बसन्त महर्जन
पशुपति क्षेत्रमा शैव मतसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कलावस्तु पाइनु स्वाभाविक हो । किनभने प्राचीनकालदेखि यो शैवमार्गीहरूका लागि ठुलो धार्मिक स्थलको रुपमा रहँदै आएको कुरामा शंका छैन । अलि गहिरिएर हेर्दा यो शैवमार्गीको धार्मिक स्थल मात्रै नभएर एउटा सिंगो सभ्यता र ऐतिहासिक निरन्तरता भएको कुरा छर्लङ्ग हुन्छ । धार्मिक क्षेत्रका रुपमा मात्रै रहेको भए सामाजिक तथा सांस्कृतिक बन्दोवस्त हुँदैनथ्यो । त्यो प्राचीन सामाजिक तथा साँस्कृतिक बन्दोवस्त आजपर्यन्त जीवित पाइनु नेपालको लागि मात्र नभएर विश्व इतिहासकै लागि पनि गौरवको कुरा हो । काठमाडौं उपत्यकाका अन्य वस्तीसमान यहाँ पनि एउटा छुट्टै र पूर्ण सभ्यताको विकास भएको कुरा देख्न पाइन्छ । इस्वी सम्वतसुरु हुनुभन्दा दुई चार सय वर्षअघि नै पशुपतिमा मानव सभ्यताको गतिविधि भइसकेको प्रमाण यहाँ प्राप्त कलावस्तुहरू नै हुन् । ठोस प्रमाणकै अभावमा पनि यहाँको सभ्यतालाई अझ अगाडि राखेर अध्ययन गर्न सकिने अन्य अभौतिक आधारहरू थुप्रै रहेका छन् जसका बारेमा निरन्तर अध्ययन हुनु आवश्यक छ ।
पशुपति क्षेत्रको राजराजेश्वरी घाटको छेवैमा रहेको पाँचौं–छैठौं शताब्दीतिरको बुद्ध मूर्ति र एघारौं शताब्दीतिर तिलोपा र नारोपाले साधना गरेका दुई गुफाका सम्बन्धमा दुई छुट्टाछुट्टै लेख प्रकाशित भएपछि कतिपय बौद्धहरू आश्चर्यचकित भए । दुई लेखको प्रकाशनपछि लेखकलाई धेरैले थप प्रश्न वा जिज्ञासाहरू राखे । यसरी नै आफूसँग भएका जानकारी तथा धारणाहरू पनि व्यक्त गरे । त्यसका सम्बन्धमा दिएको जवाफ पनि उत्तिकै महत्वपूर्ण छन् । पशुपति क्षेत्रको इतिहास र यसको महत्वमाथि मनन गर्दा बौद्ध विषयवस्तुलाई नजरअन्दाज गर्नु भनेको पशुपति क्षेत्रको चरित्रलाई छोप्नुका साथै यो उपत्यकाको सभ्यतामाथि अन्याय गर्नु हो ।
एक थरी बौद्धहरूमा के धारणा रहेको पाइयो भने, पशुपति क्षेत्र पछि मात्रै शैवमार्गीहरूको हातमा परेको हो, त्यसअघि यो बौद्ध क्षेत्र थियो । अझ पशुपतिनाथ मन्दिर रहेको स्थल नै बौद्ध विहार रहेको र पछि मासेर मन्दिर बनाइएको भन्ने दावी पनि गर्ने गरेको पाइन्छ । तर यो दावी, दावी मात्रै हो । यस दावीका सम्बन्धमा अनुमान मात्रै गर्ने आधार पनि छैन । यसरी दावी गर्नेले प्रमाण भनेर देखाउने यत्रतत्र छरिएर रहेका बौद्ध कलावस्तुहरू हुन् । विगतमा यस्ता कलावस्तुहरू कति हराए वा मासिए, बेग्लै प्रसङ्ग हुन् तर बचेखुचेका कलावस्तुले भने सम्बन्धित विषय क्षेत्रका अनुसन्धाताहरूलाई सोच्न वाध्य बनाउँछ नै ।

