नयाँ दिल्ली स् गायिका आनी छोइङ डोल्मा आफ्ना चर्चित गीतका साथ भारतको राजधानी नयाँदिल्लीमा सोमबार गुञ्जिएकी छन्। उनले संगीतकार न्ह्यु वज्राचार्यका साथमा उनले आफ्ना चलेका नम्बर प्रस्तुत गरिन्। साताव्यापी एकल प्रस्तुतिका लागि उनी दिल्ली आइपुगेकी हुन्। उनी मुम्बईबाट आइतबार दिल्ली पुगेकी हुन्।
‘दि वुमन’ नामक सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रममा उनले सांगीतिक प्रस्तुति दिएकी हुन्। यसअघि मुम्बईको जे मेरियट होटलमा पनि उनले सांगीतिक प्रस्तुति दिएकी थिइन्।
दिल्लीको प्रस्तुतिको प्रचार गर्न दिल्लीका चोकचोकमा आनीको तस्बिरसहितका होडिङबोर्ड र तस्बिर टाँगिएका थिए। आनीले विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा आफू सहभागी भएको बताइन्। यसअघि उनी ‘दी इकोनोमिक टाइम्स’ ले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएकी थिइन्।
उनी दिल्लीमा आयोजना हुने महिला सशक्तीकरणसम्बन्धी अन्तरक्रियामा सहभागी हुँदैछिन्। उक्त कार्यक्रममा एसिड आक्रमणबाट बचेकी लक्ष्मी पनि सहभागी हुँदैछिन्। बलिउडका प्रसिद्ध चलचित्र निर्देशक मेघना गुल्जारले लक्ष्मीको जीवनीमा ‘छपक’ नामक चलचित्र समेत निर्माण गरिरहेका छन्। निर्माणाधीन उक्त चलचित्रमा दीपिका पादुकोणले लक्ष्मीको भूमिका निर्वाह गरिरहेकी छन्।
आफ्नो कार्यक्रम सकाएर आनी बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ। अन्नपुर्ण पोष्टबाट