फर्पिङमा आचार्य पद्मसंभवको साधना

बसन्त महर्जन
काठमाडौंमा मुख्य सहरी क्षेत्रबाट कीर्तिपुरको चोबाहाः (चोभार), टौदह, चाल्नाखेल हुँदै करीव २५ किलोमिटरको यात्रा गरेपछि फर्पिङ नामको एउटा प्राचीन नेवार वस्ती आउँछ । यो ठाउँको स्थानिय प्रचलित नाम ‘फंपि’ हो भने केही सय वर्षअघिसम्म ‘फनपि’ रहेको देखिन्छ । अर्थात्, फर्पिङ आजभोलि मात्रै बसेको नाम हो । हाल यो दक्षिणकाली नगरपालिकाअन्तर्गत रहेको यो क्षेत्र नेपालको मध्यकालीन इतिहासमा शक्तिशाली सामन्तहरुमार्फत शासित थियो । तत्कालीन सामन्तहरु एवं घटनाप्रवृत्तिको अध्ययन गर्दा केन्द्रिय शासनलाई नै पनि हाँक दिएर केन्द्रिय राज्यलाई अप्ठ्यारोमा पार्दथ्यो । इतिहासकै कुरा गर्ने हो भने पनि यो क्षेत्रमा प्राप्त लिच्छविकालीन शिलालेख तथा अन्य कलावस्तुका अवशेषहरु आजभोलि पनि यत्रतत्र देख्न पाइन्छन् । फर्पिङको नेवार जनजीवनलाई नियाल्दा लिच्छविकालभन्दा पनि अत्यन्त प्राचीन संस्कृति तथा परम्पराहरु पाइनुले यस क्षेत्रको महत्व ठुलै मान्नु पर्दछ । इतिहासको त्यो उषाकालदेखि नै यहाँ बौद्ध गतिविधि पनि प्रसस्त मात्रामा हुने गरेको पाइन्छ । आजभोलि निर्माण गरिएका बौद्ध गुम्बाहरुले इतिहासको त्यही बौद्ध परम्परालाई पछ्याएको बुझ्न सकिन्छ । यो ठाउँको महत्व बढाउनमा आठौं शताब्दीका आचार्य पद्मसंभवको पनि ठुलो महत्व रहेको मान्नु पर्दछ ।

आचार्य पद्मसंभव नेपालमा दुई पल्ट आएको पाइन्छ । आफूले प्राप्त गरेका केही सिद्धिको पूर्णताका लागि थप सिद्धिको आवश्यकता थियो । उनको पहिलो नेपाल भ्रमण यही सिद्धि प्राप्तीसँग सम्बन्धित थियो । पहिलो काठमाडौं बसाइका क्रममा नै उनले यहाँको जनजीवनलाई प्रभावित पारेर शिष्य मण्डलीको पनि निर्माण पनि गरिसकेका थिए । उनको जीवनीसम्बन्धी स्रोत ग्रन्थ पेमा–काथाङअनुसार यो फर्पिङको ‘ह्याङलेश्यो ढाफुग्’ गुफा क्षेत्र मङ्गल सिद्धि र स्वस्तिक सूचक भएको, सिंहको ढाडजस्तो भएको भीर, शिशिर ऋतुमा पनि फूलहरु न ओइलाउँछ, न त मुर्झाउँछ नै । यहाँको आकाशमा अष्टचक्र, भूमिमा अष्ट पद्म र चारै दिशातर्फ अष्ट मण्डल अंकित भएको छ । गुफा पछाडिको चट्टानमा सिंहासनमा छर्ने जडीबुटीको भण्डार रहेको र पवित्र आर्यभूमि हो । यसअनुसार साधनाका लागि यो क्षेत्र उपयुक्त थियो ।
साधनाका लागि डाकिनीका रुपमा शाक्यदेवी (शाक्यदेमा) प्राप्त भयो । कसैकसैका अनुसार उनी जन्मेको केही समयपछि नै आमाको मृत्यु भएका कारण असहाय भई मशान बस्ने वा मशानसँग सम्बन्धितले हुर्काएकी थिइन् । यसको विपरित कसैका अनुसार साँखुका राजा पुण्यधरकी छोरी अर्थात् राजकुमारी थिइन् । ध्यानमा राख्नु पर्ने कुरा के हो भने, साँखु त्यति बेला स्वतन्त्र राज्य थिएन । तसर्थ पुण्यधर कुनै स्वतन्त्र राजा नभएर सामन्त मात्रै भएको बुझ्न सकिन्छ । कतिपय धार्मिक ग्रन्थहरुले सामन्तलाई पनि राजाका रुपमा चिनाउने गरेका कारण इतिहास अध्ययनमा अलमल्याउने पनि गरेको पाइन्छ । शाक्यदेवीको पृष्ठभूमि जुनसुकै भएपनि उनी डाकिनी बन्नका लागि योग्य थिइन् भन्ने बुझिन्छ ।

