रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित डिंगरनगरस्थित अन्तराष्ट्रिय बुद्ध परियत्ती उदय विहारमा १० दिने दुर्लभ प्रवज्या सुरु भएको छ । विहारमा कात्तिक ५ गतेदेखि दुर्लभ प्रवज्या सुरु भएको विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले जानकारी दिए । दुर्लभ प्रवज्याका सहभागि कात्तिक ४ गते नै विहारमा जम्मा भएका थिए ।
१० दिने दुर्लभ प्रवज्यामा श्रामणेर प्रवज्या, उपसम्पदा, भिक्षु दीक्षा लिने, ध्यानको अभ्यास, धर्म उपदेश श्रवण गर्ने, भिक्षाटान र शान्ति पदयात्रा लगायत गरिने विहारका प्रमुख भिक्षु ज्ञानेन्द्रले बताए । यसपटक कोरोना संक्रमणका कारण प्रवज्यामा सहभागि हुनेको संख्या केही कम भएको छ । यो पटक २७ भिक्षु तथा ११ अनागरिका गरी ३८ जनाले दुर्लभ प्रवज्यामा सहभागिता जनाएका छन् । पूर्णिमाको तिथिमा ३ महिने वर्षावास समापनसँगै दुर्लभ प्रवज्या सम्पन्न हुनेछ ।




