आज मनाइदैं गरेको ल्हाबब दुछेन ༼ལྷ་བབས་དུས་ཆེན།༽ अर्थात् देव अवतरण महोत्सव के हो ?

आचार्य सार्की शेर्पा
शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्त्वहरूलाई दुःखको भावसागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य)हरू प्रदर्शन गर्नु भएता पनि बौद्ध परम्परामा विशेषगरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रूपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव पनि एक हो । यो महोत्सव भोट चन्द्र पात्रोअनुसार हरेक वर्ष ९ औँ महिनाको कृष्णपक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सव २०८०, कार्तिक १८ गते शनिबारको दिन परेको छ ।

लुम्बिनीमा तत्कालीन महाराजा शुद्धोधन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थ गौतमको जन्म भएको सातौँ दिनमा महारानी मायादेवीको देहान्त भई तुषित देवलोकमा जन्मनुभएको थियो । माता मायादेवीको देहान्तपश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नुभएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरबारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराईदिँदा पनि सबै भौतिक सुख परित्याग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनुभएको थियो । तत्पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाउँको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर ध्यान साधनापछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नुभएको थियो ।

आचार्य सार्की शेर्पा

बोधिज्ञान प्राप्तपश्चात् सर्व प्राणी हितार्थ विभिन्न नगरको भ्रमण गर्नुभई व्यक्तिको क्षमताअनुसार उपदेश प्रदान गर्नुभएको थियो । सोही क्रममा शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरमा तुषित देवलोकमा आफ्नो माता मायादेवीलाई धर्म प्रवर्चन गर्न पाल्नुभएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवताहरूलाई तीन महिना प्रवचन दिनुभएको थियो । त्यस बेला श्रावस्तीमा शाक्यमुनि बुद्धका शिष्य मोदगलायन पुत्र र भिक्षुहरू सबै एकै साथ वर्षाबासमा बसेका थिए । मगधका राजा बिम्बिसार, श्रावस्तीका राजा प्रसेनजित र स्थानीयबासीहरूलाई शाक्यमुनि बुद्ध कहाँ रहनुभएको जानकारी थिएन । उनीहरुले भिक्षुहरूलाई शाक्यमुनि बुद्धको विषयमा सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो मातालाई धर्म प्रवचन दिईरहनुभएको विषयमा जानकारी गराएका थिए । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रण गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्यहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोकमा आमन्त्रण गरेका थिए ।

शाक्यमुनि बुद्धले भिक्षुहरुको आमन्त्रणलाई स्वीकार गरी कार्तिक कृष्णपक्षको सप्तमीका दिन देव, मनुष्य सपरिवार चमत्कार सिढीँबाट मनुष्य लोकमा पाल्नुभएकोले यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देव अवतरण महोत्सवको रूपमा मान्ने गर्दछन् । यसै उपलक्ष्यमा शिष्यहरूले एक चैत्य स्थापना गरेका थिए । सो चैत्यलाई देव अवतरण चैत्य (ल्हाबब छ्योर्तेन) भनिन्छ ।

विशेषगरी यस दिन बौद्धमार्गीहरूले साक्षात् बुद्धको रूपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी रङ्गाउने र पञ्चरंगी ध्वजा, पताका चढाई पाठपूजा प्राण प्रतिष्ठा (राब्ने) गर्ने प्रचलन रहेको छ । साथै गोन्पा, चैत्य जस्ता पवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवचन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिएको पाइन्छ ।

Share

Related posts