भुटानको टाइगर नेष्ट मन्दिर अत्यन्त पवित्र बौद्ध मन्दिरमध्ये एक हो । स्थानियहरु यो मन्दिरलाई ‘तक्षाङ मोनाष्ट्री’को नामले चिन्दछन् । तर अग्लो चट्टानी पहाडमा टाँसिएको तक्षाङ मोनाष्ट्री जान–आउन त्यती सहज छैन । ‘तक्षाङ मोनाष्ट्री’ समुन्द्र सतहभन्दा ३ हजार १ सय २० मिटरको उचाईमा छ । भुटानको पारो शहर पुगेपछि मन्दिरतर्फको वास्तविक यात्रा शुरु हुन्छ ।
पारोबाट करिब १२ किलोमिटरको उकालो चढेपछि मन्दिर पुगिन्छ । पारो शहरबाट उकालो चढ्न थालेपछि बाटोमा प्रशस्तै मनोरम दृष्यको अवलोकन गर्न सकिन्छ । बाटोमा भेटिने यो झरनालाई प्रायः यात्रुले श्रद्धापूर्वक पुजा तथा परिक्रमा पनि गर्दछन् । उनीहरु यो झरनालाई बौद्ध धर्मसँग जोडेर हेर्ने गर्दछन् । मन्दिर यात्रामा बाटोसँगै लगाइएका बुद्धको प्रतिमा अंकित ध्वजा–पताकाहरु पनि तक्षाङ मोनाष्ट्रीसम्मका सहयात्री हुन् । यात्राले आधा दुरी पार नगर्दौ बाटैमा एउटा प्रार्थना स्थल पुगिन्छ । त्यहाँ पुराना बोतल पुनः प्रयोग गरेर बनाइएका माने घुमाउदै तथा मन्त्र उच्चारण गर्दै परिक्रमा गर्ने चलन छ ।
भुटानमा बिदेशी पर्यटकका लागि साह्रै थोरै स्थानमात्र खुला गरिएका छन् । त्यस्ता स्थान मध्ये तक्षाङ मोनाष्ट्री पनि एक हो । यात्रालाई मन्दिर नजिकै रहेको भ्यूप्वाइन्टले अझ रोमाञ्चक बनाउँछ । त्यहाँबाट तक्षाङ मोनाष्ट्रीको दर्शन मात्र हुदैन, त्यहाँ रहेका मनमोहक दृष्यको अवलोकन समेत गर्न सकिन्छ । ढुंगाका कलात्मक आकृति अंकित स–साना मन्दिरहरु रहेको तक्षाङ मोनाष्ट्री क्षेत्र पर्यटकीय गन्तब्य हो ।