बौद्ध केन्द्रका रुपमा नेपाल

बसन्त महर्जन
बौद्ध जगतमा एउटा विशिष्ट शब्द छ, बौद्ध केन्द्र । बुद्ध जीवनीसँग सम्बन्धित ठाउँविशेष हुँदैमा त्यसलाई ‘बौद्ध केन्द्र’ भनिँदैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा उनको गृहनगर कपिलवस्तु बौद्ध केन्द्रको रुपमा कहिल्यै विकास हुन सकेन । मगध, वैशाली, कौशाम्बी, श्रावस्ती, सारनाथ, नालन्दालगायतका केही ठाउँहरु कुनै बेला बौद्ध केन्द्रको रुपमा भएपनि सँधै रहेन । भारतमा रहेका तीमध्ये केही क्षेत्रलाई पुनः ब्युँताउने कोशिस भइरहेको पाइन्छ तर बौद्ध जगतले त्यसलाई बौद्ध केन्द्रका रुपमा नभएर बौद्ध स्थलका रुपमा मात्रै हेर्ने गरेको पाइन्छ । बुद्धको जीवनसँग सम्बन्ध नराख्ने भएपनि तिब्बतलगायत चीनका कतिपय ठाउँ, जापान, श्रीलंका, थाइल्यान्ड, म्यानमार आदि देशहरु बौद्ध केन्द्रका रुपमा चिनिन्छन् । नेपालको सन्दर्भमा प्राचीन लो राज्य (मुस्ताङ) केही हदसम्म एउटा केन्द्र बन्न खोजेको थियो तर बौद्ध स्थलको रुपमा पहिचान बनाएपनि बौद्ध केन्द्रको रुपमा स्थिर रहन सकेन । काठमाडौं उपत्यका भने जसोतसो प्राचीनकालदेखि बौद्ध केन्द्रको रुपमा रहेको र वर्तमानमा पनि यसले आफ्नो पहिचान कायम राख्न सकेको बौद्ध जगतकै लागि सुखद् पक्ष हो ।

विस्तृत भूभागको आधुनिक नेपाल बन्नुअघिसम्म ‘नेपाल’ शब्दले काठमाडौं उपत्यका र त्यस वरिपरिका केही भूभागलाई जनाउँथ्यो । यस उपत्यकामा बौद्ध धर्मको प्रवेश कहिलेबाट भयो भन्ने प्रश्न पनि बडो रोचक छ । परम्परागत मान्यताअनुसार यस उपत्यकामा स्वयं गौतम बुद्धको आगमन भएको थियो । अझ गौतम बुद्धअघि अतीत बुद्धहरु विपश्वी, शिखी, विश्वभू, कनकमुनि, क्रकुच्छन्द र कश्यपको पनि आगमन भएको भन्ने भनाइ पाइन्छ । तर यो इतिहास अध्ययनको विषय होइन । गौतम बुद्ध काठमाडौं आएको कुरा पनि ऐतिहासिक रुपमा पुष्टि हुँदैन । इशापूर्व तेस्रो शताब्दीमा मौर्य सम्राट अशोकले बौद्ध धर्मको प्रचारप्रसारका लागि धर्मदूतहरु नियुक्त गरेको र विभिन्न ठाउँमा पठाएको विवरणका आधारमा त्यही बेलादेखि नेपालमा बौद्ध धर्मको प्रवेश भएको भन्ने मान्यता राख्ने अध्येताहरु पनि छन् । तर जुन स्रोतको आधारमा यो मान्यता बनाएको हो, त्यही स्रोतले पनि नेपालमा बौद्ध धर्मको प्रवेश तेस्रो शताब्दीपछि मात्रै भयो भन्ने कुरालाई समर्थन गर्दैन । बरु सम्राट अशोकले बोकेको बौद्ध मतवादको अस्तित्व नै देखिँदैन ।

बसन्त महर्जन

अन्य स्रोत र वस्तुस्थितिलाई हेर्दा गौतम बुद्ध आफै आउन नसकेपनि उनकै जीवनकालमा यस उपत्यकामा बौद्ध धर्मको प्रवेश भइसकेको देखिन्छ । सर्वास्तिवादी बौद्ध सम्प्रदायको एउटा ग्रन्थ ‘मूलसर्वास्तिवादविनयसूत्र’ अनुसार भिक्षु आनन्द यहाँ आएका थिए र त्यसअघि नै यहाँ बौद्ध धर्मको अभ्यास हुन थालिसकेको थियो । बुद्ध तक्षशिलामा कहिल्यै गएनन् तर बुद्धकै जीवनकालमा तक्षशिलामा बौद्ध धर्मको विस्तार भइसकेको र त्यहाँका राजा उपासकका रुपमा थिए । ती राजा तक्षशिलादेखि आएर बुद्धसँग वन्दना गरी पछि भिक्षु बनेको विवरण पाइन्छ । बुद्धको विचरणभूमिबाट तक्षशिलाभन्दा नेपाल उपत्यका दूरीका हिसावले नजिक पर्दछ र ती ठाउँहरुसँग काठमाडौं उपत्यकाको सामाजिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध भएका कारण बौद्ध धर्मको विस्तारमा पनि सहज भएको हुनसक्छ । काठमाडौं उपत्यका थालनीदेखि नै बौद्ध केन्द्रको रुपमा विकास थिएन तर पछि क्रमशः भयो ।

काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्राचीनताका सन्दर्भमा प्रचलित कथावस्तु तथा वंशावलीहरुले जेजस्तो भनेपनि ऐतिहासिक साक्षीका रुपमा ‘गुँविहार’लाई अगाडि सार्न सक्छौं । लिच्छविकालमा प्रसारित शिलालेखहरु संस्कृत भाषामा रहेको पाइन्छ । शिलालेखमा संस्कृत भाषा प्रयोग भएपनि पहिल्यैदेखि प्रचलनमा रहेका गैरसंस्कृत शब्दका स्थान, अड्डा तथा अन्य कतिपयको नामलाई अनुवाद नगरी जस्ताको तस्तै प्रयोग गरिएको देखिन्छ । ती गैरसंस्कृत शब्दहरुको आधारमा यस उपत्यकामा लिच्छविवंशले राज्य गर्नुअघि नै सभ्यता र संस्कृतिको विकास भइसकेका बुझ्न सकिन्छ । ती गैरसंस्कृत शब्दहरुमा एउटा ‘गुँविहार’ पनि हो । प्रमुख विहारहरुको नाम उल्लेख गर्ने क्रममा संस्कृत भाषामा रहेका विहारहरुको क्रममा गुँविहारको नाम पनि हुनुले ठुलो अर्थ दिन्छ । यसलाई कतिपयले नेपालको सबैभन्दा पुरानो बौद्ध विहार पनि भन्ने गरेको पाइन्छ तर यो सही बुझाइ होइन । त्यो बेला गैरसंस्कृत भाषामा रहेका अन्य विहारहरु पनि हुनसक्ने कुरालाई नकार्न सकिन्न । विशिष्ट स्थान राख्ने भएकै आधारमा यसको नाम उल्लेख भएको हो । तर एउटा कुरा के हो भने, नेपालको इतिहास जतिबेलादेखि प्रामाणिक रुपमा स्पष्ट भयो त्यो बेला यो ठाउँ बौद्ध केन्द्रको रुपमा विकसित भइसकेको पाइन्छ ।

इस्वी सम्वतको चौथो शताब्दीमा योगाचार (विज्ञानवाद)का प्रख्यात बौद्ध आचार्य बसुबन्धुको आगमन नेपालमा भएको बताइन्छ । सुरुमा वैभाषिक मतका यी आचार्य पछि आफ्नो दाजु आचार्य असंगको सम्पर्कमा आएर योगाचार दर्शन लागेका थिए । यस प्रकार उनी दुवै सम्प्रदायका अद्वितीय विद्वान थिए । उनको समयका सम्बन्धमा विभिन्न मत पाइन्छ तर इ.सं. २८० देखि इ.सं. ३६० रहेको पनि मानिन्छ । यति बेला नेपालमा कसको शासन थियो भन्ने कुरा खुल्दैन । तर महत्वपूर्ण प्रश्न हो, उनी नेपालमा आउनुको विशेष कारण के होला ? त्यत्रो विशिष्ट र अद्वितीय विद्वान यहाँ आउनुको कारण अवश्य पनि बौद्ध धर्मको प्रवचन दिन, आफ्नो मतवादको प्रचार तथा अन्यको खण्डनका लागि हो ।

राजा मानदेव (इ.सं. ४६४–५०५) बाट नेपालको इतिहास स्पष्ट हुँदै आउँछ तर उनका जिजु बाजे वृषदेव बौद्ध धर्मका परमोपासक मात्रै नभएर अनेकौं निर्माण कार्यमा सरिक रहेको र पछि स्वयं बौद्ध भिक्षु बनेको विवरण अन्य स्रोतबाट दिन्छ भने, मानदेव तथा जयदेव (द्वितीय)को पशुपति अभिलेखले समर्थन गर्दछ । मानदेव बौद्ध मताबलम्बी नभएर वैष्णव मतवादी थिए तर जनताको विश्वास जित्न उनले मानविहार नामको एक बौद्ध विहारको निर्माण गराएका थिए ।

