काठमाडौं, साउन ३१। साक्या बौद्ध परम्पराका सर्वोच्च धर्मगुरुहरूमध्ये एक परमपूज्य साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षेको दीर्घायु, सुस्वास्थ्य तथा धर्मकार्यको निरन्तरताको कामना गर्दै आज काठमाडौंको तिनचुलीस्थित अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (International Buddhist Academy–IBA) मा विशेष तेन्स्युग (दीर्घायु प्रार्थना) समारोह भव्य रूपमा सम्पन्न भएको छ।
साक्या कलेज र अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (IBA) को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा परमपूज्य ४२औँ साक्या ठिजीन रत्न वज्र रिन्पोक्षे, परमपूज्य ४३औँ साक्या ठिजीन ज्ञान वज्र रिन्पोक्षे, परमपूज्य असङ्ग वज्र साक्या रिन्पोक्षे, परमपूज्य ङोर थार्चे खेन रिन्पोक्षे, श्रीधर राणा रिन्पोक्षे लगायत साक्या परम्पराका वरिष्ठ गुरुहरू, भिक्षु–भिक्षुणी सङ्घ तथा नेपाल र विदेशबाट आएका हजारौँ श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तेन्स्युग समारोहमा सहभागीहरूले साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षेको दीर्घायु, धर्मचक्रको निरन्तर प्रवर्तन तथा समस्त प्राणीहरूको कल्याणका लागि सामूहिक प्रार्थना अर्पण गरेका थिए। समारोह साक्या परम्पराको गुरु–शिष्य सम्बन्ध, श्रद्धा र आशीर्वादको जीवित अभिव्यक्तिका रूपमा सम्पन्न भएको आयोजकहरूले बताएका छन्।
तेन्स्युग समारोहपश्चात् आज दिउँसो २ बजे साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षेबाट शरणगमन तथा बोधिसत्त्व सम्वर प्रदान गरिएको थियो। नेपालसहित विश्वका विभिन्न देशका हजारौँ साधकहरूले प्रत्यक्ष उपस्थित भई तथा अनलाइन माध्यमबाट उक्त दुर्लभ आध्यात्मिक अवसरमा सहभागिता जनाएका थिए।
साक्या फ्रेन्ड्स (Sakya Friends) को समन्वयमा कार्यक्रम अंग्रेजी, चिनियाँ, स्पेनी, फ्रेन्च, रुसी, भियतनामी, जर्मन, मङ्गोलियन लगायत १३ भाषामा प्रत्यक्ष अनुवाद तथा प्रसारण गरिएको थियो। नेपाली र भोट भाषामा समेत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको आयोजकले जनाएको छ।
बोधिसत्त्व सम्वर महायान बौद्ध धर्मको मूल आधार मानिन्छ। यस सम्वरमार्फत साधकहरूले सम्पूर्ण प्राणीहरूको हितका लागि बुद्धत्व प्राप्त गर्ने बोधिचित्तको महान् संकल्प ग्रहण गर्दछन्। साक्या परम्परामा प्रचलित यस सम्वरको विधि साक्या परम्पराका पाँच संस्थापक आचार्यमध्ये एक छोग्याल फाग्पाद्वारा रचित परम्परामा आधारित रहेको मानिन्छ।
यस वर्षको कार्यक्रम केवल तेन्स्युग समारोहमा मात्र सीमित नरही साक्या कलेज र IBA द्वारा आयोजित पाँचदिने “त्रिविध महोत्सव” अन्तर्गत सम्पन्न भइरहेको छ। महोत्सवअन्तर्गत (१) अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (IBA) स्थापना भएको २५ वर्ष पूरा भएको रजत जयन्ती, (२) परमपूज्य ४२औँ साक्या ठिजीन रत्न वज्र रिन्पोक्षेद्वारा सन् २०१७ देखि विदेशी विद्यार्थीहरूका लागि सञ्चालन गरिएको सूत्र–तन्त्र संयुक्त सातवर्षीय “द कम्प्लिट पाथ” शिक्षाक्रम सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोजित दीक्षान्त समारोह, तथा (३) महान् आचार्य खेन्क्षेन अपे रिन्पोक्षेको जन्मशतवार्षिकी महोत्सव एकसाथ मनाइँदै छन्।
तिनचुली, बौद्धस्थित अन्तर्राष्ट्रिय बौद्ध अध्ययन प्रतिष्ठान (IBA) सन् २००० मा खेन्क्षेन अपे रिन्पोक्षेद्वारा स्थापना गरिएको अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्र हो। बौद्ध दर्शन, अनुवाद, अनुसन्धान तथा भावी धर्मनेतृत्व विकासका क्षेत्रमा कार्यरत यस संस्थाले विश्वभरका विद्यार्थीहरूलाई पाँच प्रमुख बौद्ध शास्त्रको अध्ययन–अध्यापन गराउँदै आएको छ। IBA ले अनुवाद, ध्यान अभ्यास, भिक्षु नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय धर्मशिक्षा आदानप्रदानमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
परमपूज्य साक्या गोङ्मा ठिक्षेन रिन्पोक्षे साक्या बौद्ध परम्पराका प्रमुख वंशपरम्परा धारक एवं ४१औँ साक्या गद्दीधारक हुनुहुन्छ। उहाँले विगत धेरै दशकदेखि बौद्ध दर्शन, करुणा, बोधिचित्त तथा वज्रयान शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसारमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको छ। उहाँलाई आज पनि साक्या परम्पराको जीवित ज्ञानपरम्पराका प्रमुख प्रतिनिधिका रूपमा सम्मान गरिन्छ।




