सिध्दार्थ कुमार मामाघर आउँदा स्नान र जलक्रीडा गर्ने तलाउ बुद्ध ताल अतिक्रमणको चपेटामा

परासी — पश्चिम नवलपरासीस्थित गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिक तलाउ र पोखरी अतिक्रमणमा परेका छन् । तलाउ वरपर मानवीय अतिक्रमणका कारण क्षेत्रफल घट्नुका साथै पानी सुक्ने अवस्थामा पुगेको छ । सुनवल नगरपालिका ७, तर्गौलीस्थित देवदहताल (बुद्ध ताल) का डिलमा घर तथा अन्य भौतिक संरचना बनिरहेका छन् । बाह्रै महिना पानी नसुक्ने र कमलको फूलले मनमोहक हुने तालमा पछिल्लो समय पानीको सतह घट्दो छ । स्थानीयले तालमा गौतम बुद्धकी आमाले स्नान गरेको किंवदन्ती रहेको बताए । मायादेवीको बिहेपछि बुद्ध मामाघर पण्डितपुर आउँदा सपरिवार स्नान र जलक्रीडा गर्ने तलाउ यही रहेकाले पुरातात्त्विक दृष्टिकोणले यो महत्त्वपूर्ण मानिन्छ । पोखरीको बीचमा सुनको गजूर स्थापना गरिएको भन्ने किंवदन्ती पनि छ । अहिलेसम्म त्यसको उत्खनन हुन सकेको छैन ।

 

मन्दिर तलाउको दक्षिणी भागमा साम्यमाईको मन्दिर र पूर्वी भागमा बौद्ध गुम्बा छ । ऐतिहासिक देवदह संरक्षण तथा पुन:निर्माण समिति सचिव गुप्तबहादुर केसीका अनुसार १३ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तलाउ अतिक्रमण र संरक्षण अभावमा ओझेलमा परेको छ । ‘संरक्षणका लागि स्थानीयले समिति गठन गरेर तलाउ जोगाउन लागेका छौं । स्थानीय तहले पनि यस वर्ष १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘ताल क्षेत्रमा रहेको बस्तीलाई स्थानान्तरण गरेर तलाउलाई व्यवस्थित बनाउन सके पर्यटनसँगै सिमसार क्षेत्र बन्ने थियो ।’ सुनवल नगरपालिकाले यस तलाउलाई अतिक्रमणबाट रोक्न पहल सुरु गरेको जनाएको छ । सिमसार क्षेत्रसँगै धार्मिक पर्यटनको सम्भावना भएकाले ताल किनारवासीलाई उपयुक्त स्थान खोजेर स्थानान्तरण गर्ने र तालमा बाह्रै महिना डुंगा चलाउन मिल्ने, ताल वरपर पार्क निर्माण गर्ने योजना नगरप्रमुख भीमबहादुर थापाले सुनाए ।

 

सुनवलको बुद्धतालजस्तै बर्दघाटस्थित बुद्ध मंगल ताल र रामग्राम नगरपालिका १८ को बुद्धकालीन धरमपोखरीको अवस्था पनि उस्तै छ । बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलको संरक्षण र प्रवद्र्धन गर्ने जिम्मा लुम्बिनी विकास कोषको भएको भन्दै यसतर्फ जिल्लाका सरोकारवालाको ध्यान जान नसक्दा अस्तित्व नै संकटमा पर्ने खतरा बढेको हो । ३ बिघा क्षेत्रफलमा रहेको धरमपोखरी बुद्ध शान्ति साझेदारी वन समितिले संरक्षण गर्दै आएको छ । स्थानीयले गाउँमा हुने उत्सव, विवाह र शुभकाममा यसै तालको पानीलाई जलका रूपमा प्रयोग गर्छन् । ऐतिहासिक ताल अहिले चौपायाको पानी पिउने थलो र आहाल बनेपछि स्थानीयले संरक्षणमा चासो दिएका छन् । तालतलैया सुक्ने र अतिक्रमणमा परेपछि रामग्राम नगरपालिकाले यसलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ताले यस क्षेत्रलाई बुद्ध सर्किटसँग जोडेर प्रचारप्रसार गरिने बताए ।

Share

Related posts