बुद्ध जन्मभूमि लुम्बिनीमा अवस्थित नेपाली वज्रयान विहारमा वज्रधातु मण्डल तथा वज्रसत्वको मूर्तिको जीवन्यास पूजा सम्पन्न भएको छ ।
प्रा. डा. नरेशमान वज्राचार्यको निर्देशनमा भएको उक्त दुबै पूजामा मण्डल तथा मूर्तिलाई परम्परागत बुद्धधर्म अनुसारका भगवान बुद्धको गर्भाधानदेखि पाणी ग्रहणसम्म गरिने दशकर्म गराई प्रतीकात्मक रुपमा जीवन्यास राखेर पूजा गरिएको थियो ।
प्रा. डा. वज्राचार्यले यसप्रकारको पूजा गरिएका मूर्ति तथा मण्डलमा पूजा गर्ने प्रचलन काठमाडौं उपत्यकाका बौद्धहरुहरुमा हजारौं वर्षदेखि चल्दै आएको तथा यसप्रकारको पूजाहरु आज पनि हुनुले नेवार बौद्धहरुमा यस्ता जीवन्त संस्कृतिप्रति श्रद्धा तथा विश्वास अहिले पनि रहिरहेको प्रमाणित भएको बताए ।
धर्मधातु मण्डलका दाता बेखारत्न शाक्यले यस्तो महत्वपूर्ण पूण्यभूमि लुम्बिनीमा स्थापित वज्रयान विहारमा आफुले मण्डल स्थापना गर्नपाउँदा धेरै खुशी लागेको बताएका छन् ।
त्यस्तै वज्रसत्वका दाता सिद्धिरत्न शाक्यले पनि आफ्ना बाजेबराजुहरुको पालादेखि समाजमा धर्मको शासन रहिरहोस् भनेर भन्ने गरेकोमा आफुले वज्रयान विहारमा मूर्ति स्थापना गरेर योगदान गर्न पाउँदा गौरव महशुष गरेको बताए ।
यसका संयोजक तथा रुद्रवर्ण महाविहार समितिका अध्यक्ष पद्मरत्न शाक्यले यस प्रकारको पूण्यकार्यमा सहभागी हुन पाएकोमा आफुहरु धन्य भएको जनाएका छन् ।
२०५८ सालमा नेपाल परम्परागत बौद्ध धर्म संघ स्थापना गरी त्यसैको संयोजनमा लुम्बिनी मोनास्टिक जोनमा नेपालीहरुकै दान दातब्यबाट नेपाली वज्रयान विहार निर्माण भइरहेको छ ।

