सारनाथमा बुद्धका पवित्र अस्थिधातुको सार्वजनिक दर्शन आज सम्पन्न हुँदै

८ मंसिर,काठमाडौं : भारतको उत्तर प्रदेशस्थित ऐतिहासिक बौद्ध तीर्थस्थल सारनाथमा भगवान् गौतम बुद्धका पवित्र अस्थिधातुको सार्वजनिक दर्शन कार्यक्रम आज नोभेम्बर २४ मा सम्पन्न हुँदैछ । नोभेम्बर २२ देखि सुरु भएको तीनदिने विशेष धार्मिक कार्यक्रम मुलगन्ध कुटी विहारमा आयोजना गरिएको हो ।

बुद्धले बोधगयामा ज्ञान प्राप्त गरेपछि आफ्ना पाँच पूर्वसहयोगीलाई पहिलो धर्मदेशना दिएको स्थल सारनाथ बौद्ध धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिन्छ । यही स्थानबाट बुद्धले चार आर्यसत्य र आर्य अष्टाङ्गिक मार्गको शिक्षा प्रवाह गर्दै धर्मचक्र प्रवर्तन गर्नुभएको बौद्ध ग्रन्थहरूमा उल्लेख छ । त्यसैले सारनाथलाई बौद्ध धर्मको इतिहासमा धर्मचक्र प्रवर्तनस्थलका रूपमा विशेष महत्त्व दिइन्छ ।

मुलगन्ध कुटी विहारको ९५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय बौद्ध धार्मिक तथा सांस्कृतिक जमघटका रूपमा समेत लिइएको छ । भारतीय महाबोधि समाजको सारनाथ केन्द्र र भियतनामी बौद्ध भिक्षुसङ्घको सहकार्यमा आयोजित कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कम्बोडिया र जापानलगायत विभिन्न देशका बौद्ध धर्मावलम्बीको सहभागिता रहेको छ ।

कार्यक्रमको मुख्य आकर्षण विहारभित्र सुनको बुद्धमूर्तिमुनि विशेष रूपमा सुरक्षित राखिएका भगवान् बुद्धका पवित्र अस्थिधातुको सार्वजनिक दर्शन हो । विशेष धार्मिक विधि र पूजाअर्चनापछि अस्थिधातुलाई दर्शनका लागि बाहिर ल्याइएको हो । बौद्ध परम्परामा बुद्धका अस्थिधातुको दर्शन, पूजाआराधना र परिक्रमा गर्नुलाई श्रद्धा, पुण्य सञ्चय तथा आध्यात्मिक प्रेरणासँग जोडेर हेरिन्छ ।

यस प्रकारका धार्मिक कार्यक्रमले बुद्धको जीवन, उपदेश र ऐतिहासिक सम्पदाप्रति नयाँ पुस्ताको चासो अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय बौद्ध समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । विशेषगरी बुद्धको जन्मभूमि नेपाल र उहाँले पहिलो उपदेश दिनुभएको सारनाथबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण मानिन्छन् ।

Share

Related posts

Leave a Comment