विश्वशान्तिका लागि कोरिया, चीन र जापानका बौद्ध प्रतिनिधिद्वारा संयुक्त प्रार्थना

६ मंसिर, काठमाडौं: पूर्वी एसियाका तीन मुलुक दक्षिण कोरिया, चीन र जापानका करिब २०० बौद्ध प्रतिनिधिले विश्वशान्ति, मानव कल्याण र धार्मिक सद्भावको कामना गर्दै संयुक्त प्रार्थना गरेका छन् । नोभेम्बर १३ मा सार्वजनिक विवरणअनुसार अक्टोबर २१ मा दक्षिण कोरियाको ग्यङ्जुस्थित १३०० वर्ष पुरानो ऐतिहासिक बुल्गुक्सा मन्दिरमा विशेष धर्मसभा आयोजना गरिएको थियो । यो कार्यक्रम २६औँ कोरिया–चीन–जापान बौद्ध मैत्री आदानप्रदान सम्मेलनको एक महत्त्वपूर्ण हिस्सा थियो ।

दक्षिण कोरियाको सबैभन्दा ठूलो बौद्ध सम्प्रदाय जोग्ये अर्डरको आयोजनामा भएको कार्यक्रममा तीनै देशका प्रमुख बौद्ध संस्थाका प्रतिनिधिहरू सहभागी थिए । दक्षिण कोरियाली बौद्ध सम्प्रदायहरूको सङ्घका अध्यक्ष तथा जोग्ये अर्डरका प्रमुख भिक्षु जिनवु, चिनियाँ बौद्ध सङ्घका अध्यक्ष भिक्षु शी यान्जुए र जापान–चीन–कोरिया अन्तर्राष्ट्रिय बौद्ध आदानप्रदान परिषद्का अध्यक्ष भिक्षु ताके काकुचोले कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा तीन देशका बौद्ध समुदायबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास र मैत्रीलाई अझ सुदृढ बनाउँदै आधुनिक समाजमा बढ्दो द्वन्द्व, विभाजन र मानसिक अस्थिरताको समाधानमा बौद्ध शिक्षाको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो । दक्षिण कोरियाली बौद्ध नेता जिनवुले तीन देशका बौद्ध समुदाय एकजुट भएर आधुनिक मानिसको मानसिक पीडा कम गर्न र भविष्यप्रति आशा जगाउन लाग्नुपर्ने बताएका थिए । उनका अनुसार आपसी विश्वास र मित्रताले पूर्वी एसियामा शान्तिपूर्ण सहअस्तित्वको आधार निर्माण गर्न सक्छ ।

चिनियाँ बौद्ध सङ्घका अध्यक्ष शी यान्जुएले युद्ध अन्त्य, घृणाको रूपान्तरण र करुणाको विकासका लागि बौद्ध समुदायले निरन्तर प्रार्थना तथा धर्म अभ्यास गर्नुपर्ने धारणा राखेका थिए । जापानी प्रतिनिधि ताके काकुचोले पनि तीनै देशका बौद्ध समुदाय बुद्धका अनुयायी भएकाले विश्वशान्ति, सम्पूर्ण प्राणीको सुख, वातावरण संरक्षण र बुद्धधर्मको विकासका लागि एकताबद्ध हुनुपर्ने बताएका थिए । कार्यक्रममा सूत्रपाठ, प्रार्थना र सामूहिक सङ्कल्पसमेत गरिएको थियो ।

धर्मसभापछि आयोजित शैक्षिक गोष्ठीमा तीनै देशका बौद्ध प्रतिनिधिहरूले संयुक्त घोषणापत्रसमेत जारी गरेका थिए । घोषणापत्रमा पारस्परिक सम्मान, जीवनप्रतिको आदर र बौद्ध अभ्यासको विस्तारमार्फत मानवताको सहअस्तित्व तथा साझा समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो । युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत बुल्गुक्सा मन्दिरमा सम्पन्न यस कार्यक्रमले धार्मिक सीमाभन्दा माथि उठेर अन्तर्राष्ट्रिय मित्रता, करुणा र शान्तिका लागि बौद्ध धर्मको साझा भूमिका उजागर गरेको छ ।

Share

Related posts

Leave a Comment