श्रद्धेय अग्गमहापण्डित धर्मचरिय दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको जीवनमा आधारित वृत्तचित्र प्रदर्शन गरिने भएको छ । ९० मिनेट लामो वृत्तचित्र ओभासो फिल्म्सले निर्माण गरेको हो ।
वृत्तचित्र यही आउँदो पुस ३० गते भोलढोका, पाटनस्थित ज्यापु समाजको हलमा प्रदर्शन गरिदैछ । वृत्तचित्र प्रदर्शनीका लागि विहान ९ र ११ बजे दुई शो राखिएको छ भने अपरान्ह १, ३ र ५ बजे पनि वृत्तचित्र प्रदर्शन गरिने छ ।
नेपालका सातौ संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको २०७७ साल असार १९ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । ६ मंसीर १९९६ सालमा पाल्पाको तानसेनमा जन्मिएका सूर्यलाल शाक्य र चन्द्रमाया शाक्यका छोरा हिरालाल शाक्यलाई आमा चन्द्रमायाले भिक्षु बनाउन ११ वर्षको उमेरमा भिक्षु बुद्धघोष महास्थविर अर्थात नेपालका पाँचौं संघ नायकलाई जिम्मा लगाएकी थिइन् ।
बर्मामा बौद्ध काउन्सिलको प्रकाशन संस्थामा औपचारिक सरकारी स्तरमा रही पालि बर्मिज विश्व शब्दकोषको सम्पादन गरेका उनले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरु अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशनमा ल्याएका छन् ।
एशियाका मलेसिया, जापान, साइबेरिया, इन्डोनेशिया, सिंगापुर, श्रीलंका, थाइल्याण्ड तथा युरोप, अमेरिका र अष्ट्रेलिया महादेशसम्म पुगी उनले बुद्ध शिक्षा र ध्यानको प्रचार प्रसार गरेका थिए ।
वृत्तचित्रका लागि ३७५ रुपैयाँ प्रवेश शुल्क राखिएको छ ।
टिकटको लागि सम्पर्क : ९८०४८६०५७२

