दक्षिण कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न

दक्षिण कोरियाको राजधानी सोलमा अन्तर्राष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिनसम्म चलेको एक्स्पोमा नेपालबाट पनि सहभागिता रहेको थियो । सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का ट्रेजर्स नेपालबाट सहभागी थिए । बुद्ध र बौद्ध धर्मका विभिन्न पक्ष झल्काउने वस्तु प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाइल्यान्ड लगायत बुद्ध धर्म मान्ने देशहरुसहित कोरियामा रहेका झन्डै चार सयभन्दा बढी बौद्ध धर्म सम्बन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेको प्रर्दशनीमा पाँच लाख मानिसले अवलोकन गरेको आयोजकले जनाएका छन् ।

सन् २०१३ देखि सुरु भएको बुद्धिजम एक्स्पो कोरियाको बुद्ध धर्म सम्बन्धी सबै भन्दा ठूलो एक्स्पोमा पर्छ । नियमित रुपमा सहभागिता जनाउँदै आएको लक्की थाङ्काका किरण न्यौपानेले नेपालबाट कोरिया आएर देश र बुद्धको बारेमा भन्न पाउँदा खुसी लाग्ने बताए ।

‘हामी निरन्तर सहभागिता जनाइरहेका छौं । यस्तो सहभागिताले नाफाघाटा भन्दा पनि नेपालको बौद्ध धर्म र हाम्रा पराम्पराका बारेमा जानकारी दिन पाउँछौं । नेपाली थाङ्काको पनि राम्रै बजार छ यहाँ ’ उनले भने ।

धेरै कोरियालीलाई नेपाल बुद्ध जन्मेको देश हो भनेर भन्ने पनि थाहा नभएको सोल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दार्जे लामाको अनुभव छ ।

‘म लामो सयमदेखि कोरियाको बौद्धमार्गीहरुसँग सहकार्य गरेर काम गरिरहेको छु । धेरैलाई हाम्रो देशमा बुद्ध जन्मेको भन्ने नै थाहा छैन । त्यसैले यस्तो ठूलो एक्स्पोमा हामीले हाम्रो देशको बारेमा भन्न सके नेपालमा धार्मिक पर्यटन भित्रिनसक्ने सम्भावना छ । यस्तो ठूलो एक्स्पोहरुमा हाम्रो सरकारी पक्षबाटै चासो दिनुपर्छ,’ लामाले भने ।

कोरियामा सन् २०१५ को जनगनणा अनुसार देशको जनसंख्याको १९ प्रतिशत अर्थात ७६ लाख मानिस बौद्ध धर्मालम्बी भएको तथ्यांक छ । आधाभन्दा बढी जनता कुनै पनि धर्म नमान्ने कोरियामा इसाई धर्मपछि दोस्रो ठूलो धर्मको रुपमा बौद्ध धर्म रहेको छ । कोरियाली बौद्ध पराम्परा र विश्वमा भइरहेको बौद्ध धर्मका विभिन्न पक्षलाई प्रर्दशनीमा राख्ने प्रयास भएको बुद्धिजम एक्स्पोका आयोजक जोगे अर्डर अफ कोरियन बुद्धिजमले जनाएको छ ।

एक्स्पोमा कोरियाली बौद्ध गुरुहरुले सम्बोधन गरेका थिए भने कोरियाली व्यान्डहरुले लाइभ सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरेका थिए । कान्तिपुरमा प्रकाशित

Share

Related posts

Leave a Comment