दुई हजार दुई सय मिटरको दुरीमा रहेका काठमाडौं महानगरभित्रका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भूनाथ मन्दिर र हनुमानढोका दरवार क्षेत्रलाई पदयात्राले जोड्नेबारेको गुरुयोजना तयार भएको छ।
विश्व सम्पदा दिवस २०१९ को अवसर पारेर बिहीबार हनुमानढोका दरबार क्षेत्रमा पदयात्राको उक्त गुरुयोजना सार्वजनिक गरिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनका अनुसार, सम्पदा पदयात्राले उक्त दुरीको क्षेत्रभित्रका स्थानीय सांस्कृतिक सम्पदाहरूको प्रवद्र्धन गर्नेछ। ‘स्थानीय जनताको आर्थिक विकासमा टेवा पुर्याउनेदेखि आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने साथै सम्पदाको मूल्यमान्यताबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने लक्ष्य गुरुयोजनामा छ’, उनले भने।
सम्पदा पदयात्राको लम्बाई २.२ किलोमिटर छ। यस आसपासमा करिब २० वटा महत्वपूर्ण सम्पदा स्थलको अवलोकन गर्न सकिने छ। हनुमानढोकाबाट सुरु भएको पदयात्रा काष्ठमण्डप, मरु गणेश, मरु हिटी, सन्तानेश्वर महादेव, मरुबही, मिच्याः गल्ली, बन्जाः हिटी, साः (तेल मिल), चस्वांद्वँ, दमाइ टोल, सुन्ता गल्ली, पाछै गल्ली भएर नरदेवी द्यःछेँ र नरदेवी आयुर्वेदिक अस्पताल पुग्नेछ।
यसैगरी, सामुदायिक (लोकेश्वर) गल्ली, बुरांखेल, म्येछ्यों हिटी, तप्यँताँ, रञ्जित मल्ल सतः घाट, भेलु महादेव, डल्लु चौतारा, निपु हिटी (भीमसेन मन्दिर), धिमे ल्वहं, चारा हिटी, भुइँखेल हुँदै स्वयम्भू पुगेर यात्रा समाप्त हुनेछ। विभिन्न कालखण्डमा निर्माण भएका मन्दिर, बहाःबही, ढुंगेधारा, पाटी, सत्तल आदि जस्ता सम्पदाहरू अवलोकन गर्न सकिने छ।
गुरुयोजनामा महानगरपालिकाले ती सम्पदाहरू पहिचान गर्न विभिन्न संकेत चिन्हहरू राख्ने, स्थानीय घरहरूलाई परम्परागत स्वरुपमा ल्याउने, ठाउँठाउँमा स्थानीयता झल्किने चित्रकला, भित्तेचित्रको प्रदर्शन गर्ने, मार्गमा भएका पाटी, पौवा तथा सत्तलको मर्मत, सम्भार तथा संरक्षण गर्ने कार्य गर्नेछ।
विश्व सम्पदा दिवसकै अवसरमा गत वर्ष वैशाख २ गते पनि सम्पदा मार्गमा यसरी नै पदयात्रासहित कार्यक्रम सञ्चालन गरिएको थियो। सो पदयात्राको तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए।
अन्नपुर्ण पोष्टबाट

