्बिनीको खोजपछि पनि यसको विकास र विस्तारमा धेरै समय खर्चियो ।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ–थान्तले लुम्बिनी भ्रमण गरेयता यसले केही गति लिएको हो । सन् १९६७ तिर लुम्बिनी पुग्दा त्यसको दयनीय स्थिति देखेर बर्मेली बौद्ध धर्मका अनुयायी उनी रोएका थिए भनिन्छ । अहिले लुम्बिनीमा धेरै विकास भएको छ, अझै धेरै विकास गर्नुपर्ने बाँकी छ ।