सातौं शताब्दीमा राजा शिवदेवले एउटा बौद्ध विहारको निर्माण गराएको पाइन्छ । साथै गोपालराजवंशावलीअनुसार खास्ति महाचैत्य (बौद्ध) को निर्माण पनि उनैबाट भएको स्पष्ट उल्लेख पाइन्छ । पछि अंशुवर्मालाई राजपातको जिम्मा दिई उनी बौद्ध भिक्षु बन्न गएका थिए । आफु शिवभक्त भइकनपनि राजा अंशुवर्माले बौद्ध धर्मका नाममा धेरै काम गरेको पाइन्छ । उनको योगदानलाई हेरेर कतिपयले बौद्ध राजा नै पनि भन्न पुगेको पाइन्छ । आफु लिच्छविकूलको होइन र राजगद्दीको उत्तराधिकारी पनि नभएको कुरा अंशुवर्मालाई राम्रोसँग हेक्का थियो र शेषपछि लिच्छविवंशमा नै फर्कने गरी शिवदेवका छोरा उदयदेवलाई युवराजका रुपमा घोषणा गरेका थिए । उदयदेव राजा भइसकेपछि आन्तरिक कलहका कारण परिवारसहित तिब्बतमा शरण लिनजानु परेको थियो । तिब्बती राजा श्रङ्–चङ–गम्पोसँग विवाह गर्ने नेपाली राजकुमारी यिनै राजा उदेयदेवकी छोरी हुन् । यसै बेला तिब्बती राजदरवारमा शीलमञ्जु नामका एक बौद्ध आचार्यको प्रवेश भएको थियो । उनीबाट बौद्धग्रन्थहरुको तिब्बती अनुवाद कार्यमा सहयोग पुगेको थियो । विदेशमा बौद्ध धर्मको प्रचारप्रसारका लागि विद्वानहरु जानसक्ने भइसक्नु र विद्याध्ययनका लागि विदेशबाट नेपालमा आउने वातावरण हुनु भनेको बौद्ध केन्द्रका रुपमा विकास भइसक्नु हो ।

ने. स. ८८ (इ.सं. ९६८) मा सारिएको ‘उष्णीष–विजय’ नामक धारिणीको पुष्पिका वाक्यमा बोधिगुप्त नामका आचार्यको उल्लेख पाइन्छ । उनको परिचय ‘परमाचार्य’ भनिएबाट उनको व्यक्तित्वलाई साधारण रुपमा आंकलन गर्न मिल्दैन । यसको केही समयपछि फर्पिङ निवासी वागीश्वरकीर्तिको उपस्थिति देखिन्छ । तिब्बती विद्वान लामा तारानाथद्वारा उच्च सम्मानका साथ प्रशंसा गरिएका यिनी पछि तिब्बत गएर बौद्ध धर्मको शिक्षा प्रचारप्रसारमा सरिक भएका थिए । उनका तीन भाइहरु पनि पनि उत्तिकै विद्वान थिए र चारै दाजुभाई तिब्बतमा पुगेर बौद्ध धर्मको विकासमा योगदान दिएका थिए । शान्तिभद्र नामका नेपाली बौद्ध विद्वान तिब्बतमा गई रत्नाकर शान्तिको सहायतामा ‘विज्ञप्तीमात्रतासिद्धि’ नामको बौद्ध ग्रन्थ तिब्बती भाषामा अनुवाद गरेका थिए ।

मध्यकालमा पनि नेपालमा थुप्रै बौद्ध विद्वानहरुको गतिविधिबारे थाहा पाइन्छ । यस बेला नेपालमा बौद्ध धर्मले अन्य धर्मसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था थियो । केही समय द्वैध शासन पनि चलेको थियो र यसअनुसार मल्ल नामधारी शासक हिन्दू धर्मका पक्षपाती थिए भने देवनामधारी शासक बौद्ध धर्मका पक्षपाती देखिन्छ । देवनामधारी शासकहरुलाई सघाउन पश्चिमबाट राजासहित खश साम्राज्यका सैनिकहरु आउँथे । खश साम्राज्यसँग तत्कालीन नेपालका देवनामधारी शासकहरुको राम्रो सम्बन्ध थियो र नेपालबाट विद्वानहरु राजधानी सिंजामा आमन्त्रित हुन्थे ।

तिब्बतका प्रसिद्ध बौद्ध तीर्थयात्री एवं विद्वान भिक्षु धर्मस्वामीको नेपाल बसाई तथा भारतको भ्रमण बौद्ध इतिहासको लागि राम्रो स्रोत हो । उनले नेपालमा रवीन्द्रसँग अनेकौं बौद्ध शास्त्रहरु पढेका थिए । उनको उल्लेख लामा तारानाथले पनि गरेको पाइन्छ ।

