रसुवा बाढीपीडितका लागि कानिङ सेडुप लिङ गुम्बाबाट ५८ लाखभन्दा बढी सहयोग
दिवंगतहरूको ४९औँ दिनको स्मृतिमा राहत कोषमा रकम हस्तान्तरणसँगै सुगतिको कामना गर्दै विशेष पूजा
काठमाडौँ। रसुवाको भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगार्थ कानिङ सेडुप लिङ गुम्बा संगठन तथा विकास कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५८ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको जनाएको छ।
गुम्बाका प्रमुख श्रद्धेय छोकी ङिमा रिन्पोछे तथा संघका तर्फबाट उक्त रकम प्रदान गरिएको हो। बाढीमा परी ज्यान गुमाएकाहरूको निधनको सातौँ हप्ता अर्थात् ४९औँ दिनको स्मृतिमा दिवंगतहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै सहयोग हस्तान्तरण गरिएको गुम्बाद्वारा जारी विवरणमा उल्लेख छ।

सहयोग हस्तान्तरणका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उपस्थित थिए। अन्तर्राष्ट्रिय शान्ति पदयात्री पूजनीय भिक्षु प्रज्ञाकार तुई नान् (Venerable Bhikkhu Paññākāra Tuệ Nhân) को समेत उपस्थिति रहेको गुम्बाले जनाएको छ।
सो अवसरमा श्रद्धेय छोकी निमा रिन्पोछेको नेतृत्वमा लामा, भिक्षु तथा भिक्षुणीहरूको सहभागितामा दिवंगतहरूको सुगतिको कामना गर्दै विशेष धार्मिक अनुष्ठानसमेत सम्पन्न गरिएको थियो। ‘शिठो कुन्साङ थुग्तिग’ विधिअनुसार पूजा, छोक अर्पण तथा पुण्य समर्पण र प्रणिधान गरिएको विवरणमा उल्लेख छ।
अनुष्ठानमा शोकसन्तप्त परिवारजनले दुःखको यस घडीमा धैर्य र साहस प्राप्त गरून् तथा पुनः शान्तिपूर्ण जीवनयापन गर्न सकून् भन्ने कामना गरिएको थियो। दिवंगतहरूको कल्याण र परिवारजनको शान्तिका लागि बुद्ध, धर्म र संघ अर्थात् त्रिरत्नसमक्ष प्रार्थना गरिएको गुम्बाले जनाएको छ।



