१२ मंसिर, काठमाडौं : विश्व बौद्ध संघ (डब्लुबीएससी) स्थापनाको ६०औँ वार्षिकोत्सव तथा ११औँ महासभाअन्तर्गत दोस्रो कार्यकारी समिति बैठक शनिबारदेखि श्रीलङ्कामा सुरु भएको छ । नोभेम्बर २८ देखि डिसेम्बर २ सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी, बौद्ध विद्वान् तथा प्रतिनिधिहरू सहभागी भइरहेका छन् ।
श्रीलङ्काको केलानियास्थित नागानन्द अन्तर्राष्ट्रिय बौद्ध अध्ययन संस्थानमा आयोजित सम्मेलनको उद्घाटन राष्ट्रपति अनुरकुमार दिसानायकेको संरक्षणमा हुने कार्यक्रम छ । आयोजकका अनुसार थेरवाद, महायान र वज्रयान परम्परासँग सम्बन्धित ५० भन्दा बढी देशका प्रतिनिधिहरूलाई सम्मेलनमा आमन्त्रण गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सहभागी गरी ६०० भन्दा बढी विदेशी पाहुना र श्रीलङ्काका करिब पाँच हजार महा संघका सदस्य सहभागी हुने अपेक्षा गरिएको छ ।
सन् १९६६ मा श्रीलङ्काको कोलम्बोमा स्थापना भएको विश्व बौद्ध संघले विश्वभरका बौद्ध भिक्षु तथा विभिन्न बौद्ध परम्परालाई एउटै साझा मञ्चमा जोड्दै आएको छ । बौद्ध धर्मका विभिन्न सम्प्रदायबीच एकता, आपसी समझदारी र सहकार्य विस्तार गर्नुका साथै बुद्धका शिक्षाको संरक्षण तथा प्रचारप्रसार गर्नु संघको प्रमुख उद्देश्य हो । यस संस्थाले थेरवाद, महायान र वज्रयान परम्पराका बौद्ध समुदायबीच अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसपटकको वार्षिकोत्सवमा संघको छ दशक लामो यात्राको समीक्षा गर्नुका साथै विश्व बौद्ध समुदायको आगामी दिशा, अन्तर्राष्ट्रिय सहकार्य र धर्मदूत गतिविधिबारे छलफल हुने कार्यक्रम छ । सम्मेलनअन्तर्गत नोभेम्बर २९ मा कार्यकारी समिति बैठक तथा शैक्षिक गोष्ठी आयोजना गरिनेछ ।
सम्मेलनका अवसरमा नोभेम्बर ३० मा अनुराधापुरस्थित ऐतिहासिक जयश्री महाबोधिमा विश्वशान्तिको कामनासहित विशेष धार्मिक पूजा आयोजना गरिनेछ । त्यस्तै, डिसेम्बर १ मा अनुराधापुरको रुवानवेलिसेया स्तूप तथा क्यान्डीस्थित पवित्र दाँत धातु मन्दिरमा विशेष धार्मिक कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव समापन गरिने कार्यक्रम छ ।
विश्व बौद्ध संघको यस ऐतिहासिक सम्मेलनले विभिन्न देश र बौद्ध परम्पराका धर्मगुरुबीच संवाद, सहकार्य र एकता अभिवृद्धि गर्नुका साथै विश्वशान्ति, करुणा र अहिंसाको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने अपेक्षा गरिएको छ । साथै, श्रीलङ्काको ऐतिहासिक बौद्ध सम्पदा र धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न पनि सम्मेलनले योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन् ।


