२ कार्तिक, लुम्बिनी: लुम्बिनीलाई विश्वकै महत्वपूर्ण आध्यात्मिक तथा धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको लुम्बिनी विकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बताएकी छन् ।
बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेकी आनीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरमा पूजाआजा तथा दर्शन गरेपछि कोषको कार्यालयमा पुगेर उपाध्यक्षको जिम्मेवारी सम्हालेकी हुन्।nउनले सबै प्राणीको रक्षा, हित र कल्याणलाई केन्द्रमा राखेर काम गर्ने उल्लेख गर्दै लुम्बिनीको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइन्।
उनले लुम्बिनीको विकासका लागि सरकार, स्थानीय समुदाय, धार्मिक सङ्घसंस्था, अन्तर्राष्ट्रिय बौद्ध समुदाय तथा सरोकारवाला सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्। विशेषगरी लुम्बिनी विकास कोषको गुरुयोजनाअन्तर्गत अधुरा रहेका विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउँदै सकेसम्म छिटो सम्पन्न गर्ने उनको भनाइ छ। लुम्बिनीको मौलिक धार्मिक पहिचान संरक्षण गर्दै व्यवस्थित पर्यटन प्रवर्द्धन गर्नु पनि आफ्नो प्राथमिकतामा रहने उनले बताइन्।
गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल पाँच वर्षको हुनेछ। उनको नियुक्तिसँगै कोषको कार्यसमितिले पूर्णता पाएको छ। यसैबीच बुधबार नवनियुक्त सदस्यसचिव सन्तोष पाण्डेयले पनि आफ्नो पदभार ग्रहण गरेका छन्।
यद्यपि, आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर लुम्बिनी क्षेत्रमा सुरुदेखि नै केही पक्षले विरोध जनाउँदै आएका थिए। नियुक्तिको विषयलाई लिएर उठेका असन्तुष्टिबीच उनले जिम्मेवारी सम्हालेसँगै अब कोषको नेतृत्वले विकास निर्माण, गुरुयोजना कार्यान्वयन, सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा कस्तो गति दिन्छ भन्ने चासो बढेको छ। पाँच वर्षे कार्यकालमा लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउनु र लामो समयदेखि चर्चामा रहेका विकासका कामलाई परिणाममुखी बनाउनु उनको नेतृत्वका लागि मुख्य चुनौती हुने देखिन्छ।


