बुद्धले थालनी गरेको सोवा रिग्पा उपचार पद्धतीलाई सरकारले प्रवद्र्धन गर्ने

उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले करिब २६ सय वर्षअघि भगवान गौतम बुद्धले थालनी गर्नुभएको सोवा रिग्पा स्वास्थ्य उपचार पद्धतिलाई मूल उपचार प्रणालीको रुपमा विकसित गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ ।

सोवा रिग्पा एशोसिएसन नेपालका अध्यक्ष आम्ची डा तेन्जीङ धार्के गुरुङ्ग (गुगे) को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चरजस्तै सोवा रिग्पालाई पनि राज्यले वैकल्पिक तथा पूरक चिकित्सा पद्दतिको रुपमा महत्व दिँदै स्वास्थ्य ऐन २०७५ र विभिन्न स्वास्थ्यसम्बन्धी नीतिहरुमा व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

ज्ञापनपत्रमा नेपालको संविधान संशोधन गर्दा धारा ५१ मा स्पष्ट रूपमा सोवा रिग्पा उपचार पद्धति उल्लेख गर्न छिमेकी मुलुकमा जस्तै नेपालमा पनि सोवा रिग्पा, होमियोप्याथिक, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर लगायतलाई समेटेर वैकल्पिक वा पूरक मेडिकल काउन्सिल, विभाग, अस्पताल स्थापना गर्न माग गरिएको छ ।

हिमाली भेगलगायत ७७ वटै जिल्लामा जिल्ला सोवा रिग्पा सेवा केन्द्र स्थापना गर्न, सातै प्रदेशमा सोवा रिग्पासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न तथा प्रदेश सरकारहरूलाई यस विषयमा नीति तथा कार्यक्रम ल्याउन निर्देशन दिएर ग्रामीण क्षेत्रका जनतामा आफ्नो क्षेत्रका जडीबुटी संरक्षण र सङ्कलनमा हौसला बढाउन आवश्यक रहेको बताइएको छ । सोवा रिग्पा औषधिलाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने र माध्यामिक तहको पाठ्यक्रममा समावेश गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ ।

सोवा रिग्पा उपचार पद्धति हिमाली भू–भागमा बढी प्रख्यात छ भने हाल काठमाडौँलगायतका अन्य शहरमा विस्तार हुन थालेको छ । हिमाल, पहाड, तराईमा यसका प्रयोगकर्ता बढ्न थालेका छन् । पछिल्लो तथ्याङ्कअनुसार हिमालमा ९० प्रतिशत, पहाडमा ३० देखि ४० प्रतिशत र तराईमा २० प्रतिशत जनता अहिले पनि यस उपचार पद्दतिका प्रयोगकर्ता रहेका एशोसिएशनले जनाएको छ ।

Share

Related posts

Leave a Comment