लुम्बिनीमा ताराको त्रिगुण साधनासहित अन्तर्राष्ट्रिय बौद्ध ध्यान तथा तीर्थयात्रा कार्यक्रम

१ मंसिर,लुम्बिनी: बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध साधना, धर्मशिक्षा, अभिषेक तथा तीर्थयात्रासम्बन्धी विशेष कार्यक्रम सञ्चालन भइरहेको छ। नोभेम्बर ११ देखि २५ सम्म लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ (थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल) मा आयोजना गरिएको ताराज ट्रिपल एक्सिलेन्स (टीटीई), कार्यक्रममा विभिन्न देशका बौद्ध धर्मगुरु, भिक्षु, भिक्षुणी तथा साधकहरू सहभागी भइरहेका छन्। ताराज ट्रिपल एक्सिलेन्स कार्यक्रमअन्तर्गत आयोजना गरिएको यस धार्मिक गतिविधिले बौद्ध दर्शन, ध्यान र आध्यात्मिक अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

कार्यक्रमको पहिलो चरण नोभेम्बर ११ देखि १३ सम्म प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा सञ्चालन भएको थियो। यस चरणमा रिन्पोछेले तारासम्बन्धी बाह्य, आन्तरिक तथा गोप्य अभिषेक प्रदान गर्नुका साथै बौद्ध धर्मशिक्षा दिएका थिए। तिब्बती भाषामा सञ्चालन गरिएको शिक्षण तथा अभिषेक कार्यक्रमलाई सहभागीहरूको सहजताका लागि अङ्ग्रेजी, चिनियाँ, रुसी र नेपाली भाषामा अनुवादको व्यवस्था गरिएको थियो। यसले विभिन्न भाषिक तथा सांस्कृतिक पृष्ठभूमिका बौद्ध साधकलाई एउटै आध्यात्मिक अभ्यासमा सहभागी हुने अवसर प्रदान गरेको छ।

कार्यक्रमको दोस्रो चरण नोभेम्बर १५ देखि २१ सम्म सञ्चालन भइरहेको छ। यस चरणमा ड्रुप्पोन लामा तेन्जिन साङ्पोको मार्गदर्शनमा गोप्य तारा साधनासम्बन्धी सातदिने ध्यान तथा साधना शिविर आयोजना गरिएको छ। यस अभ्यासमा तारासम्बन्धी बौद्ध साधना, मन्त्र, ध्यान र आध्यात्मिक अनुशासनलाई विशेष महत्व दिइएको छ। तिब्बती वज्रयान बौद्ध परम्परामा तारालाई करुणा, संरक्षण र प्रज्ञाको प्रतीकका रूपमा लिइन्छ। विशेषगरी हरित ताराको साधनालाई भय, बाधा र मानसिक अशान्तिबाट मुक्ति प्राप्त गर्ने आध्यात्मिक अभ्यासका रूपमा महत्व दिइन्छ।

कार्यक्रमको अन्तिम चरण नोभेम्बर २२ देखि २५ सम्म चारदिने बौद्ध तीर्थयात्राका रूपमा सञ्चालन हुने तय गरिएको छ। ड्रुप्पोन लामा तेन्जिन साङ्पोको नेतृत्वमा हुने उक्त यात्रामा बुद्धको जीवन र बौद्ध इतिहाससँग सम्बन्धित विभिन्न पवित्र स्थलहरूको भ्रमण गरिनेछ। तीर्थयात्राका क्रममा प्राचीन कपिलवस्तु, रामग्राम स्तूप, चुमिक चाङ्छुप अर्थात् जागरणको मुहान र काठमाडौं नजिकैको फर्पिङस्थित स्वयम्भू उत्पन्न ताराको पवित्र स्थल पुग्ने कार्यक्रम छ। यस यात्राले बुद्धको जीवनसँग सम्बन्धित ऐतिहासिक स्थल र हिमाली बौद्ध परम्पराका महत्वपूर्ण धार्मिक गन्तव्यबीच आध्यात्मिक सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।

लुम्बिनीमा आयोजना भइरहेको यस कार्यक्रमले बुद्धको जन्मभूमिलाई अन्तर्राष्ट्रिय बौद्ध शिक्षा, ध्यान र साधनाको साझा केन्द्रका रूपमा विकास गर्न योगदान पुर्‍याउने विश्वास गरिएको छ। विभिन्न देशका साधकलाई एकै स्थानमा भेला गराएर धर्मशिक्षा, ध्यान र तीर्थयात्राको अवसर प्रदान गर्नुका साथै बौद्ध परम्पराबीचको आपसी सम्बन्ध र सांस्कृतिक आदानप्रदानलाई समेत प्रोत्साहन गरेको छ। यस्ता कार्यक्रमले लुम्बिनीको धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नेपाललाई विश्व बौद्ध समुदायको महत्वपूर्ण आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share

Related posts

Leave a Comment