पालिदेखि तिब्बती भाषासम्म बुद्धवचन पाठ, लुम्बिनीको अन्तर्राष्ट्रिय कार्यक्रमको भिडियो सार्वजनिक

१२ मंसिर, काठमाडौं : बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रमको गतिविधि समेटिएको भिडियो सार्वजनिक गरिएको छ । पाल थुब्तेन शेड्रुब लिङ (हजार स्वर्ण बुद्ध मन्दिर) ले नोभेम्बर २६ मा कार्यक्रमका विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि समेटिएको भिडियो सार्वजनिक गरेको हो ।

नोभेम्बर १ देखि ७ सम्म सञ्चालन भएको उक्त कार्यक्रममा विश्वका ५० भन्दा बढी देशबाट एक हजारभन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी तथा गृहस्थ साधक सहभागी भएका थिए । तिब्बती बौद्ध परम्पराको महत्वपूर्ण पर्व ल्हाबाब दुछेनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न बौद्ध परम्परा र समुदायका अनुयायीहरू एकै स्थानमा भेला भई भगवान् गौतम बुद्धका उपदेश तथा शिक्षाहरू सामूहिक रूपमा पाठ गरेका थिए ।

कार्यक्रममा पालि, संस्कृत, चिनियाँ, तिब्बती, मङ्गोलियन, भियतनामी, अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन एकैसाथ वाचन गरिएको थियो । विशेषगरी बुद्धका शिक्षालाई विभिन्न भाषामार्फत विश्व समुदायसम्म पुर्‍याउने र बौद्ध परम्पराहरूबीच आपसी एकता, सहकार्य तथा आध्यात्मिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको नेतृत्व प्रसिद्ध बौद्ध गुरु छोकी निमा रिन्पोछेले गरेका थिए । बुद्धवचन पाठसँगै ४६औँ वार्षिक शरदकालीन धर्मशिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा छोकी निमा रिन्पोछेसहित विभिन्न बौद्ध परम्पराका गुरुहरूले धर्मोपदेश, बौद्ध दर्शन र साधनासम्बन्धी शिक्षाहरू प्रदान गरेका थिए ।

ल्हाबाब दुछेनको पावन अवसरमा शेनफेन नेपाल तथा मलेसियाका बौद्ध साधकहरूको सहयोगमा स्थानीय सयौँ विपन्न परिवारलाई चामल तथा नगद सहयोगसमेत वितरण गरिएको थियो । बुद्धवचन पाठ सम्पन्न भएपछि रिन्पोछे तथा भिक्षु–भिक्षुणीहरूले विभिन्न धार्मिक पूजाआजा र पुण्यकार्य सञ्चालन गरेका थिए ।

यसैगरी, कार्यक्रममा तारा साधनासम्बन्धी बाह्य, आन्तरिक तथा गोप्य अभिषेक प्रदान गरिएको थियो । त्यसपछि आयोजित एक साताको अन्तर्राष्ट्रिय आवासीय साधना शिविरमा विश्वका विभिन्न देशबाट आएका १२५ भन्दा बढी साधक सहभागी भएका थिए । उनीहरूले गुरुहरूको मार्गदर्शनमा गोप्य तारा साधना तथा ध्यान अभ्यास गरेका थिए ।

आयोजकका अनुसार लुम्बिनीमा सम्पन्न यस कार्यक्रमले बुद्धका मूल शिक्षाको संरक्षण, अन्तर्राष्ट्रिय बौद्ध समुदायबीच सम्बन्ध विस्तार, विश्वशान्ति र सम्पूर्ण प्राणीको सुख तथा कल्याणका लागि सामूहिक प्रार्थना गर्ने अवसर प्रदान गरेको छ । बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन, साधना र धार्मिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा प्रवर्द्धन गर्नसमेत कार्यक्रमले योगदान पुर्‍याएको छ ।

Share

Related posts

Leave a Comment