२६ कार्तिक, काठमाडौं : अन्तर्राष्ट्रिय रूपमा परिचित बौद्ध धर्मगुरु तथा ध्यान गुरु योङ्गे मिंग्युर रिन्पोछेको ५०औँ जन्मोत्सव आगामी नोभेम्बर २० मा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । उहाँको जन्मोत्सवलाई टेर्गर ध्यान समुदायले ‘५० वर्षको प्रबुद्ध आध्यात्मिक यात्रा’ भन्ने नारासहित मनाउने तयारी गरेको छ । यस अवसरमा विश्वका विभिन्न देशमा रहेका उहाँका अनुयायी, बौद्ध साधक तथा ध्यान समुदायका सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
मिंग्युर रिन्पोछे तिब्बती बौद्ध धर्मको काग्यु र निङमा परम्पराका प्रतिष्ठित धर्मगुरु हुनुहुन्छ । उहाँले बौद्ध दर्शन, ध्यान, मानसिक शान्ति र सचेतनासम्बन्धी शिक्षालाई सरल भाषामा विश्व समुदायसमक्ष प्रस्तुत गर्दै आउनुभएको छ । विशेषगरी ध्यानलाई दैनिक जीवनसँग जोडेर अभ्यास गर्ने तरिका सिकाउने उहाँको शैलीका कारण अन्तर्राष्ट्रिय स्तरमा उहाँको पहिचान स्थापित भएको छ ।
रिन्पोछेले बाल्यकालदेखि नै बौद्ध दर्शन र ध्यानको गहन अध्ययन गर्नुभएको थियो । उहाँले परम्परागत बौद्ध दर्शन, मनोविज्ञान तथा ध्यान अभ्यासको शिक्षा प्राप्त गर्नुभएको छ । १७ वर्षको उमेरमै उहाँलाई आफ्नो गुम्बाको तीनवर्षे ध्यान साधना केन्द्रमा शिक्षकको जिम्मेवारी दिइएको थियो । सन् २०११ मा भारतको बोधगयास्थित गुम्बा छाडेर उहाँले हिमालय तथा भारतका विभिन्न क्षेत्रमा साढे चार वर्ष लामो एकान्त भ्रमण तथा ध्यान साधना गर्नुभएको थियो ।
जन्मोत्सवका अवसरमा नोभेम्बर २० मा अन्तर्राष्ट्रियस्तरको अनलाइन कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा टेर्गर इन्स्टिच्युटका जस्टिन केली र टेर्गर एसियाकी एलिजा च्युङले स्वागत मन्तव्य राख्ने कार्यक्रम छ । त्यसैगरी, काठमाडौं उपत्यकास्थित टेर्गर ओसेल लिङ गुम्बाका खेन्पो पेमा वोजरले विश्वव्यापी ध्यान अभ्यासको नेतृत्व गर्नुहुनेछ । विश्वका विभिन्न स्थानबाट प्राप्त जन्मोत्सव शुभकामना भिडियो तथा समापन प्रार्थना पनि कार्यक्रममा समावेश गरिने आयोजकले जनाएको छ । नेपाल समयअनुसार कार्यक्रम राति ८ः४५ बजे सुरु हुनेछ । कार्यक्रम निःशुल्क हुनेछ र सहभागी हुन पूर्वदर्ता आवश्यक पर्ने छैन ।
मिंग्युर रिन्पोछेको मार्गदर्शनमा सञ्चालित टेर्गर समुदायले नेपाल र भारतका गुम्बा, ध्यान केन्द्र, शैक्षिक संस्था, वातावरण संरक्षण तथा मानवीय सेवासम्बन्धी परियोजनामार्फत विभिन्न देशमा काम गर्दै आएको छ । उहाँका ‘द जोय अफ लिभिङ’ र ‘इन लभ विथ द वर्ल्ड’ लगायतका पुस्तकले पनि अन्तर्राष्ट्रिय पाठकमाझ लोकप्रियता हासिल गरेका छन् । ध्यान, करुणा, सचेतना र आन्तरिक शान्तिको अभ्यासलाई विश्वव्यापी रूपमा विस्तार गर्न उहाँले पुर्याउनुभएको योगदानको सम्मानस्वरूप जन्मोत्सवलाई विशेष आध्यात्मिक उत्सवका रूपमा मनाउन लागिएको हो ।