आचार्य दिपङ्कर श्रीज्ञान नालान्दाबाट तिब्बतका लागि प्रस्थान गर्दा नेपाल उनको बाटो मात्रै थियो । तर उनी सुरुमा स्वयम्भू क्षेत्रमा र त्यसपछि थँबही (ठमेल)स्थित विक्रमशील महाविहारमा लामो समय बसे । यस बसाईका क्रममा एउटा बौद्ध ग्रन्थको रचना पनि भयो जुन बौद्ध जगतका लागि महत्वपूर्ण मानिन्छ । त्यति बेला पनि नेपाल बौद्ध केन्द्रको रुपमा रहेकै कारण उनले आफ्नो बसाईलाई लम्ब्याएको अनृुमान गर्न सकिन्छ ।

तिब्बतका अद्वितीय बौद्ध विद्वान लोचावा मार्पा थप विद्याअध्ययनका लागि नेपाल आएका थिए । नेपाली गुरुहरुसँग अध्ययन गरिसकेपछि उनी भारतमा गई महासिद्ध तिलोपालगायत अरुसँग पढेका थिए । स्थानिय भाषामा राम्रोसँग सम्वाद गर्न सक्ने उनको अर्को घर भन्नु नेपाल नै थियो । त्यसउप्रान्त पनि अनेकौं तिब्बती बौद्ध लामाहरु नेपाल आउने र विद्याध्ययन गरेर फर्कने तथा नेपालबाट तिब्बतमा बौद्ध विद्वानहरु जाने गरेको पाइन्छ । साथै, नेपालबाट बौद्ध कलावस्तुको निर्यात पनि तिब्बत लगायत अन्यत्र ठाउँहरुमा हुन्थ्यो । लो राज्यका कतिपय बौद्ध गुम्बाहरुको चित्रकलामा काठमाडौंबाट गएका कलाकारहरुको योगदान रहेको पाइन्छ । यसरी नै कतिपय मूर्ति काठमाडौं उपत्यकामा बनाएर उता लगेका लाने गरेको पनि पाइन्छ ।

बौद्ध जगतमा वर्तमान नेपालको स्थान के छ भन्ने सन्दर्भमा जवाफ दिन सहज छैन । बौद्ध धर्मका सन्दर्भमा राज्य एकातिर उदासिन देखिन्छ भने अर्कोतिर सहयोगी देखाउने प्रवृत्ति पनि भएका कारण यसलाई राज्यको द्वैधचरित्र भन्न सकिन्छ । तर राज्यले नीतिगत रुपमा नै बौद्ध धर्ममाथि पक्षपात गर्नुका साथै कारवाही पनि चलाएको घटना हिजोआजको मात्रै कुरा हो । बौद्ध धर्मको सन्दर्भमा विगतमा जस्तो नेपाल नभएपनि यहाँ बौद्ध धर्मको प्रभाव छँदैछैन भन्न सकिन्न । प्राचीनकालदेखिको बौद्ध धर्मको विरासत बोक्दै आएका बौद्ध नेवारहरु काठमाडौं उपत्यकामा विद्यमान नै छन् भने हाल तिब्बती एवं तिब्बती बौद्ध धर्मका स्वदेशी आचार्यहरु पनि आएर थप योगदान दिएको पाइन्छ । यसअनुसार बज्रयानी बौद्ध धर्मको अभ्यास तथा विद्याध्ययनका लागि नेपाल उपयुक्त थलो नै बनिरहेको छ ।

बौद्ध शिक्षाको प्रवद्र्धनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय संचालित छ भने, अन्य विश्वविद्यालयहरुमा पनि बौद्ध अध्ययनको सुविधा रहेको छ । यी विश्वविद्यालयहरुले विदेशीभन्दा स्वदेशी विद्यार्थीहरुलाई आकर्षित गरेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेका तिब्बती बौद्ध धर्मअन्र्तगतका बौद्ध गुम्बा (विहार)हरु पनि शैक्षिक केन्द्रकै रुपमा संचालित छन् । यी स्थलहरुमा तिब्बती तथा तिब्बती बौद्ध धर्मको प्रभावमा रहेका स्वदेशी एवं विदेशीहरुको गन्तव्य भइरहेको पाइन्छ । यहाँ बौद्ध धर्मकै अर्को थेरवादी सम्प्रदायको पनि विकास विस्तार हुन थालेको छ । मूर्त तथा अमूर्त सम्पदाका रुपमा रहेका प्राचीन कलावस्तु काठमाडौं उपत्यकामा अझै पनि छन् जुन शोभा मात्रै नभएर ज्ञानका स्रोत पनि हुन् । यसर्थ काठमाडौं उपत्यका आजपनि बौद्ध केन्द्रकै रुपमा रहेको मान्नु पर्दछ ।

Share

Related posts