के–पप र हिपहप नृत्यमार्फत युवापुस्तालाई बौद्ध धर्मसँग जोड्दै दक्षिण कोरियाली भिक्षु

२ कार्तिक: परम्परागत धार्मिक अभ्यास र आधुनिक सांस्कृतिक अभिव्यक्तिबीचको दूरी कम गर्दै युवापुस्तालाई बौद्ध धर्मतर्फ आकर्षित गर्ने नयाँ प्रयास दक्षिण कोरियामा देखिएको छ। दक्षिण कोरियाका बौद्ध भिक्षु भन्ते देओक्सानले के–पप र हिपहप शैलीको नृत्यमार्फत बौद्ध धर्मको सन्देश युवामाझ पुर्‍याउने अभियान सञ्चालन गरिरहेका छन्। बौद्ध महोत्सव तथा विभिन्न सार्वजनिक कार्यक्रममा उनले प्रस्तुत गर्ने नृत्यले युवा पुस्ताको ध्यान खिचिरहेको छ।

पूर्वप्रहरी निरीक्षकसमेत रहेका भन्ते देओक्सानले सांसारिक जीवन त्यागेर बौद्ध भिक्षु जीवन अपनाएका हुन्। उनले आफ्नो विगतको अनुभव र आधुनिक सांस्कृतिक शैलीलाई जोड्दै धर्मप्रति युवाहरूको रुचि बढाउने प्रयास गरिरहेका छन्। विशेषगरी युवापुस्ताले मन पराउने के–पप संगीत, हिपहप र नृत्यलाई माध्यम बनाएर बौद्ध शिक्षालाई नयाँ पुस्तासम्म पुर्‍याउन सकिने उनको अभ्यासले देखाएको छ।

उनी दक्षिण कोरियाको सबैभन्दा ठूलो बौद्ध संस्था जोग्ये अर्डरसँग आबद्ध जाजाएम मन्दिरका प्रमुख भिक्षु हुन्। सन् १९६४ मा जन्मिएका ६२ वर्षीय देओक्सानले १६ वर्ष प्रहरी सेवामा बिताएपछि ४० वर्षको उमेरमा भिक्षु जीवन अपनाएका थिए। सन् २००२ मा बौद्ध सङ्घमा प्रवेश गरेका उनले नृत्यलाई केवल मनोरञ्जन नभई आत्मअनुशासन, नयाँ कुरा सिक्ने अभ्यास र धर्म प्रचारको माध्यमका रूपमा लिएका छन्।

उनले सन् २०२६ को अप्रिलमा सियोलमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध प्रदर्शनीमा दक्षिण कोरियाली गायक जी–ड्रागन र तायाङको चर्चित गीत ुगुड ब्वाइु मा नृत्य प्रस्तुत गरेपछि व्यापक चर्चा पाएका थिए। त्यसपछि मे महिनामा कमल दीप महोत्सवका क्रममा माइकल ज्याक्सनको चर्चित गीत ुबिली जिनु को नृत्य प्रस्तुत गरे। उनका नृत्यका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। विभिन्न सञ्चारमाध्यमका अनुसार उनका प्रस्तुतिले सामाजिक सञ्जालमा करोडौँ पटक हेरिएको प्रतिक्रिया पाएका छन् ।

यद्यपि, उनको यो शैलीलाई लिएर सबैको प्रतिक्रिया सकारात्मक भने छैन। केहीले बौद्ध भिक्षुको परम्परागत अनुशासन र मर्यादासँग आधुनिक पप तथा हिपहप नृत्य नमिल्ने भन्दै आलोचना गरेका छन्। तर जोग्ये अर्डरका नेतृत्वबाट उनले समर्थन पाएका छन्। देओक्सानका अनुसार आधुनिक माध्यमबाट युवापुस्तालाई बौद्ध शिक्षासँग परिचित गराउनु उनको मुख्य उद्देश्य हो। उनले आगामी दिनमा र्‍याप सङ्गीतमार्फत पनि बुद्धका शिक्षा, आत्मप्रेम, सकारात्मक सोच र जीवनका चुनौती सामना गर्ने सन्देश प्रवाह गर्ने योजना बनाएका छन् ।

यस प्रकारको प्रयास दक्षिण कोरियामा विकसित हुँदै गएको ुहिप बौद्ध धर्मु अर्थात् आधुनिक लोकप्रिय संस्कृतिमार्फत बौद्ध धर्मको प्रचार गर्ने अभियानको एउटा उदाहरण हो। पछिल्लो समय बौद्ध संस्थाहरूले सङ्गीत, नृत्य, सामाजिक सञ्जाल र युवा महोत्सवलाई धर्मसँग जोड्ने माध्यम बनाइरहेका छन्। धार्मिक आबद्धता घट्दै गएको अवस्थामा परम्परागत उपदेशभन्दा युवाले रुचाउने शैलीमा बुद्धका शिक्षा प्रस्तुत गर्नु नयाँ पुस्तालाई धर्मसँग जोड्ने प्रभावकारी उपाय हुन सक्ने विश्लेषण गरिएको छ।

Share

Related posts

Leave a Comment