साधना गर्ने क्रममा केही अनिष्ट तत्वहरुबाट व्यवधान खडा भयो । यसअनुसार लामो समयसम्म अनावृष्टि भयो । बोटबिरुवा तथा बालीनाली सुकेर उजाड भयो । अनिकाल भएर हाहाकार मच्चियो । महामारी पनि फैलियो । यो स्थितिलाई साम्य पार्न आचार्य पद्मसंभवले गुरुदक्षिणाका रुपमा असर्फीका साथ दुई शिष्य जिलाजिसा र कुन्लाकुन्सालाई भारतको बोधगयामा रहेका महापण्डित प्रभाहस्ती कहाँ पठाए । गुरुको आज्ञानुसार सुनको असर्फी चढाई महापण्डितको दर्शन गरे । महापण्डितले बाधा अड्चन हटाउनका लागि महातन्त्र वज्रकिलको ग्रन्थ पठाए । सोही ग्रन्थअनुसार आचार्य पद्मसंभवले ‘वज्रकिल मण्डल’ को स्थापना गरी साधना गरे । यसबाट देव, असुर, यक्ष र नागजस्ता अनिष्ट तत्वहरुको शमन गर्नुका साथै बाचा बन्धनमा लिएर बुद्ध शासनको संरक्षण कार्यमा नियुक्त गरे । यसपछि वृष्टि भयो, महामारीको पनि अन्त्य भई पूर्ववत् मंगलमय वातावरण कायम भयो ।

सबै व्यवधानको अन्त्यपछि गुरु पद्मसंभवले डाकिनी शाक्यदेवीको साथमा निश्चिन्त भई महामुद्राको साधना गरे । यस साधनाबाट देहलाई ईन्द्रेणीजस्तै बनाए र दाहिने भुजाले त्रिपिटकग्रन्थ र देब्रे भुजाले किलायको ग्रन्थ धारण गर्नुका साथै गम्भीर धर्महरुको भावना गरी विद्याधर महामुद्रा (क्ष्याग्या छेन्पो) सिद्धि प्राप्त गरे । यही सिद्धको प्राप्तीपछि गुरु बज्रमुण्ड धारी (दोर्जे थोड्ठेङ चाल) नामले प्रख्यात भएको कुरा बर्छेद् लामसेल (मार्गबाधा निवारणी) मा उल्लेख भएको छ । भोट मञ्जुश्री ज्योतिषअनुसार बँदेल वर्ष, आठौँ महिनाको उत्तरायण शुक्ल पक्षीय दशमी तिथि (असोज महिना) मा यो सिद्धि प्राप्त भएको हो ।

ह्याङलेश्यो ढाफुग (गुफा) क्षेत्र बौद्ध धार्मिक स्थलमात्रै नभएर हिन्दू धार्मिक क्षेत्रका रुपमा पनि विकास भएको पाइन्छ । फर्पिङको यो ह्याङलेश्यो ढाफुग (गुफा) भन्दा मुनि हिन्दू धर्मावलम्बीहरुको शेषनारायण मन्दिर क्षेत्र रहेको छ । काठमाडौंमा प्रसिद्ध चार नारायणस्थलहरुमा शेषनारायण पनि एउटा हो । अन्य ती इचंगुनारायण, विशंखुनारायण र चाँगुनारायण हुन् ।
ह्याङलेश्यो ढाफुग (गुफा) भन्दा अलि माथि जंगलै जंगल हिड्दा दश मिनेटको बाटोमा आचार्य पद्मसंभव नै ध्यान बसेको अर्को एउटा सानो गुफा देख्न पाइन्छ । यो असुर गुफा (असुर ढाफुग) का नामले प्रसिद्ध छ । आचार्य पद्मसंभवले यहाँ ध्यान साधना स्थल बनाउनुअघि असुरहरु बस्ने गर्दथ्यो र यही भएर यसको नाम असुर गुफा रहेको हो । त्यो बेला यस क्षेत्रमा प्रत्येक दिनजसो दुई चार जना मानिस हराउँथ्यो रे । त ी मानिसहरु असुरबाट बेपत्ता पारिने र मारेर खाने गरेको थाहा पाएर आचार्य पद्मसंभव उनीहरु बस्ने ठाउँमा नै जाने र आफ्नो अर्को साधनास्थल बनाउने निधो गरेका थिए । यहाँ असुरहरुसँग उनको स्वभावतः द्वन्द्व भयो । महातान्त्रिक वज्रकिलको ऋद्धिशक्तिद्वारा ती असुरहरु वशवर्ती भए । यसपछि उनीहरुलाई प्राणी हिंसाको संस्कार परित्याग गर्ने वाचा गराई शिष्य बनाए । साथै वज्रकिल तन्त्रको संरक्षक धर्मपालको रुपमा मनोनित गरियो ।

