नाग र गौतम बुद्ध सम्बन्धी यो धार्मिक प्रसंग

बोधगयामा बुद्धले बैशाख पूर्णिमा तिथिमा बुद्धत्व ज्ञान प्राप्त गरेपछि त्यहीँ सात स्थानमा १ हप्ताको दरले सात हप्ता बिताउनु भएको थियो । छैटौं हप्ता मुचलिन्द बृक्षमुनी बस्नुहुँदा ठूलो हावाहुरी असिना पानी आएको थियो । त्यस बेला बुद्धको ध्यान भङ्ग नहोस् भनी मुचलिन्द नामक नागराजाले आफ्नो फणा फिजाई छाता ओढाएर बुद्धको रक्षा गरेको थियो । एक समय सर्पको टोकाइबाट एक भिक्षुको मरण भएपछि बुद्धले पनि सर्प जातीको भय र टोकाईबाट रक्षा हुन चार नागराजाहरुलाई मैत्री पुर्याउनु खन्ध सुत्र पाठ गरिरहनु भनी भिक्षुहरुलाई उपदेश दिनु भएको छ ।

खन्ध सूत्रको केही अंश हेरौंः ( बिरुपक्खेहि मे मेत्तं, मेत्तं एरापथेहि मे ।
छब्यपुत्तेही मे मेत्तं, मेत्तं कण्हागोतम केहि च ।
अर्थः (बिरुपक्ष नागराजमा मेरो मैत्री (माया,स्नेह) छ । एरापथ नागराजमा पनि मेरो मैत्री छ । छब्यपुत्र नागराजमा पनि मेरो मैत्री छ । कृष्ण गौतम नागराजामा पनि मेरो मैत्री चित्त छ भनी यी सर्पजातिमा मैत्री भावना गरिरहनु पर्छ । मैत्रीको कारणले सर्पले टोक्दैन, भय हुदैन भनी भन्नू भयो ।

तर नागको पुजा गर्नु, आजकै दिन पुजा गर्नु, भनेर त भन्नू भएको छैन । जे होस् मुचलिन्द नागले बुद्धलाई बचाएको गुणको स्मरण गर्दै बुद्ध र मुचलिन्द नागको तस्बिर टास्नु र सर्प जातिको भय त्रास हटोस् भनी मैत्री पुर्याउनु नराम्रो चाहिँ हैन । बर्षमा एकदिन आजैकै दिन नाग पन्चमी भनी नागको स्मरण गर्छौं मैत्री पुर्याउछौं भनेपनि नागहरुको भय अबस्य हटेर जानेछ । नागहरुप्रति पुर्याएको मैत्रीले सबैको भय त्रास हटेर जाओस् । सबैको मनमा लोभ, सर्पको जस्तो द्वेष (क्रोध, इख, बिष), मोह हटेर मैत्री चित्त उत्पन्न होस् । भवतु सब्ब मंगलम ।

Share

Related posts