सरोकारवालाहरुले डोल्पाको गुम्वाहरुमा भइरहेको मूर्ति चोरी र गुम्वाहरुको संरक्षण सम्बन्धनका लागि पुरातत्व बिभागको ध्यानाकर्षण गराएका छन् । डोल्पाको याङजेर गुम्वाबाट २८ थान मूर्ति चोरी भइ फेला परेको १४ बर्ष पूरा भएको अवसरमा पुरातत्व विभागमा सरोकारवालाहरुले नेपालको ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भीर हुन ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा सरोकारवालाहरुले मूर्ति तस्करमाथि आवश्यक छानविन गरि दोषीलाई कारवाही गर्नुपर्ने, उपल्लो डोल्पाको साविकका सल्दाङ, धो–फोक्सन्डो, भिजेर तिन्जे, छार्का र मुकोटमाा स्थायी चौकीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । माथिल्लो डोल्पामा शैक्षिक, स्वास्थ्य तथा यातायात लगाएतका बिभिन्न बिकासका पूर्वाधारहरुमा पछाडि पारिएकाले धेरै आपराधिक क्रियाकलाप बढ्न थालेको डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले बताउनुभयो । मुर्ति चोर्नका लागि अत्याधुनिक हतियार सहित आउने गरेकाले पहिलो प्राथमिकता सुरक्षा नै भएको उहाँको भनाई छ ।
कार्यक्रमा बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुँवरले डोल्पामा मुर्तिहरुको सूचिकरण गर्दा सहजीकरण गर्न आग्रह गर्नुभयो । उहाँले हिमाली भेगको मुर्तिहरुको सूचिकरण कार्य आगामी बर्षबाट सुरु हुने जानकारी दिनुभयो ।
डोल्पामा सन २००५ मा याङजेर गुम्वाबाट २८ थान मूर्ति चोरी भएको थियो । त्यसपछि पटक पटक मूर्ति चोरी हुने क्रम जारी रहेको डोल्पावासीको गुनासो छ ।