लुम्बिनी । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले बुधबार पदभार ग्रहण गरेकी छन्। नियुक्तिको लामो समयपछि लुम्बिनी पुगेकी उनले मायादेवी मन्दिरमा पूजाआजा गरेपछि कोषको कार्यालय पुगेर पदभार सम्हालेकी हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कडा सुरक्षा व्यवस्थासहित उनलाई लुम्बिनी ल्याइएको थियो। मायादेवी परिसरमा पत्रकारहरूसँग कुरा गर्दै आनीले सबैको सहकार्यमा लुम्बिनीको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाइन्।
उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध हुँदै आएको थियो। नेपाली नागरिक नभएको र विवादित व्यक्ति भएको आरोप लगाउँदै लुम्बिनी बचाउ महाअभियानले उनको नियुक्तिको विरोध गर्दै आएको छ। बुधबार पनि केही स्थानीय समूहले पर्साचोकमा भेला भएर विरोध जनाएका थिए।
यसैबीच, नवनियुक्त कोषाध्यक्ष पूर्वएआईजी रमेश शेखर बज्राचार्य र सदस्य–सचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन्। उनीहरूसहित कोषको नयाँ कार्यसमितिले पूर्णता पाएको छ।


