विश्व प्रसिद्ध तथा विश्व सम्पदामा सूचिकृत बौद्ध स्तुप नजिकै रहेको रहेको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा १३ औँ ञिङ्मा मोन्लाम (प्राणिधान पूजापाठ) जारी छ । मोन्लाम पुष १७ देखि सुरु भएको हो । नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा आठौँ मोन्लमदेखि शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गर्न थालेको हो ।
विभिन्न गोन्पाहरूका रिन्पोछे, टुल्कु, खेन्पो, लामा, लोपेनहरूका साथै उपासक उपासिकाहरुको सहभागितामा हुने मोन्लम पूजापाठमा विश्वमा कुनै पनि प्रकारको रोग व्याधि, युद्ध, कलह र प्राकृतिक प्रकोप आदि विघ्न बाधा नभई दिगो शान्ति, सुख, समृद्धिको कामना गरिन्छ । बुद्धभूमि नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवम् धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका साथै नेपालमा दीगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङ्मा संघका अध्यक्ष श्रद्धेय सेङ्डाक टुल्कु रिन्पोछेज्यूले बताउनु भयो ।

दैनिक विहान ७ः३० देखि अपरान्ह ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापारमिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रणिधान राजा, आर्य मञ्जुश्री नाम संगति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिन्छ ।
व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाटमाथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रुपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रमणेर, श्रामणेरिका, उपसक, उपसिकाहरूले लयबद्ध रूपमा मोन्लाम मन्त्र पाठ गरिरहेका छन् । पूजा स्थलमा रंगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्माको साथै आठ प्रकारका पूजा र निर्मल जलले सजाइएको छ । आफुले मन्त्र पाठ गर्न नआए पनि रिन्पोछेज्यूहरूको दर्शन र लामाहरूले सामूहिक रुपमा पाठ गरेको देख्न र सुन्न मात्र पाएपनि आफुलाई मनमा शान्ति भएको पूजामा उपस्थित श्रद्धालु भक्तजनहरूको भनाई रहेको छ ।

पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परमपूज्य श्रद्धेय दिल्गो खेन्चे याङसी रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य खेन्पो साङ्गे राङज्युङ रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे आदिको साथै विभिन्न जिल्लाका गोन्पाहरूबाट हजारौँ बौद्ध भिक्षु, श्रामणेर, श्रामणेरिकाहरूको साथै उपासक, उपासिकाहरूको व्यापक उपस्थिति रहेको छ । मोन्लान पुस २२ गते सम्पन्न हुँदैछ ।