पशुपति क्षेत्रबाट राजा नरेन्द्रदेव (इ.सं. ६४३–६७९) को एउटा शिलापत्र पाइएको छ । राजा अंशुवर्मा (राज्य काल इ. सं. ६०५–६२१) को अभिलेखमा राजगद्दीको हकदारको रुपमा देखिएका उदयदेव (राज्यकाल इ.सं. ६२१) राजा हुन पाए वा पाएनन् भन्ने कुरा इतिहास अध्येताहरूका लागि एक समय ठुलै प्रश्न थियो । तर चितलाङ भेकमा पाइएको एउटा अभिलेखमा उदयदेवलाई ‘महाराजधिराज’ भनी सम्बोधन गरिएको पाइएपछि त्यो प्रश्नले निकासा पाएको थियो । तर यी राजा तिब्बतमा पलाएन भएको र गद्दीमा अरुहरूलाई नै राखेर गुप्तहरूले हालीमुहाली गरेको कुरा बुझिन्छ । परिवारसहित तिब्बत भासिएका राजा उदयदेवको मृत्यु संभवतः तिब्बतमा नै भयो । छोरी भृकुटीको विवाह तिब्बती सम्राट श्रङ–चङ्–गाम्पोसँग भयो अर्थात् नेपालकी राजकुमारी तिब्बतको महारानी बनिन् । नरेन्द्रदेव भृकुटीकी दाजु हुन् वा भाई, खुल्दैन तर यही वैवाहिक सम्बन्धको आधारमा सैन्य सहायतासहित नेपाल फर्केर पुस्तैनी लिच्छवी राजगद्दी फिर्ता लिन सफल भएको बुझ्न सकिन्छ । लिच्छवी राजा शिवदेव प्रथम (राज्य काल इ.सं. ५९०–६०४) ले सुरुमा भानिज नाता पर्ने सामन्त अंशुवर्मालाई शक्तिमा ल्याई सुरुमा मिलेर द्वैध शासन चलाएको र पछि सम्पूर्ण राज्यशक्ति अंशुवर्मालाई नै सुम्पेर बौद्ध भिक्षु बन्न गएको कुरा पाइन्छ । यी राजाले एउटा बौद्ध विहार पनि बनाएका थिए ।
गोपालराजवंशावलीअनुसार प्रसिद्ध खास्ति महाचैत्य (बौद्ध) को निर्माता यिनै राजा शिवदेव हुन् । यिनले एउटा विहार पनि बनाएका थिए तर उक्त विहारको पहिचान अहिले हुनसकेको छैन । बौद्ध धर्मका परम उपासक र पछि भिक्षु नै बनेका यी राजाका नाति नरेन्द्रदेव र नातिनी भृकृटी पनि बौद्ध उपासक नै रहेको कुरामा शंका छैन । तिब्बती राजदरवारमा बौद्ध धर्मलाई प्रवेश गराउने कार्य भृकुटी र चिनियाँ राजकुमारीबाट भएको कुरामा दुई मत छैन । राजा नरेन्द्रदेवका सम्बन्धमा चिनियाँ दूत वाङ्–ह्वेन–चेको वर्णन तथा नेपालमा नै पाइएका उनका अभिलेखहरूबाट उनी बौद्ध धर्मका उपासक थिए भन्ने कुरा प्रमाणित हुन्छ ।
पशुपतिको बज्रघरमा पाइएको इ.सं. ६७९ को अभिलेखमा यी राजाले एउटा ठूलो हिति (ढुंगेधारा) बनाउन लगाएको र सो धाराको रेखदेख गर्ने जिम्मा सोही क्षेत्रमा रहेको श्रीशिवदेव विहारको भिक्षुसंघलाई दिएको वर्णन परेको छ । नरेन्द्रदेव निर्मित पशुपतिको हिति र शिवदेवनिर्मित खास्ति महाचैत्य (बौद्ध) बीच एउटा निश्चित दूरी भएका कारण श्रीशिवदेव विहार सो धारासँगै रहेको बेग्लै बिहार हो भनेर बुझ्ने आधार दिन्छ । पशुपतिमा पाशुपत मतकै अन्य संघहरू हुँदाहुँदै श्रीशिवदेव विहारको भिक्षुसंघलाई यो अधिकार दिनुले संभवतः विहारकै प्राङ्गणमा वा नजिकै यो हिति भएको बुझ्न सकिन्छ । यस धाराको नाममा एउटा गाउँको दान गरेको र सो गाउँभित्र हुने अपराधसम्बन्धी आयस्ता यस विहारमा जाने बन्दोवस्त मिलाइएको थियो ।
