३ कार्तिक,काठमाडौं: अमेरिकी अनुसन्धान संस्था प्यु रिसर्च सेन्टरले सार्वजनिक गरेको नयाँ अध्ययनले सन् २०७० सम्म विश्वभर बौद्ध धर्मावलम्बीको जनसङ्ख्या करिब २३ प्रतिशतले घट्न सक्ने अनुमान गरेको छ। संस्थाले नोभेम्बर १८ मा सार्वजनिक गरेको ‘विश्वका धर्महरूको भविष्यः सन् २०२० देखि २०७० सम्मको जनसाङ्ख्यिक प्रक्षेपण’ शीर्षकको अध्ययनले पछिल्लो जनसाङ्ख्यिक प्रवृत्ति निरन्तर रहेमा विश्वको बौद्ध जनसङ्ख्यामा उल्लेखनीय गिरावट आउने देखाएको हो।
अध्ययनअनुसार सन् २०२० मा विश्वभर करिब ३२ करोड ४० लाख बौद्ध धर्मावलम्बी रहेको अनुमान गरिएको थियो। यो सङ्ख्या सन् २०७० सम्म घटेर २५ करोडमा झर्न सक्ने प्रक्षेपण गरिएको छ। यसअनुसार आगामी पाँच दशकमा विश्वको बौद्ध जनसङ्ख्या करिब ७ करोड ४० लाखले घट्नेछ। विश्वको कुल जनसङ्ख्यामा बौद्ध धर्मावलम्बीको हिस्सा पनि सन् २०२० को ४.१ प्रतिशतबाट घटेर सन् २०७० मा २.५ प्रतिशतमा सीमित हुन सक्ने अध्ययनमा उल्लेख छ।
बौद्ध जनसङ्ख्यामा आउने गिरावटको मुख्य प्रभाव एसिया तथा प्रशान्त क्षेत्रका मुलुकहरूमा देखिने अनुमान गरिएको छ। सन् २०२० मा विश्वका कुल बौद्ध धर्मावलम्बीमध्ये ९८ प्रतिशत यही क्षेत्रमा बसोबास गर्थे। चीन, जापान र दक्षिण कोरियामा बौद्ध जनसङ्ख्या आधाभन्दा बढीले घट्न सक्ने अध्ययनले देखाएको छ। त्यस्तै, बौद्ध धर्मावलम्बीको सबैभन्दा ठूलो जनसङ्ख्या रहेको थाइल्यान्डमा समेत सन् २०७० सम्म करिब एक करोड ४० लाख बौद्ध धर्मावलम्बी घट्न सक्ने अनुमान छ।
अध्ययनले बौद्ध जनसङ्ख्या घट्नुका प्रमुख कारणमा कम जन्मदर, वृद्ध जनसङ्ख्याको उच्च अनुपात र धार्मिक पहिचान परिवर्तनलाई औँल्याएको छ। विश्वभरका बौद्ध धर्मावलम्बीमा ६० वर्षभन्दा माथिका व्यक्तिको हिस्सा २२ प्रतिशत रहेको छ, जबकि गैरबौद्ध जनसङ्ख्यामा यो अनुपात १३ प्रतिशत मात्रै छ। त्यस्तै, बौद्ध महिलाको औसत प्रजनन दर प्रतिमहिला १.६ सन्तान रहेको छ, जुन जनसङ्ख्या प्रतिस्थापनका लागि आवश्यक मानिने २.१ भन्दा कम हो। बाल्यकालमा बौद्ध धर्मावलम्बीका रूपमा हुर्किएका व्यक्तिमध्ये १७ प्रतिशतले वयस्क भएपछि उक्त धार्मिक पहिचान कायम नराखेको पनि अध्ययनमा उल्लेख छ।
यद्यपि, प्यु रिसर्च सेन्टरले यो प्रक्षेपणलाई निश्चित भविष्यवाणी नभई हाल देखिएका जनसाङ्ख्यिक प्रवृत्तिमा आधारित अनुमानका रूपमा व्याख्या गरेको छ। युद्ध, महामारी, प्राकृतिक विपत्ति, आर्थिक तथा सामाजिक परिवर्तनजस्ता घटनाले भविष्यको जनसङ्ख्यामा प्रभाव पार्न सक्ने अध्ययनले स्वीकार गरेको छ। बौद्ध धर्मको ऐतिहासिक केन्द्र मानिने एसियामै यसको जनसङ्ख्या घट्ने अनुमानले बौद्ध समुदायको पुस्तान्तरण, धार्मिक शिक्षा, सांस्कृतिक निरन्तरता र नयाँ पुस्ताको बौद्ध धर्मप्रतिको संलग्नताबारे थप बहस आवश्यक बनाएको छ।


