कास्कीको मादी गाउँपालिका–३ याङ्जाकोटमा रहेको प्राचीन ऐतिहासिक झ्याली पोखरी पुनर्निर्माण गरिएको छ । १५ लाख ४८ हजार सात सय रुपैयाँ खर्च गरेर मादी गाउँपालिकाले पोखरी पुनर्निर्माण गरेको हो ।
पोखरीको बीच भागमा शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति स्थापना गरेर चारैतिर तारबार लगाइएको छ । स्थानीयको साथ र सहयोगका कारण पुनर्निर्माणको काम चित्तबुझ्दो भएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले जानकारी दिए ।
उनले आगामी दिनमा पोखरीमा रङरोगन गर्ने, पोखरीको वरिपरि बाटो ढलान गर्ने, फूल रोप्ने, बत्ती जडान गर्नेलगायतका काम पनि गरिने जानकारी दिए । झ्याली पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष सूर्य गुरुङले ऐतिहासिक पोखरी पुनर्निर्माणसँगै गाउँको सुन्दरता बढेको बताए ।