ह्याङलेश्यो ढाफुग (गुफा) मा महामुद्राको सिद्धि प्राप्त गरेपछि आचार्यले असुर गुफामा बज्रहेरुक (याङ–दाग) र बज्रकिल (दोर्जे फुर्बा) को अतियोग साधना गरेका थिए । र, यहाँको साधना पनि सफल भयो ।

असुर गुफाको ढोकाको दाँया पट्टिको भीरमा एउटा दायाँ हातको एउटा हस्तछाप देख्न पाइन्छ । यस गुफाभित्र बसेर सिद्धि प्राप्त गरेपछि पद्मसंभवले निशानाका लागि सो हस्त छाप छोडेको भनिन्छ । यसको सामुन्ने गुरु गोरखनाथको पाउको शिला प्रतीक रहेको छ । गुरु गोरखनाथ ८४ सिद्धमध्ये एक हुन् र बज्रयानी बौद्ध परम्पराअनुसार नै मानिन्छ । यसका साथै यहाँ प्राचीन अभिलेख पनि रहेको छ । हाल यस गुफासँगै उर्गेन टुल्क रिन्पोचेको ध्यान गर्ने एउटा गुम्बा बनेको छ । यस गुफाको संरक्षण र सञ्चालनसम्बन्धी कार्य सम्पूर्ण कार्य यसै गुम्बाले गर्दै आएको छ । त्यसको तल पूर्वतिर पुरानो वज्रयोगीनी (दोर्जे नाल्ज्योरमा) को मन्दिर रहेको छ ।

फर्पिङ क्षेत्र नेपालको राजनीतिक, सामाजिक, साँस्कृतिक महत्वको एउटा क्षेत्र हो नै । सोही इतिहाससँगै यो बौद्ध केन्द्रको रुपमा पनि विकास हुँदै आएको कुरामा नजरअन्दाज गर्न सकिन्न । कुनै बेला बौद्ध शैक्षिक केन्द्रका रुपमा पनि रहेको यस क्षेत्रमा तिब्बतका भिक्षुहरु बौद्ध शिक्षाका लागि आउथे भन्नेअनुमान गर्न सकिन्छ किनभने नेपालबाट तिब्बतमा गई बौद्ध धर्मदर्शनको शिक्षा फैलाउने कतिपय गुरुहरु फर्पिङसँग सम्बन्धित भएको पाइन्छ । तिब्बतमा ‘फोर फाम्पिन्पा ब्रदर्श’ का नामबाट प्रसिद्धि कमाएका चार दाजुभाइ यहीँका धर्मगुरुहरु थिए । यस प्रकार फर्पिङलाई ‘आचार्य पद्मसंभव ध्यान गरेको ठाउँ’ मात्र भनेर पुग्दैन, कुन ध्यान गरेको र कुन सिद्धि प्राप्त गरेको भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ । यसरी नै प्राप्त सिद्धिले के अर्थ राख्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बौद्ध धर्मको लामो इतिहास र परम्परा रहेको यस स्थलमा आचार्य पद्मसंभवले तीन वटा महत्वपूर्ण साधना गरी सिद्धि प्राप्त गरेका थिए । आजभोलि बौद्धहरु यस स्थलमा गन्तव्य बनाएर पुग्नुको तात्पर्य गुरुहरुसँग सम्बन्धित भएर श्रद्धा जागेर मात्रै होइन, शिक्षा प्राप्त गर्न र स्वयं साधना पनि गर्नलाई हो ।

Share

Related posts