श्रीशिवदेव विहार पशुपति क्षेत्रको कुन ठाउँमा थियो भन्ने कुरा खुल्दैन । राजा नरेन्द्रदेवले बनाउन लगाएको हिति (ढुंगेधारा) पनि यही हो भनेर ठोकुवा गर्नसकिने अवस्था छैन । पशुपतिनाथ मन्दिर जाँदा बाटैमा पर्ने वरुण धारा नै पोे कि भनी झिनो अनुमान चाहीँ गर्न सकिन्छ । यस क्षेत्रमा अलि ठुलो र फराकिलो ठाउँ रहेको छ । यस क्षेत्रमा उत्खनन गरी अध्ययन गर्ने हो भने केही थाहा पाउन सकिएला । विहार कहिलो मासियो भन्ने पनि खुल्दैन । यहाँ यत्रतत्र छरिएर रहेका बौद्ध कलाकृतिहरू सोही विहारसँग सम्बन्धित हुनसक्ने अनुमान हुन्छ । बीचमा धर्मचक्र र दायाँबायाँ दुई मृग रहेको एउटा शिलाफलक यहाँ पाइएको छ । यस शिलाफलकले स्पष्ट रुपमा बौद्ध विहारको संकेत गर्दछ । यसमा रहेको कलालाई मनन गर्दा पनि यसले प्राचीनता नै झल्काउँछ , संभवतः छैठौं शताब्दीकै हो ।
पशुपति क्षेत्रकै मृगस्थलीमा केही बुद्ध मूर्ति तथा चैत्यहरू देख्न पाइन्छ । यसरी नै विश्वरुपा मन्दिरभन्दा दक्षिण तिर जंगलवीच आठौं नवौं शताब्दीतिरको प्रस्तर चैत्य देख्न पाइन्छ । बालाचतुर्दशीमा शतबीज छर्न जानेहरू यस चैत्यमा पनि परिक्रमा गर्दछन् ।
पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाअनुसार पशुपतिनाथ मन्दिर वरिपरिका घरहरू केही वर्षअघि भत्काइरहेको बेला दक्षिण ढोकाअगाडिका घरहरू मध्ये एउटाको छिँडीमा डेढ फीट अग्लो बसिरहेको बुद्ध मूर्ति देख्न पाइएको थियो भने हाल सो त्यस क्षेत्रमा देख्न पाईएन । यसरी नै जयवागीश्वरी कुटु बहिली आदि स्थानहरूमा बुद्धका मूर्तिहरू प्रसस्त मात्रामा अझै पनि देख्न पाइन्छ । ताज्जुबको कुरा के रह्यो भने, प्राप्त बौद्ध मूर्ति तथा अन्य कलावस्तु लिच्छवीकालका मात्र छन्, मल्लकालका भेटिएन । संभवतः मध्यकालमा बौद्ध गतिविधि यो क्षेत्रमा हुन पाएन ।
पशुपतिनाथ मन्दिरभित्र मुख्य शिवलिङमा पञ्चबुद्धको मुकुट राखी पूजा गर्नु पर्ने प्रावधान छ । विशेष परिस्थितिमा शिबले बुद्धको मुकुट धारण गर्नु परेको मिथक यो पूजासँग सम्बन्धित गरेर व्याख्या गरिएको पाइन्छ तर यस सम्बन्धमा विशेष अध्ययन हुनुपर्ने देखिन्छ । तर वर्षमा एक मुखःअष्टमीका दिन यो पूजा हुँदै आइरहेको पाइन्छ ।
पशुपति क्षेत्रमा शैव र बौद्धबाहेक अन्य सम्प्रदायका कलावस्तुहरू पनि पाइन्छन् । यो शैव क्षेत्र भएपनि वैष्णव मूर्तिहरू देख्न पाइन्छ । तर बौद्धको तुलनामा वैष्णव मूर्तिहरू कम मात्रै पाइन्छन् । यसरी नै जैन मूर्तिहरू पनि पाइएको छ । यस प्रकार शैव क्षेत्र भएपनि अन्य सम्प्रदायको पनि यहाँ गतिविधि हुने गरेको कुरामा देख्न पाइन्छ ।