गान्धार बौद्ध सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा भियतनाम-पाकिस्तान सहकार्य

४ मंसिर, काठमाडौं : प्राचीन बौद्ध सभ्यता र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भियतनाम र पाकिस्तानबीच सहकार्यको पहल अघि बढेको छ । पाकिस्तानमा जारी गान्धार संवाद २०२६ का क्रममा भियतनामी बौद्ध सङ्घ र भियतनामी दूतावासले गान्धार क्षेत्रका बौद्ध सम्पदाको संरक्षण, अध्ययन तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहकार्यको प्रस्ताव अघि सारेका हुन् ।

पाकिस्तानमा नोभेम्बर १७ देखि २० सम्म सञ्चालन भइरहेको संवादमा आठ देशका प्रतिनिधि सहभागी छन् । कार्यक्रममा बौद्ध धर्मको ऐतिहासिक विकास, गान्धार सभ्यताको सांस्कृतिक महत्व, पुरातात्त्विक सम्पदाको संरक्षण र बौद्ध तीर्थस्थललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनसँग जोड्ने विषयमा छलफल भइरहेको छ ।

भियतनामी बौद्ध सङ्घका प्रतिनिधि थिच मिन्ह क्वाङको नेतृत्वमा सहभागी टोलीले गान्धार बौद्ध सम्पदा पाकिस्तानको मात्र नभई सम्पूर्ण एसियाली बौद्ध इतिहास र सभ्यताको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेको छ । उनले बौद्ध सङ्घसंस्था, संग्रहालय, अनुसन्धान केन्द्र तथा विद्वान्हरूबीच आपसी आदानप्रदान विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । साथै, नेपालमा जस्तै बौद्ध सम्पदासँग जोडिएका धार्मिक तथा सांस्कृतिक गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखेका छन् ।

भियतनामका राजदूत फाम आन तुआन र पाकिस्तानका राष्ट्रिय सम्पदा तथा संस्कृति मन्त्री औरङजेब खान खिचीबीच भएको छलफलमा दुवै देशका बौद्ध धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने सम्भावनाबारे पनि विचारविमर्श भएको छ । पाकिस्तानका तक्षशिला, तख्त–ए–बाही र स्वात क्षेत्रका प्राचीन बौद्ध स्थललाई भियतनामका बौद्ध धार्मिक गन्तव्यसँग जोडेर संयुक्त तीर्थयात्रा, अध्ययन भ्रमण तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने प्रस्ताव अघि सारिएको छ

गान्धार संवादमा सम्पदा संरक्षणसँगै बौद्ध तीर्थयात्रीका लागि सहज यात्रा व्यवस्था, भिसा प्रक्रिया सरलीकरण, धार्मिक स्थलसम्म पहुँच, अनुसन्धान सहकार्य तथा ऐतिहासिक बौद्ध ग्रन्थ र पाण्डुलिपिको संरक्षणलाई समेत प्राथमिकतामा राखिएको छ । पाकिस्तानले गान्धार सभ्यतालाई विश्वव्यापी बौद्ध सम्पदाका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउने लक्ष्य लिएको छ । यस सहकार्यले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्नुका साथै एसियाली बौद्ध सम्पदाको संरक्षण र अन्तर्राष्ट्रिय प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment