६ मंसिर,काठमाडौं: काठमाडौंमा २२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानले ऐतिहासिक बौद्ध परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणलाई पुनः चर्चामा ल्याएको छ । आगामी माघ १ गते आयोजना गर्ने तयारी गरिएको यस धार्मिक अनुष्ठानका लागि काठमाडौं महानगरपालिकाले व्यवस्थापकीय तथा पूर्वाधारसम्बन्धी काम अघि बढाएको छ । लामो समयपछि हुन लागेको महादानलाई परम्परागत विधि र मौलिक स्वरूपअनुसार सम्पन्न गर्ने महानगरको प्रयास छ ।
यसैक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार सम्यक महादानको ऐतिहासिक स्थल भुइख्याः अर्थात् टुँडिखेल क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा महादानसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने स्थानहरूको पहिचान गरिएको छ । सदियौँदेखि यही क्षेत्रमा हुँदै आएको परम्परालाई निरन्तरता दिन आवश्यक व्यवस्थापनबारे उनले प्राविधिक तथा सांस्कृतिक टोलीसँग छलफल गरेकी छन् ।
सम्यक महादानको तयारीमा अहिले सबैभन्दा ठूलो चुनौती बदलिएको सहरी संरचना बनेको छ । विगतमा खुला मैदानका रूपमा रहेको भुइख्याः क्षेत्रमा अहिले घर, सडक तथा अन्य भौतिक संरचना निर्माण भएकाले परम्परागत गतिविधिका लागि आवश्यक स्थान व्यवस्थापन सहज छैन । त्यसैले पहिले महादानका क्रममा प्रयोग हुने गरेका स्थानहरूको अवस्थाबारे ज्येष्ठ तथा अनुभवी व्यक्तिहरूसँग परामर्श गरी अध्ययन भइरहेको डंगोलले बताएकी छन् ।
परम्परागत विधिअनुसार महादानका लागि खाना पकाउने, पातको काम गर्ने र भगवान् राख्ने छुट्टाछुट्टै स्थान आवश्यक पर्छन् । ती स्थानहरूको पहिचान र व्यवस्थापनका लागि महानगरले प्राविधिक टोली परिचालन गरेको छ । खाना पकाउने स्थानका विषयमा प्रहरी चौकीसँग समेत छलफल गरिएको र प्रहरी प्रशासनबाट सहयोगको सकारात्मक प्रतिबद्धता प्राप्त भएको डंगोलले जानकारी दिएकी छन् । समयक्रमसँगै परिवर्तन भएका संरचनाबीच कुन परम्परा पुरानै स्वरूपमा सञ्चालन गर्न सकिन्छ र कहाँ वैकल्पिक व्यवस्था आवश्यक हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।
महानगरपालिकाले सम्यक महादानको धार्मिक, सांस्कृतिक र भौतिक पक्षलाई समेटेर विस्तृत योजना तयार गर्ने जनाएको छ । यसका लागि प्राविधिक तथा सांस्कृतिक टोलीले छुट्टाछुट्टै अध्ययन गरिरहेका छन् । सम्यक महादानमा काठमाडौं उपत्यकाका विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई श्रद्धापूर्वक दान तथा भोजन अर्पण गरिन्छ । त्यसैले यो केवल धार्मिक अनुष्ठान मात्र नभई नेवार बौद्ध समुदायको मौलिक संस्कृति, दान परम्परा र सामुदायिक एकताको महत्त्वपूर्ण प्रतीक पनि हो । २२ वर्षपछि हुन लागेको यस आयोजनाले नयाँ पुस्तामा ऐतिहासिक बौद्ध परम्पराको ज्ञान हस्तान्तरण गर्नुका साथै काठमाडौंको सांस्कृतिक पहिचान संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


