२६ कार्तिक : जापानमा बौद्ध दर्शन, बुद्धका उपदेश तथा आध्यात्मिक शिक्षालाई नयाँ पुस्तामाझ पुर्याउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत धार्मिक शिक्षा र आधुनिक प्रविधिबीच सम्बन्ध स्थापित गर्ने उद्देश्यले जापानका बौद्ध समुदाय तथा प्रविधि विकासकर्ताले एआईमा आधारित संवादात्मक सेवा, डिजिटल अध्ययन सामग्री र भर्चुअल सहायक विकास गरिरहेका छन् । यस्ता प्रविधिले बौद्ध दर्शनमा रुचि राख्ने व्यक्तिलाई जुनसुकै समयमा आफ्नो जिज्ञासा राख्न र बुद्धका शिक्षाबारे जानकारी लिन सहज बनाउने अपेक्षा गरिएको छ ।
जापानमा चर्चामा आएको ‘बुद्धबोट प्लस’ यस्तै एक एआईमा आधारित संवादात्मक सेवा हो । यसमार्फत प्रयोगकर्ताले स्मार्टफोन तथा डिजिटल उपकरणबाट बुद्धका उपदेश, बौद्ध दर्शन, जीवनका समस्या र नैतिक आचरणसम्बन्धी प्रश्न सोध्न सक्छन् । प्रणालीले बौद्ध ग्रन्थमा आधारित सामग्रीको सहायताले प्रश्नको जवाफ दिने तथा कठिन धार्मिक विषयलाई सामान्य भाषामा बुझाउने प्रयास गर्छ । यसले विशेषगरी बौद्ध दर्शनबारे प्रारम्भिक जानकारी लिन चाहने युवा तथा प्रविधिमैत्री पुस्तालाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।
यस प्रविधिको विकास क्योटो विश्वविद्यालयका बौद्ध दर्शनका प्राध्यापक सेइजी कुमागाई र विश्वविद्यालयबाटै स्थापना भएको टेराभर्स नामक प्रविधि कम्पनीको सहकार्यमा गरिएको हो । यसको प्रारम्भिक नमुना सन् २०२१ मा तयार गरिएको थियो भने सन् २०२३ मा च्याटजीपीटी प्रविधिको सहयोगमा विभिन्न बौद्ध ग्रन्थ समावेश गरी विकसित संस्करण सार्वजनिक गरिएको थियो । यसमा समेटिएको ‘सुत्तनिपात’ लगायतका ग्रन्थका आधारमा प्रयोगकर्ताका प्रश्नको जवाफ दिने व्यवस्था गरिएको छ ।
जापानमा बौद्ध शिक्षालाई प्रविधिसँग जोड्ने प्रयास संवादात्मक सेवामा मात्र सीमित छैन । क्योटो विश्वविद्यालयका अनुसन्धानकर्ताले ‘बुद्धारोइड’ नामक कृत्रिम बुद्धिमत्तामा आधारित मानव आकारको रोबोटसमेत विकास गरेका छन् । यसले बौद्ध ग्रन्थका आधारमा मानिसका प्रश्नको जवाफ दिनुका साथै हिँड्ने, बोल्ने र प्रार्थनाका लागि हात जोड्ने गतिविधि गर्न सक्छ । भविष्यमा मन्दिरमा हुने केही धार्मिक गतिविधि तथा भिक्षुहरूले गर्ने काममा सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको ।
यसैगरी जापानमा मन्दिर व्यवस्थापनलाई सहज बनाउन ‘एआई सहायक भिक्षु’ नामक डिजिटल सेवा पनि सञ्चालनमा ल्याइएको छ । यसले मन्दिरमा आबद्ध श्रद्धालु तथा परिवारको विवरण व्यवस्थापन, धार्मिक अनुष्ठान र पूजाको समयतालिका मिलाउने तथा सर्वसाधारणका जिज्ञासाको जवाफ दिने काममा सहयोग गर्छ । यसबाट भिक्षुहरूको प्रशासनिक कामको बोझ घटाई उनीहरूलाई श्रद्धालुसँग प्रत्यक्ष संवाद, धार्मिक शिक्षा र आध्यात्मिक गतिविधिमा बढी समय दिन सहज हुने अपेक्षा गरिएको छ ।
जापानको यो प्रविधिप्रतिको प्रयास अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार हुन थालेको छ । तिब्बती बौद्ध धर्मको प्रभाव रहेको भुटानले सन् २०२५ मा बुद्धबोटलाई बौद्ध शिक्षा तथा अध्ययन सामग्रीका रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । यसले बौद्ध ग्रन्थको अध्ययन, धर्मशिक्षा र नयाँ पुस्तामा बुद्धका उपदेशको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यद्यपि धार्मिक क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोगसँगै यसको विश्वसनीयता, गोपनीयता र नैतिक पक्षबारे पनि प्रश्न उठेका छन् । कृत्रिम बुद्धिमत्ताले कहिलेकाहीँ गलत वा अपूर्ण जानकारी दिन सक्ने तथा प्रयोगकर्ताले व्यक्तिगत समस्या र संवेदनशील विषयमा गरेका संवाद साइबर आक्रमणका कारण सार्वजनिक हुन सक्ने जोखिम रहेको विज्ञहरूले औँल्याएका छन् । त्यसैले बौद्ध दर्शनको सही व्याख्या र आध्यात्मिक मार्गदर्शनमा अनुभवी भिक्षु तथा धर्मगुरुको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ ।

